२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालले एक वर्षमा दियो ५ लाख ७५ हजार बिरामीलाई सेवा, के गर्दैछ नयाँ काम ?

त्रिवि शिक्षण अस्पतालले एक वर्षमा दियो ५ लाख ७५ हजार बिरामीलाई सेवा, के गर्दैछ नयाँ काम ?


काठमाडौं-त्रिवि शिक्षण अस्पताल महाराजगन्जले गत वर्षमात्रै ५ लाख ७५ हजार ८ सय ८० जना विरामीलाई सेवा दिएको छ । आइतबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) चिकित्साशास्त्र अध्ययन संस्थानको ४७ औं तथा त्रिवि शिक्षण अस्पतालको ३७ औं वार्षिकोत्सव समारोहमा उक्त जानकारी दिइएको हो ।

गत आर्थिक वर्षमा अस्पतालमा उपचार गराउन आउने विरामीको संख्या वृद्धि भएको हो । आर्थिक वर्ष २०७५/०७६ मा ओपीडीतर्फ ५ लाख २५ हजार ५ सय ११ जनाले उपचार गराएका छन् । ओपीडीतर्फ ५ लाख ८ हजार ३ सय ३१ जनाले सेवा लिएको अस्पतालको वार्षिक प्रगति प्रस्तुत गर्दै कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले उक्त जानकारी दिए ।

इमर्जेन्सीतर्फ ५० हजार ३ सय ६९ जना विरामीले सेवा लिएका छन्, जुन संख्या अघिल्लो वर्ष ४८ हजार ८ सय ५७ रहेको थियो । त्यसैगरी, २५ हजार ८ सय ४५ जना विरामीले अस्पतालमा भर्ना भै उपचार गराएका प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तो छ अस्पतालको एक वर्षको प्रगति
अस्पतालले यसै वर्षबाट पहिलो पटक कलेजो प्रत्यारोपण सेवा समेत सुरु गरेको छ । जेठ महिनादेखि हालसम्म अस्पतालले २ व्यक्तिमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिसकेको छ ।

अस्पतालले खरिद प्रक्रियालाई व्यवस्थित गर्नेतर्फ सकारात्मक कदम चालेको छ । सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीअनुसार पहिलो पटक अस्पतालको खरिद प्रक्रिया इलेक्ट्रोनिक टेन्डर प्रक्रियामार्फत सुरु भएको छ ।

अस्पतालको फार्मेसीबाट आर्थिक वर्ष २०७५/०७६ मा १९ करोड ७६ लाख ११ हजार मूल्य बराबरको औषाधी बिक्रि भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै साढे पाँच करोडले बढी हो । यद्यपि, चालु आर्थिक वर्षमा अस्पताल घाटामा नै रहने अनुमान गरिएको छ । आम्दानी र अनुदान गरी अस्पतालको आय २ अर्ब १८ करोड ५६ लाख २२ हजार ९ सय ९४ रुपैयाँ ९७ पैसा तथा कुल खर्च २ अर्ब १९ करोड २५ लाख १२ हजार ३ सय ५० रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । समग्रमा ६८ लाख ८९ हजार ३ सय ३५ रुपैयाँ ३ पैसा घाटा हुने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यकारी निर्देशक खड्गाले अस्पताल हाल करिब ७ सय बेड क्षमतासहित अस्पताल सञ्चालनमा रहेको जानकारी दिए ।

के-के भए नयाँ काम ?
जापान सरकारको ७० करोड भन्दा बढीको सहयोगमा विभिन्न उपकरण जडान गरिएको छ । १ थान एमआरआई, ४ थान एनेस्थेसिया, ७ थान युएसजी लगायतका अन्य अत्याधुनिक स्वास्थ्य उपचार उपकरणहरु अस्पतालले सञ्चालनमा ल्याएको छ ।

अक्सिजन आपूर्तिमा समेत अस्पताल आत्मनिर्भर भएको अस्पतालको दाबी छ । अक्सिजन आपूर्तिका लागि अमेरिका नेपाल चिकित्सा फाउण्डेसनको सहयोगमा एउटासहित ३ वटा अक्सिजन प्लान्ट जडान गरिएको छ । जसमध्ये २ वटा प्लान्ट सञ्चालनमा आइसकेका छन् । साथै, अस्पतालले एउटा अक्सिजन रिफिलिङ प्लान्ट समेत सञ्चालनमा ल्याएको छ ।

अर्थोपेडिक वार्डको स्तरोन्नती गरी अत्याधुनिक शल्यक्रिया कक्ष (मोडुुलर ओटी), दुई वटा सेमी मोडुलर थिएटर र ६४ शैय्याको हाडजोर्नी वार्ड सञ्चालनमा आएका छन् भने युरोलोजी विभागअन्तर्गत ४ करोड बराबरको उपकरणहरु आपूर्ति भएको छ ।

बाल रोग विभाग अन्तर्गतको पेडियाट्रिक वार्डको स्तरोन्नती गरी दुई तल्ला रिनोभेसन गरी बालबालिकाको स्वास्थ्य उपचारको लागि एनआईसीयु, पीआईसीयु युनिटसहितको वार्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पतालको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
करिब १००० लाइन क्षमताको आन्तरिक टेलिफोन प्रणाली सञ्चालनमा आएको, बायोकेमेष्ट्री तथा होमाटोलोजी ल्याबका लागि मेसिन जडानको कार्य अन्तिम चरणमा पुगेको र बोलपत्रमार्फत दोस्रो चरणको सौर्य उर्जा विस्तार कार्य अस्पतालले अघि बढाएको छ ।

के छन् आगामी योजनाहरु ?
अस्पतालले फार्मेसी सेवा विस्तार गरी अस्पतालको मुल गेटमा भवन निर्माण गरी फार्मेसीलाई पूर्ण क्षमतामा विस्तार गर्ने योजनासहित काम गरिरहेको प्रतिवेदनमा जनाइएको छ ।

यसै वर्षदेखि सञ्चालनमा आएको कलेजो प्रत्यारोपण सेवामार्फत प्रत्येक महिना एक जना विरामीको कलेजो पत्यारोपण गर्ने अस्पतालले लक्ष्य लिएको छ ।

साथै आगामी ६ महिनामा अस्पतालबाट निस्कने फोहोरको दीर्घकालिन व्यवस्थापनका लागी व्यवस्थीत फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने र २०७२ सालको भुकम्पले क्षतिग्रस्त प्रशासनिक भवनको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षमा नै पुरा गर्ने लक्ष्य अस्पतालले लिएको छ ।

वार्षिकोत्सव कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदिश प्रसाद अग्रवाल, त्रिविका उपकूलपति प्रा.डा. तीर्थराज खनियाँ, शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठी, रजिष्ट्रार डिल्लीराम उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ