२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशविवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द

विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द


चितवन–कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भन्दै निक्कै तामझामका साथ ७२ घण्टामै निर्माण गरिएको चितवनस्थित भरतपुरमा रहेको कोरोना विशेष (अस्थायी) अस्पताल मंगलबारदेखि बन्द भएको छ । भरतपुर अस्पतालले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना अस्पताल बन्द गरिएको जानकारी दिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीद्वारा जारी विज्ञप्तीमा सुरक्षाको दृष्टिकोणले उक्त अस्पताललाई पूर्ण रुपमा निर्मुलीकरण गरिने अस्पतालले जनाएको छ । हालसम्म कोरोना विशेष (अस्थायी) अस्पतालबाट शनिबार र आइतबार गरी १८ जना पोजेटिभ बिरामीलाई भरतपुर अस्पतालमा स्थानान्तरण गरी उक्त कोरोना विशेष (अस्थायी) अस्पताल बन्द गरिने जनाएको छ । तर, विज्ञप्तीमा सधैंका लागि बन्द गर्नुपर्ने कारण भने खुलाइएको छैन ।

भरतपुर महानगरपालिकाको पहलमा निर्माण थालिएको कोरोना विशेष अस्थायी अस्पताल ब्यवस्थापन पक्ष कमजोर हुनुका साथै विभिन्न विवादमा तानिदैं आएको थियो ।

सामाग्री चोरी प्रकरण

झन्डै एक महिना अगाडि कोरोना विशेष अस्थायी अस्पतालमा रहेको लाखौं मूल्य बराबरको स्वास्थ्य उपकरणसंँगै अन्य सामग्रीहरु अस्पतालकै कर्मचारीहरुले चोरी गरेर लगेको सीसीटिभी फुटेज बाहिरिएको थियो ।

कोरोना संक्रमितहरुको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको कोरोना अस्थायी अस्पतालका सरसामान राती कर्मचारीहरूले पोको पारेर लगेको भिडियो सार्वजनिक भएपछि यसले देशभर नै तरंग ल्याएको थियो । सोही घटनालाई लिएर व्यापक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाले समेत अस्पताल परिसरमै छापा मारेर त्यहाँका महत्वपूर्ण कागजातपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

चोरीमा कर्मचारीकै संलग्नता !

कोरोना विशेष अस्थायी अस्पतालमा भएको चोरी प्रकरणमा अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियोमा प्रष्ट देखिएको थियो ।

चोरीमा संलग्नता रहेका भनिएका खनाल नेपाल निजामती कर्मचारी संगठन चितवनका जिल्ला अध्यक्ष हुन् भने बराल अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष हुन् । उनीहरूले स्ट्यान्ड फ्यान, सर्जिकल मास्क, कम्प्युटरको स्क्रिन, स्यानीटाइजर, चप्पल, ग्लुस्टिक, साबुन, लामखुट्टे भगाउने धुप, बेगनलगायतका सामान तीन पोका बनाएर निकालेको देखिन्छ । यति भिडियो सार्वजनिक हुँदाहुँदै पनि त्यसलाई ढाकछोप गर्न महानगरपालिकाकी मेयर रेणु दाहाल स्वयं लागि परेको भन्दै भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरी विरोध गर्न सडकमै आएकी थिइन् ।

उनको नेतृत्वमा भरतपुरमा विरोध मात्रै भएनन् कि जिल्ला प्रहरी कार्यालय चितवनमा आरोपित विरुद्ध किटानी जाहेरी समेत दिइएको छ । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले आवश्यक छानविन हुनुपर्ने भन्दै चितवन प्रहरीमा जाहेरी दिएसँगै उनीहरुमाथि अहिले चितवन प्रहरीले छानविन गरिरहेको छ ।

तीन जना चिकित्सक जागिर छाडे

कोरोना अस्पतालमा कार्यरत तीनजना चिकित्सक काम गर्ने वातावरण नभएको भन्दै एक महिनापछि जागिर छाडेका थिए । अस्पताल प्रशासनमा पेश गरेको १० बुँदे माग पूरा नभएपछि उनीहरूले वैशाख ११ मा राजीनामा दिएका हुन् । तीमध्येका एक चिकित्सकले खानै नपाएर काम गर्न आएको जस्तो व्यवहार भोगेको बताए ।

यता, भरतपुर अस्पतालका मेसु डा. तिवारीले अस्पतालले नै कोरोना अस्पतालको जिम्मा लिइसकेपछि सुविधा दिएर डाक्टर राख्न आवश्यक नभएको बताए । बाँकी रहेका स्वास्थ्यकर्मी र सफाइ कामदारको असार मसान्तसम्मको तलब महानगरपालिकाले दिने उनले बताए ।

ट्वाइलेट तथा वाथरुममा २५ लाख खर्च तर आइसोलेसन कक्षमै शौचालयको पानी

चितवन उद्योग संघले भरतपुरमा बनाएको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रमा कोरोना अस्थायी अस्पताल बनाइएको छ । अस्पताल तयार पार्न ट्वाइलेट, वाथरुम निर्माणमा २५ लाख ४४ हजार ५ यस ४८ रुपैयाँ खर्च भएको विवरण पेस भएको छ । भरतपुर अस्पतालले व्यवस्थापन लिनुअघि सो अस्थायी अस्पतालका लागि एक करोड २६ लाख ४८ हजार रुपैयाँ खर्च भएको विवरण उल्लेख गरेको छ ।

केहीदिन अघि मात्रै कोरोना विशेष (अस्थायी) अस्पतालमा बस्नका लागि राम्रो व्यवस्थापन नभएको बिरामीहरुले गुनासो गरेका थिए । कोरोना विशेष अस्थायी अस्पतालमा रहेका कोरोना संक्रमितहरुले आइसोलेसन कक्षमै शौचालयको पानी बगेको अर्को भिडियो बिरामीहरु स्वयंमले सार्वजनिक गरेपछि अस्पताल पुनः विवादमा तानिएको थियो ।

संक्रमितहरुले आफूहरुको गुनासो कोरोना अस्पतालले नसुनेको, गुणस्तरीय खानाको व्यवस्था नगरेको जस्ता आरोपहरु लगाएका थिए । उनीहरुले अस्पतालको आइसोलेसन कक्षमा बाथरुमको पानी छिर्ने गरेको र पंखासमेत नभएको भन्दै गुनासो गरेका थिए । कोरानाका विरामीलाई राख्ने आइसोलेसन वार्डमा पाँच जनाका लागि एउटा मात्र टेबुल पंखा रहेकाले गर्मीका कारण त्यहाँ बस्न समस्या भएको बिरामीहरुले बताएका थिए ।

पटक—पटक अस्पताल प्रशासनलाई जानकारी गराउँदासमेत सुनुवाई नभएको त्यहाँ उपचारत कोरोना संक्रमित बिरामीको गुनासो छ । अस्पतालमै शौचालयको पानी बगेको खबर सार्वजनिक भएपछि त्यहाँ रहेका सबैलाई भरतपुर अस्पताल सारिएको थियो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले भने मर्मत सम्भारकोलागि बन्द गरीएको बताए । ‘मर्मत सम्भारकोलागि बन्द गरीएको हो ।’ उनले हेल्थ आवाज संग भने ‘सेवा स्थगीत गरीएको हो ।’ डा अधिकारीले कहिले बाट खुल्छ भन्ने कुरा बताएनन् ।

भरतपुर महानगरपालिकाको अग्रसरतामा खोलिएको कोरोना अस्पतालबाट ९ सय ५३ जना शंकास्पद बिरामीको मात्र स्वाब संकलन गरी आरटी पीसीआर विधिबाट कोरोना परीक्षणका लागि विभिन्न प्रयोगशाला पठाइएको थियो । यस्तै, सो अस्पतालमा २८ जना कोरोना भाइरस संक्रमितको व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।

 


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ