२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरो अस्पतालमा एक हजार रुपैयाँमै डायलाइसिस

न्यूरो अस्पतालमा एक हजार रुपैयाँमै डायलाइसिस


विराटनगर – मिर्गौला पीडित बिरामीहरूले चर्को शुल्क तिर्दा पनि घन्टौं लाइनमा बसेर हेमोडायलाइसिस गरेको घटना बाहिर आइरहदा विराटनगरस्थित न्यूरो अस्पतालले मिर्गौला समस्या भएका बिरामीको लागि जनपक्षिय निर्णय गरेको छ ।

अस्पतालमा मिर्गौला पीडित बिरामीहरूको सहजताको लागि एक हजार रुपियाँमै डायलाइसिस सेवा सुरू गरेको छ । अब मिर्गौला फेल भएका बिरामीहरूले डायलाइसिस गर्नु परे न्यूरो अस्पतालले गत वैशाखदेखि विराटनगरको महेन्द्रचौकस्थित संचालनमा ल्याएको अत्याधुनिक सुविधा सम्पन्न हेमोडायलाइसिस भएको ठाउँमा गएर बिरामीले सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

निःशुल्क डायलाइसिस गर्ने अस्पतालहरूमा बिरामीले पालो नपाएर भिड हुने गरेको र सहज रूपमा सेवा प्रवाह नभइरहेको अवस्थामा न्यूरो अस्पतालले एक हजार रुपयामै डायलाइसिस सेवा सुरु गरेर बिरामीलाई राहत मिलेको मिर्गौला पीडित बिरामीहरू बताउँछन् । अस्पतालका डाइरेक्टर ई. रन्जितराज बस्नेतले विरामीहरूको सहजताको लागि एक हजार रुपैयाँ डायलाइसिस सेवा सुरु गरेको बताए ।

‘अहिले पनि डायलाइसिस गर्ने अस्पतालमाहरुमा बिरामीले सहज रूपमा सेवा नभएर भिड हुने र दुःखद घटनाहरू हुने गरेको हामीले सुन्ने र देख्ने गरेका छौं,’ उनले भने, ‘निजी क्षेत्रबाट पनि मिर्गौला फेल भएका बिरामीहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले न्युनतम शुल्कमा गुणस्तरीय सेवा दिने हामीले डायलाइसिस सेवा दिएका छौं ।’ अहिले निजी अस्पतालहरूले एक पटक डायलाइसिस गरेको साढे ६ हजार देखि आठ हजार रुपैयाँसम्म लिने गर्दछ ।

न्यूरोले गत वैशाख १ गतेदेखि डायलाइसिस सेवा सुरु गरेको हो । एक हप्तादेखि एक हजार रुपैयाँ मात्र लिएर मिर्गौला पीडित विरामीको डायलाइसिस गर्दै आएको अस्पतालले जनाएको छ ।

हेमोडायलाइसिस युनिटमा दुई वटा भेन्टिलेटरसहितको आईसियू सेवा रहेको छ । ६ शैय्याको हेमोडायलाइसिस सेवा संचालनमा रहेको छ । अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डा.विरेन्द्र कुमार विष्टले न्युरोले हेमोडायलाइसिस सेवा सुरू गरेपछि बिरामीलाई सेवा प्रवाहमा सहज भएको बताए ।

‘हामी सबैको सामूहिक प्रयासले न्यूरो अस्पताल एउटा बहुआयामिक अस्पतालको रुपमा स्थापित हुँदै गरहेको छ,’ डा. विष्टले भने, ‘हामी प्रति आम सेवाग्राहीको अपेक्षा पनि त्यही अनुरूप छ । यही कुरालाई मध्यनजर गरेर अस्पतालले नयाँ वर्षको पहिलो दिनबाटै हेमोडायलाइसिस सेवा शुभारम्भ गरेको ठाउँबाट अहिले कम शुल्कमा विरामीलाई सेवा प्रभाह गरेका छौें ।’

अस्पताललका अपरेसन डाइरेक्टर राजेश भट्टराईले हेमोडायलाइसिस सेवा नहुँदा बिरामीहरू बाहिर जानुपर्ने अवस्थाको अन्त्य र न्युन शुल्कमा विरामीले उपचार पाएपछि उनीहरुलाई सहज भएको बताए । ‘मिर्गौला फेल भएका विरामीहरूले पैसाँ नभएर उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको पनि अन्त्य भएको छ,’ उनले भने, ‘न्यूरोले सुविधासम्पन्न अत्याधुनिक उपकरण जडान गरेर हेमोडायलाइसिस सेवाबाट विरामीले सहज रुपमा सेवा पाएका छन् ।’

न्यूरो हेमोडायलाइसिस युनिटमा चारवटा उपकरण रहेको छ । यहाँका दैनिक १२ जना मिर्गौलाका बिरामीले सेवा लिन सक्ने क्षमता रहेको छ । बिरामीको चाप बढेमा अस्पतालले दैनिक २४ जनासम्मको उपचार गर्नसक्ने बताइएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ