२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सम्झौता कार्यान्वयन नगरेको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी अनसनमा

सम्झौता कार्यान्वयन नगरेको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी अनसनमा


धनुषा – जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल धनुषाका कर्मचारी पुनः अनसन सुरु गरेका छन् । कर्मचारी हकहित संरक्षण संघर्ष समितसँग कलेजले गरेको सम्झौता कार्यान्वयन नगरेपछि कर्मचारीहरूले रिले अनसन सुरु गरका हुन् ।

संघर्ष समितिका संयोजक उमेश यादवले माघ ५ गतेदेखि रिले अनसन सुरु गरेको जानकारी दिए । रिले अनसनबाट  माग पुरा नभए समितिले अर्को चरणको आन्दोलन एक महिनापश्चात घोषणा गर्ने उनले बताए । विभिन्न ट्रेड युनियन र कलेज प्रशासनबीच तीन बुँदे सम्झौता भएपनि कार्यान्वयन नगरेकोे उनको गुनासो छ ।

‘मंसिर १३ गते कर्मचारी र कलेज प्रशासनबीच तीन बुंदे सम्झौता भएको थियो । कलेजले सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको थियो,’ उनले भने, ‘तर डेढ महिना बित्न लाग्दा समेत कुनै वास्ता गरेका छैन् । त्यसैले बाध्य भएर पुन: आन्दोलन सुरु गर्नु परेको छ ।’

कलेज संचालक पक्षले पटक पटक सम्झौता गरेपनि कार्यन्वयन नगरेको कर्मचारीहरू बताउँछन् । आन्दोलनरत कर्मचारीसँग भएको सहमति कार्यान्वयन नगरेपनि कलेजलाई सम्बन्धित निकायले दबाब दिन भने सकेको  छैन ।

कलेज प्रशासनबाट पटक-पटक पीडा दिने काम भइरहेको कर्मचारीहरूको आरोप छ । कलेजमा कार्यरत कर्मचारीहरू तलब भत्ता, सञ्चयकोष, दशैं भत्ता लगायतका सेवासुविधा नपाएको भन्दै पटक-पटक आन्दोलन गर्दै आएका छन्। तर कलेजले श्रम गरेको तलब भत्ता दिनुको साटो कर्मचारीलाई नै कारबाही गरेको पाइएको छ  ।

यसअघि कलेजका दुई कर्मचारीले असोज १६ गतेदेखि मंसिर १३ गतेसम्म आमरण अनसन बसेका थिए । जसकारण कलेजका प्रतिनिधिले आधिकारिक ट्रेड युनियनका अध्यक्षहरूको पहलमा सम्झौता गरेपछि उनीहरू अनसन स्थगित गरे । तर सम्झौता कार्यान्वयन नगरेपछि कर्मचारीहरू अन्यायमा परेका छन् । कर्मचारीहरुले विगत ६ वर्षदेखिको सञ्चयकोष, पाँच वर्षको दशैं खर्च र नियमित तलब भत्ता पाएका छैनन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ