२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’ हुनुपर्ने नीति बनाउन माग

‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’ हुनुपर्ने नीति बनाउन माग


विराटनगर—एक स्वास्थ्य संस्था, एक चिकित्सक’ हुनुपर्ने नीति राज्यले बनाउनुपर्ने एक कार्यक्रममा सरोकारवाहरुले बताएका छन् । शुक्रबार विराटनगरमा भ्रष्टाचार विरुद्धको निगरानी संस्थाले आयोजना गरेको कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै विराट टिचिङ हस्पिटलका अध्यक्ष तथा वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीले एक स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकले अन्यन्त्र काम नगर्ने नीति बनाउनुपर्ने बताए । ‘एउटामा स्वास्थ्य संस्थामा आवद्ध भएका चिकित्सक अन्यन्त्र १० वटा क्लिनिक र स्वास्थ्य संस्थामा आवद्ध हुनु हुँदैन्,’ उनले भने, ‘त्यसले राम्रो सन्देश पनि जादैन् । त्यसैले जुन संस्थामा चिकित्सकले काम गरेका छन् । त्यही संस्थामा पूर्णकालीन भएर सेवा दिनुपर्दछ ।’ यसो गर्दा बिरामीले पनि गुणस्तरीय स्वास्थ्य सेवा पाउने उनले बताए ।

डा. कार्कीले राज्यले सरकारी र निजी स्वास्थ्य संस्थालाई गर्ने विभेदकारी नीति पनि अन्त्य गरिनुपर्ने बताए । उनले प्रत्येक संस्थाहरु सोसेल सेक्युरिटी फण्डमा जान जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दै निजी हस्पिटलहरुको संस्था अफिन कोशी प्रदेशका अध्यक्ष डा. शंकर अधिकारीले राज्यले स्वास्थ्य क्षेत्रमा कम बजेट बिनियोजन गरेकाले स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको बताए । कुल बजेटको ४.९ प्रतिशत मात्र स्वास्थ्य क्षेत्रमा बजेट बिनियोजन हुने गरेको उनले बताए । ‘राज्यले स्वास्थ्यमा पर्याप्त बजेट बिनियोजन गरेर स्वास्थ्यको क्षेत्रमा काम गरिनुपर्छ,’ उनले भने ।

डा. अधिकारीले स्वास्थ्य विमाको कार्यक्रमलाई राज्यले प्रभावकारी बनाएर लैजानुपर्ने सुझाव दिए । अहिले पनि कोशी प्रदेशमा ३६ः१५ प्रतिशत मात्रै स्वास्थ्य विमामा जोडिदिएको उनको भनाइ थियो । ‘राज्यले स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाएर स्वास्थ्यमा जोड्न जरुरी छ,’ उनले भने, ‘राज्यले अहिले पनि स्वास्थ्य विमाबाट उपचार गरेबापत आउने रकम ढिलाइ गरिदिने गरेको छ ।’

कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले कोशीमा स्वास्थ्य बिमामार्फत उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डबाट २१ करोडभन्दा बढी रकम पाउनुपर्ने देखिएको बताए । ‘स्वास्थ्य बिमामार्फत उपचार गरेबापत ठूलो भुक्तानी नआउँदा कर्मचारीलाई नियमित तलब खुवाउन समस्या हुने गरेको छ,’ मेसु डा. झाले भने, ‘रोकिएको स्वास्थ्य बिमा मार्फत गरेको उपचारको भुक्तानी बिमा बोर्डले तत्काल दिनुपर्नेछ ।’

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रोग लाग्न नदिन स्वास्थ्यमा सचेतना फैलाउन जरुरी रहेको बताए । कार्यक्रममा मोरङका स्थानीय तहका प्रमुख तथा उपप्रमुख र सरोकारवालाहरुको उपस्थिती रहेको थियो


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ