२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना उपचारमा खटिएका चिकित्सकको तीतो अनुभव, ‘बजारमा डाक्टर हिँड्दा सबै लुक्छन्’

कोरोना उपचारमा खटिएका चिकित्सकको तीतो अनुभव, ‘बजारमा डाक्टर हिँड्दा सबै लुक्छन्’


लहान—प्रदेश नं. २ कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिममा छ । प्रदेशमै पहिलोपटक ३० चैतमा वीरगन्जमा ३ जना भारतीय नागरिकमा कोभिड—१९ संक्रमण पुष्टि भएको थियो । त्यसयता प्रदेशका ६ सय २४ जनामा कोभिड—१९ पुष्टि भएको छ । यो तथ्यांक अझ बढ्ने क्रममा छ ।

सिरहामा भने ९ जेठमा  सखुवानन्कारटी गाउँपालिका—१ लतियाहीमा पहिलो संक्रमण पुष्टि भएपछि जिल्लाभरि नै सर्तकता अपनाइयो । सोमबारसम्म सिरहाका २५ जनामा कोभिड—१९ संक्रमण पुष्टि भइसकेको छ । संक्रमण पुष्टि भएका सबैको उपचार धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई स्मृति आइसोलेसन सेन्टर छपरारी अस्पतालमा भइरहेको छ ।

यो अस्पतालको कमाण्ड डा. सुवाचन्द्र मण्डलले गरिरहेका छन् । डा. मण्डलका अनुसार ३० वेडको आइसोलेसन वार्डमा अहिले २५ जना संक्रमितको उपचार भइरहेको छ । सिरहा जिल्लाभरिका संक्रमितहरुको अहिले उपचार गर्ने अस्पताल पनि यही हो । अबका दिनमा संक्रमितको संख्यामा वृद्धि भयो भने त्यसका लागि सिरहा सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा ५० वेडको आइसोलेसन तयार गरिएको छ ।

अहिले डा. मण्डल कोभिड—१९ संक्रमितको व्यवस्थापनदेखि उनीहरुको उपचारसम्म फ्रन्टलाइनमा रहेर खटिरहेका छन् । ‘अहिले यो महामारीको समयमा कसलाई मर्ने रहर हुन्छ र ? ज्यानको माया कसलाई हुँदैन ? तर पनि आफनो पेशागत कर्तव्यको पालना गर्दै राज्यले लगाएको काममा निरन्तर खटिरहेको छु,’ उनी भन्छन्, ‘म यस महेन्द्र गेनाई स्मृति अस्पतालको प्रमुखको हैसियतले कोभिड—१९ संक्रमित बिरामीको सेवामा समर्पित छु ।’ डा. मण्डल प्रदेशका अन्य जिल्लामा कोरोना संक्रमण देखिदा आफूलाई पनि डर लागेको बताउँछन् । तर, अहिले उनमा त्यो भय हटिसकेको छ ।

सुरुवातमा सिरहामा संक्रमण देखिन थालेपछि अस्पतालमा संक्रमितलाई राख्दा केही समय वरपर त्रासको वातावरण सिर्जना भयो । मानिसहरुको क्रमसः डाक्टर, नर्सलगायतका कोभिड—१९ संक्रमितहरुको उपचारमा खटिनेहरुसँगको व्यवहार र बोली बदलिने थाल्यो । ‘यहाँ अहिले डाक्टरलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ,’ उनी भन्छन्, ‘अहिले अस्पतालको वरीपरी मानिसहरु आउनै डराउँछन् ।’

कोभिड—१९ संक्रमितको उपचारमा संलग्न भएदेखि डाक्टरप्रतिको हेराइ समुदायका मानिसहरुमा बदलिएको उनको अनुभव छ । ‘बजारमा तरकारी वा अन्य सामग्री किन्न जाँदा पनि सहजै सामग्री दिदैन्,’ उनी तीतो अनुभव बाँड्छन्, ‘सामान हुँदा पनि छैन भन्छन् । बजारमा डाक्टर हिँड्दा सबै लुक्छन् ।’ आम मानिसहरुको यस्तो व्यवहारका कारण आफूहरुको मन दुख्ने गरेको डा. मण्डलले बताए । ‘यही समाजका लागि हामी नियमित काम गर्दै आएपनि यस्तो व्यवहार गर्दा मन दुख्दोरहेछ,’ उनले थपे, ‘त्यसैले समाजको यो व्यवहार परिवर्तन गर्नुपर्छ । डाक्टरको मनोबल उच्च बनाउन उनीहरुलाई प्रेरणा दिनुपर्छ ।’

कोरोना संक्रमितले पनि डाक्टरमाथि दुर्व्यवहार र अमानवीय हर्कत गरिरहेको डा.मण्डलको गुनासो छ । ‘आइसोलेसन वार्डमा रहेका संक्रमितहरु डाक्टरलाई गाली गर्ने, अभद्र व्यवहार गर्ने र अनुशासनहीन छन्,’ उनी भन्छन्, ‘कोरोना संक्रमितले हामीलाई यहाँ किन राखेको ? हामीलाई केही भएको छैनलगायतको प्रश्न गर्छन् ।’ उनीहरु चिकित्सक तथा उपचारमा खटिरहेका स्वास्थ्यकर्मीलाई मानसिक रुपमा तनाव समेत दिने गरेको उनले बताए । तर, यी सबै चुनौतीकाबीच आफूहरु कोभिड—१९ संक्रमितलाई निको पार्न डटिरहेको उनले सुनाए ।

डा. मण्डल महामारीमा आफू पनि सुरक्षित भएर काम गर्ने र अन्यलाई पनि सुरक्षित राख्नुपर्नेमा जोड दिन्छन् । यसमा सावधानी नअपनाइए कोभिड—१९ संक्रमण उच्च जोखिम बढ्ने उनले देखेका छन् । त्यसका लागि संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले पनि गाइडलाइनअनुसार पीपीईको प्रयोगमा ध्यान दिनुपर्ने उनले बताए ।

‘अहिले समय एकदमै चुनौतीपूर्ण छ । यो व्यवस्थापनमा पनि उतिकै चुनौती छ,’ उनी भन्छन्, ‘बिरामीलाई सेवा प्रवाह गर्नैपर्छ,’ उनी भन्छन् । थुप्रै चुनौतीका बाबजुद आफू हरु कोभिड—१९ महामारीमाथि विजयका लागि हरपल खटिरहेको उनले बताए । ‘हामी उच्च मनोबलका साथ काम गरिरहेका छौं,’ उनी सुनाउँछन्, ‘अलिकति पनि विचलित छैनौं ।’ यो महामारीलाई जित्नका लागि आमनागरिकलाई सामाजिक दूरी कायम गर्न र लकडाउनको पालना गर्न पनि उनले आग्रह गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ