२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलरिफ्रयाक्टिभ सर्जरीमा रमाइरहेका डा. शाश्वत

रिफ्रयाक्टिभ सर्जरीमा रमाइरहेका डा. शाश्वत


ललितपुरको कुपण्डोलमा वि.सं. २०४० सालमा जन्मिएका हुन्—रिफ्रयाक्टिभ सर्जन डा. शाश्वत ढुंगेल । बुवा कृष्णप्रसाद ढुंगेल सरकारी जागिरे थिए भने आमा बुलु ढुंगेल शिक्षक थिइन् । डा. ढुंगेलकी श्रीमती डा. सोनाली काफ्ले प्याथालोजिष्टका हुन् ।

मध्यवर्गीय परिवारमा जन्मिएका उनको बाल्यकाल सामान्य रुपमा बितेको थियो । ‘पढेर, खेलेर नै बाल्यकाल बित्यो,’ उनले हालैको एक अपरान्ह हेल्थआवाजसँग भने, ‘अहिलेकोजस्तो मल्टीपल चिजहरु थिएनन् । अहिले त बच्चाहरु थुप्रै कुराहरुमा इन्भल्ब देखिन्छन् ।’ उनी सानो छँदा बढीजसो फुटबल, क्रिकेट खेल्थे । डा. ढुंगेल सम्झन्छन्, ‘त्यो बेला फुटबल, क्रिकेट, टेबलटेनिसजस्ता खेलहरु काठमाडौंमा खुबै खेलिन्थे ।’

डा. ढुंगेलको बाल्यकालको उमेरमा जसरी बदलाव आउँदैं गयो, त्यसरी नै उनका सपनाहरु प्नि परिवर्तन हुँदै गए । सानो छँदा सुरुमा उनी पाइलट बन्न चाहन्थे, पछि कालान्तरमा त्यो परिवर्तन भयो उनलाई डाक्टरतिर रुची लाग्न थाल्यो । क्रिकेट र फुटबलमा क्रेजी उनी एकताका खेलाडी बन्न पनि तम्सिए । म्युजिकमा पनि उनकै उत्तिकै अगुराग थियो ।

घर नजिकैको आदर्श विद्या मन्दिरमा उनको प्रारम्भिक शिक्षा अगाडि बढेको हो । ‘१० वर्ष मेरो स्कुलिङ त्यही भयो,’ डा. ढुंगेलले भने । उनले त्यहीबाट २०५६ सालमा फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेका हुन् । पढाइमा अब्बल डा. ढुंगेलले आइएस्सी सेन्ट जेभियर्स कलेज माइतीघरबाट वि.सं. २०५८ सालमा पूरा गरेका हुन् ।

एक वर्ष एमबीबीएसको तयारी गरेपछि सन् २००३ मा उनले एमबीबीएसमा नाम निकाले । त्यसपछि उनको पढाइ काठमाडौं मेडिकल कलेजमा अगाडि बढ्यो । डा. ढुंगेलले त्यहीबाट सन् २००८ मा एमबीबीएसको पढाइ पूरा गरे । त्यसपछि उनले दुई वर्ष इन्टर्नसीप गरे । त्यसक्रममा उनले नर्भिक इन्टरनेशल हस्पिटलको इमर्जेन्सी, आइसियु र वार्डहरुमा काम गरे । यस्तै, उनले अल्का हस्पिटलको इमर्जेन्सी र वार्डमा पनि काम गरे । ‘साढे २ वर्षजति मेडिकल अफिसरका रुपमा काम गरेपछि त्यसपछि आँखामा आए,’ उनले आफ्नो शैक्षिक यात्राबारे भने ।

एमबीबीएस सकेपछि उनलाई विशेषता हासिल केमा हासिल गर्ने भन्ने कुरा निर्धारण गरेका थिएनन् । ‘यही नै भन्ने थिएन, कसो—कसो प्रतिस्पर्धा गरेर जाँच दिएर पास भएर यो फिल्डमा आइयो भनौं,’ उनले आँखामा विशेषज्ञताको यात्राबारे थपे । उनले आँखामै न्याम्सबाट एमडी गरे भने लण्डनमा रिफ्रयाक्टिभ सर्जरीमा फेलोसिप गर्ने अवसर पाए । एक वर्षको फेलोसिपी सकिएपछि सन् २०१६ देखि उनी तिलगंगाको रिफ्रयाक्टिभ विभागमा रिफ्रयाक्टिभ सर्जनका रुपमा काम गर्न थाले । केही समययता झण्डै १६/१७ जनाको रिफ्रयाक्टिभ विभागको नेतृत्व गर्ने जिम्मेवारी डा. ढुंगेलकै काँधमा आइपुगेको छ । हालैमात्र उनले नै चर्चित क्रिकेटर सन्दीप लामिछानेको आँखामा रिफ्रयाक्टिभ सर्जरी गरेका हुन् ।

डा. ढुंगेल फुर्सदको समयमा फुटबल खेल्छन् । ‘अहिले भने फुर्सदै हुँदैन्, जुनियर डाक्टर हुँदासम्म खुब फुटबल खेल्थे,’ उनी भन्छन्, ‘क्रिकेट खेल्न छाडेको भने धेरै वर्ष भयो ।’ उनलाई स्पोर्ट म्याग्जिनहरु पनि उत्तिकै मन पर्छन् । डा. ढुंगेललाई अहिले लाग्छ, यदि म डाक्टर नभएको भए, कि खेलाडी हुन्थे, कि संगीतमा लाग्थे । ‘यी दुईमध्ये एउटामा लागिन्थ्यो, म म्युजिक पनि अलिअलि फ्लो गर्छु,’ उनले सुनाए । उनलाई नेपाली, अंग्रेजी र हिन्दी सबै किसिमका गीतहरु मन पर्छन् ।

डा. ढुंगेलले धेरैभन्दा धेरै मानिसहरुको आँखाको उपचार गर्ने सपना बोकेका छन् । भन्छन्, ‘अहिले त म आफ्नो करिअरको सुरुवाती चरणमै छु, अझ धेरै वर्ष काम गर्नु छ, धेरैको आँखाको उपचार गर्नु छ, धेरै इम्प्रुभ गर्नुछ, नयाँ—नयाँ टेक्नोलोजी भित्र्याउनु छ ।’

अरुको आँखामा ज्योति फर्काउने कार्यमा सक्रिय डा. ढुंगेललाई के कुराले खुशी दिलाउँछ त ? ‘बिरामीको दृष्टिले खुशी बनाउँछ, आँखाको डाक्टरलाई खुशी बनाउने भनेकै बिरामीको दृष्टिले हो,’ यी सर्जन भन्छन्, ‘बिरामीले राम्रो देखे भनेपछि त्यो जतिको खुशी अरु केही लाग्दैन् ।’


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ