२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा प्यारासिटामोलको चरम अभाव, फार्मेसीबाट रित्तो हात फर्किंदै उपभोक्ता

प्रदेश १ मा प्यारासिटामोलको चरम अभाव, फार्मेसीबाट रित्तो हात फर्किंदै उपभोक्ता


विराटनगर – कोभिड-१९ महामारीले जनजीवन अस्तव्यस्त बनिरहेको बेला बजारमा ज्वरोको औषधी सिटामोल (प्यारासिटामोल) अभाव देखिएको छ । विशेष गरी प्रदेश १ को राजधानी विराटनगरसहित पूर्वमा प्यारासिटामोलको चरम अभाव देखिएको हो ।

विराटनगरसहित प्रदेशमा प्यारासिटामोल एक हप्तादेखि अभाव देखिएको एपोलो फार्मेसीका संचालक तथा नेपाल औषधी व्यवसायी संघ प्रदेश १ को उपाध्यक्ष धनराज काफ्ले बताए । बजारमा प्यारासिटामोल नपाएपछि उनले ध्यानकर्षण गराएका छन् ।

‘प्रदेश १ का सम्पूर्ण थोक बिक्रेता हरुलाई बिनम्रताका साथ हार्दिक अनुरोध छ । सक्दो चाडो प्यारासिटामोल यस प्रदेसमा भित्र्याउनुहोस् । खुद्रा व्यवसायीलाई निक्कै सकस् भैइरहेको छ । उपभोक्ताले औषधी नपाएर दुःख पाएका छन् । औषधी उत्पादन संघ (एपोनका) पदाधिकारीले भने जस्तो सजह अवस्था बजारमा प्यारासिटामोल छैन । सम्बन्धित निकायको ध्यान पुगोस्,’ उनले सामाजिक संजालमा भनेका छन् ।

काफलेका अनुसार अहिले दैनिक १० देखि १५ जना उपभोक्ता प्यारासिटामोल नपाएर फार्मेसीदेखि फर्किने गरेको बताए । ‘दैनिक पछिल्लो एकहप्तादेखि फार्मेशीमा प्यारासिटामोल किन्न ग्राहक आउने गर्दछन् । मेरो पसलमा एक हप्ता अगाडी प्यारासिटामोल सकियो,’ उनले भने, ‘थोकमा पनि छैन भन्ने गरेको छ । अहिले उपभोक्ताले सिटामोल नपाउँदा खाली हात फर्किदैछन् ।’

कोरोना संक्रमण बढेर स्थानिय प्रशासनले निषेधाज्ञा सुरु भएपछि सिटामोगको माग बढेको हो । ‘दुई हप्ता अगाडीदेखि सिटामोल खोज्न आउनेको संख्या ह्वात्तै बढेको छ । तर, अहिले सिटामोल पाएको छैन । होलसेलमा १०–१२ दिन भइसक्यो माग गरेको, त्यहाँ पनि छैन भन्दछन् । सिटामोल नपाएपछि उपभोक्ता रित्तो हात फर्किदैछन् ।’

विराटनगरको कन्चनबारी चौकमा रहेको ओम विराट औषधी पसलका संचालक तथा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले पनि फार्मेसीहरूमा पछिल्लो समय सिटामोलको सर्टेज हुन थालेको बताए । ‘डिमान्ड थेग्नै नसक्ने छ तर, हप्ता दश दिनदेखि सिटामोल आएको छैन,’ उनी भन्छन्, ‘कुनै समय एकै दिनमा ५० देखि सय पत्तासम्म बेचियो । एकैजनाले १०–१५ पत्तासमेत लैजान्थे । सायद त्यसैले पनि होला अहिले बजारमा सिटामोल सर्टेज छ ।’

धेरैले कोभिड लागिहाल्यो भने खानको लागि सिटामोल थुपार्ने गरेको उनी बताउँछन् । ‘उनीहरूले भनेको जति सिटामोल दिने हो भने अब मेरो फार्मेसीमा छिनमै सिटामोल सकिन्छ,’ उनले भने, ‘आवश्यकता हेरेर सिटामोल दिने गरेको छु । भएको सिटामोल पनि सकिन लागेको छ ।’ घाँटीको समस्या भइ खाकी लाग्न खाने ‘एजोथ्रिइन माइसिन’ औषधी पनि अभाव देखि थालेको उनले बताए ।

७ वटा होलसेलमा अनुगमन गर्दा एउटामा मात्र भेटियो सिटामोल

बजारमा प्यारासिटामोल अभाव भएको जनगुनासो आएपछि औषधि व्यवस्था विभाग विराटनगरले सुनसरी र मोरङका खुद्रा होलसेल पसलमा अनुगमनका गरेको थियो । बजार अनुगमन गर्दा सिटामोल अभाव देखिन थालेको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले बताए ।

सुनसरी र मोरङको ७ वटा थोक होलसेलमा अनुगमनको क्रममा एउटा होलसेलमा मात्र प्यारासिटामोल भेटिएको उनले बताए । ‘६ वटामा होलसेलमा प्यारासिटामोल सकिएको थियो,’ उनले भने, ‘भएको एउटा होलसलेमा ६ – ७ हजार पिस थियो ।’

उनले बजारमा सिटोमोल अभाव देखिन थालेकोले केन्द्रमा आश्वयक व्यवस्था मिलाइदिन पत्रचार गरिने बताए । उपभोक्ताहरुलाई पनि विभागले आफ्नो आवश्यकता अनुसार मात्रै सिटामोल खरिद गरेर स्टोर गर्न आग्रह गरेको छ । ‘अहिलेको अवस्थामा अत्यावश्यक औषधि घरभित्र नथुपारौँ,’ उनले भने, ‘आफूलाई चाहिने मात्रै राखौँ ।’

‘मूल्य समायोजन नभए सिटामोलको चरम अभाव हुन्छ’

औषधी उत्पादक संघका अध्यक्ष नारायण क्षेत्रीले सरकारले तोकेको रेटमा लागत मूल्य पनि नउठने भएकोले उद्योगहरुले उत्पादन घटाएको कारणले अहिले बजारमा प्रयाप्त मात्रमा प्यारासिटामोल नपाएको बताए ।

‘राज्यले २०६४ सालमा तोकेको मुल्य नै अहिलेसम्म लागू भइरहेको छ,’ उनले भने, ‘कच्चा पदार्थ तीन–चार गुणाले बढेको हुनाले लागत नै उठ्दैन । एक–दुई महिनाको लागि हामीसँग कच्चा पदार्थ छ । तर, मुल्य समायोजन हुन सकेन भने महँगो कच्चा पदार्थ किनेर सस्तोमा बेच्न सक्ने अवस्था छैनौँ ।’

डेढ रुपैयाँ लागत लाग्ने सिटामोललाई एक रुपैयाँमा बेच्दा आफूहरूलाई मर्का परेको उनले बताए । अहिले देशभरीमा ६३ वटा नेपालमा औषधी कम्पनी उद्योग रहेका छन् । ती मध्ये १० देखि १२ वटा उद्योगले प्यारासिटामोल उत्पादन गर्दै आएको छ ।

‘अहिलेको अवस्थामा घाटा खाएर भए अभाव गर्नु हुँदैन भनेर उत्पादन गरिरहेका छौँ,’ उनले भने, ‘सिटामोलको मूल्य समायोजन गर्न हामीले माग गर्दै आएका छौं । राज्यले अबको एक दुई महिना भित्रमा मूल्यमा समायोजना नभएन भने सिटामोल अभाव हुने देखिन्छ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ