२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जोखिम भत्ता नपाएको भन्दैं महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलित

जोखिम भत्ता नपाएको भन्दैं महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलित

एकसातादेखि स्वास्थ्य संस्था ठप्प, सेवा प्रभावित


जनकपुर—प्रदेश न. २ को महोत्तरीका सम्सी गाउँपालिका कोरोना भाइरसको हटस्पटको सूचीमा छ । सम्सीमा २ सय ७३ जना कोरोना संक्रमित भएका छन् । सम्सी गाउँका सरकारी स्वास्थ्य संस्था भने एक साताभन्दा बढी समयदेखि बन्द छ । स्वास्थ्यकर्मी आन्दोलित हुँदा क्वारेन्टाइन मात्रै होइन, प्रसुती सेवा पनि प्रभावित बनेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्यकर्मी अग्रपंक्तिमा छन् । जोखिम भत्ता नपाएपछि स्वास्थ्यकर्मी सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका छन् । उनीहरुले स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र मात्र बन्द गरेका छैनन्, सम्सी गाउँपालिकको कार्यालयमा समेत तालाबन्दी गरेर सबै काम बन्द गराएका छन् ।

कोरोना भाइरसमा काम गरेको जोखिम भत्ता, नियमित खोप कार्यक्रमको भत्ता, राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल खुवाएको स्वंयसेविकाको भत्ता, सुत्केरी गराएको भत्तालगायत सेवा संचालन गर्न रातदिन खटिएका स्वास्थ्यकर्मीले पाउनुपर्ने करिब ६८ लाख ७२ हजार रकम सम्सी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले दिन नमानेपछि उनीहरु आन्दोलित भएका हुन् ।

असार १४ गतेदेखि स्वास्थ्य संस्थाहरु बन्द गरेर स्वास्थ्यकर्मी आन्दोलित हुँदा बिरामी मारमा परेका छन् । सम्सी गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी र एक प्राथमिक स्वास्थ्य केन्द्र छन् । दैनिक तीन सय स्थानीय आफ्ना स्वास्थ्य समस्या लिएर पुग्दै आएको स्वास्थ्य संस्थामा विगत साता दिनदेखि ताला झुण्डिएको छ ।

स्वास्थ्यकर्मीको मागबारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सिडियो र गाउँपालिका प्रमुखलाई पनि पटक—पटक सुनायौं । तर, माग सम्बोधन नहुँदा बाध्य भएर स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा छौं’, प्राथमिक स्वास्थ्य उपचार केन्द्र सम्सीका मेडिकल अधिकृत रवीन्द्र मण्डलले भने, ‘प्रमुख प्रशासकीय अधिकृतले पैसा नभएकोले भत्ता दिन सकिंदैन् भन्छन् । गाउँपालिका प्रमुखले पैसा जति पनि रहेको भन्छन् तर हामीले पाउनु पर्ने रकम दिइँदैन ।’

स्वास्थ्यकर्मीले कोरोना भाइरसको जोखिममा काम गर्दा जोखिम भत्ता स्वरुप मात्रै ४८ लाख रुपैयाँ पाउनुपर्ने छ । गाउँपालिकाको कार्यपालिकाले गत चैत्र १ गतेदेखि प्रत्येक स्वास्थ्यकर्मीलाई प्रत्येक दिन एक हजार जोखिम भत्ता दिने निर्णय गरेको थियो । चार महिना बित्नै लाग्दा पनि जोखिम भत्ता दिने निर्णय लागु नभएको स्वास्थ्य चौकी पर्सा देवाडका इन्चार्ज सुखचन्द्र यादवले बताए । कोरोना जोखिममा कम्तिमा ४० जना स्वास्थ्यकर्मी क्वारेन्टाइन, स्वास्थ्यचौकी, सीमा नाकामा रातदिन खटिंदै आएका छन् ।

‘पैसाको कमी छैन । स्वास्थ्यकर्मी कोरोना भाइरसको महामारीमा दिन रात खटिइरहेका छन् । उहाँहरुलाई दिनुपर्ने प्रोत्साहन भत्ता दिनैपर्छ,’ गाउँपालिका प्रमुख शेख फारुकले भने, ‘हामीले दिने निर्णय पनि गरेका थियौं । प्रमुख प्रशासकीय अधिकृत दुई महिनादेखि कार्यालयमा आउँदैनन् ।’

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कोरोनाजस्तो महामारीको बेलामा कुनै पनि हालतमा स्वास्थ्य संस्था बन्द गर्न नपाइने बताए । ‘यस्तो बेलामा हडताल गर्न पाइन्छ ? अति आवश्यक सेवा ठप्प पारेकोमा अब हामी उनीहरुलाई कारवाही गर्छौं’, उनले भने, ‘समस्या समाधान गर्न गाउँपालिका जिम्मेवार बन्नु पर्छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ