२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिमका मिर्गौला बिरामीलाई डायलासिसकै सास्ती

सुदूरपश्चिमका मिर्गौला बिरामीलाई डायलासिसकै सास्ती


कैलाली-आजीवन निःशुल्क डायलासिस गर्ने सरकारी घोषणा सुदूरपश्चिमका मिर्गौला बिरामीका लागि आकाशको फलजस्तै भएको छ । सरकारले २०७३ सालको बैशाखमा आजीवन निःशुल्क डायलासिस गर्ने निर्णय गरे पनि त्यसको तीन वर्ष पुगिसक्दा समेत सुदूरपश्चिमका विरामीले डायलासिस सेवा नपाएका हुन् ।

प्रदेशका डायलासिस गराउनुपर्ने बिरामीले सेती अस्पतालबाहेक अन्य कुनै पनि स्वास्थ्य संस्थामा डायलासिस सेवा नहुँदा हप्तैपिच्छे अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । सेती अस्पतालमा पनि विरंग हेल्थ केयर प्रालिले डायलासिस सेवा सञ्चालन गरिरहेको छ ।

अस्तालसँगको सम्झौंतामा सुरुवातमा १० वटा मेसिनबाट सेवा प्रवाह गरिए पनि बिरामीको चापलाई मध्यनजर गर्दै आवश्यक मेसिनहरु थप गर्ने उल्लेख गरिएको थियो । ‘अहिले ५ वटा मेसिन मात्रै सञ्चालनमा रहेका छन्,’ सेती अस्पतालको डायलासिस वार्डकी इन्चार्ज विना चौधरीले भनिन्, ‘अन्य मेसिन बिग्रिएका छन् । केही समयमै मर्मत गरिनेछ ।’

यता बिरामीहरुको डायलासिसका लागि पालै नपाउने समस्या रहेको छ । डायलासिस गराउँदै गर्दा सेती अस्पतालमा भेटिएका देवेन्द्र जैशीले भने, ‘डायलासिसका लागि हप्ताको दुई पटक आउनुपर्छ । ५ वटा मेसिनमात्रै सञ्चालनमा रहेकोले कहिले पालो नै नआउने समस्या छ ।’ सेती अस्पतालमा लिफ्ट बिग्रिएको महिनौ बितिसक्दा समेत मर्मत नहुँदा डायलासिस वार्ड सम्म पुग्न पनि कठिन भइरहेको गुनासो उनले गरे ।

सेती अस्पतालको डायलासिस सेवा समेत प्रभावकारी नहुँदा सुदूरपश्चिम प्रदेशका अधिकांस मिर्गाैलाका बिरामीले डायलासिसका लागि नेपालका अन्य प्रदेशका अस्पताल र भारतका विभिन्न अस्पतालमा धाउनुपर्ने बाध्यता छ । ‘सरकारले निःशुल्क भनेको डायलासिस प्रदेशमा शुल्क तिरेर पनि पाउने अवस्था नभएपछि भारतमा हजारौं खर्च गरेर हप्तैपिच्छे डायलासिस गराइरहेकी छु,’ कञ्चनपुरकी सोनु सिनालले भनिन्, ‘हप्ताको दुई पटक भारतको खटिमा गएर डायलासिस गराउँदै आएकी छु, सेतीमा धेरै समय पालो कुरे । पालो आएपछि विशेषज्ञ डाक्टर नहुँदा समस्या भयो ।’

सेती अस्पतालमा डायलासिसका लागि डेढ वर्ष पहिले मात्रै दुई सय ५० जना बिरामीले नाम दर्ता गराएकोमा अहिले साप्ताहिक रुपमा ४७ जनाले मात्रै सेवा पाइरहेका छन् ।

अहिले झण्डै एक सय ७० जना बिरामी भने सुदूरपश्चिमबाहिर गएर डायलासिस गराइरहेका छन् । सेती अस्पतालमा डायलासिस सेवा सञ्चालनमा रहेपनि विशेषज्ञ डाक्टर नहुँदा धेरै बिरामी सेतीमै डायलासिस गराउन डराउने गरेका छन् ।

सुदूरपश्चिममा सहरीकरण र जीवनशैलीमा परिवर्तनसँगै मधुमेह, उच्च रक्तचाप, पत्थरी आदि समस्याले मिर्गौला फेल हुने समस्या बढ्दो छ । समयमै सतर्कता अपनाए डायलासिस वा मिर्गौला प्रत्यारोपणसम्मको स्थितिबाट बिरामीलाई जोगाउन सकिन्छ ।

तर मिर्गौलाको स्थिति जान्नका लागि विशेषज्ञ डाक्टर नै नहुँदा समस्या भैरहेको छ । डायलासिस गराउन अगाडिका सबै उपचारहरु सुदूरपश्चिमभरि कुनै पनि अस्पतालमा सम्भव नभएकाले पनि बिरामीहरु डायलासिसका लागि परनिर्भर हुनुपर्ने अवस्था आएको छ ।

नाम दर्ता गरेका अधिकांश बिरामी सम्पर्कबिहीन

सेती अस्पतालमा मिर्गौला डायलासिस गराउनका लागि नाम दर्ता गरेका अधिकांश बिरामी सेवा प्रभावकारी नभएपछि सम्पर्कबिहीन भएका छन् । अहिले सेतीमा ४७ जनाले मात्रै डायलासिस सेवा पाइरहेकोले झण्डै दुई सय जनासँग भने सम्पर्क हुन नसकेको हो ।

दुई बर्ष अगाडि मात्रै सेती अस्पतालमा डायलासिसका लागि दुई सय ५० जना बिरामीले नाम दर्ता गराएकोमा अहिले साप्ताहिक रुपमा ४७ जनाले मात्रै सेवा पाइरहेका छन् । अहिले पालो कुर्नेको संख्या पनि ५ जनामात्रै भएको सेती अस्पतालमा डायलासिस सेवा सञ्चालन गरिरहेको विरंग हेल्थ केयर प्रालिले जनाएको छ ।

सेती अस्पतालले बुझाएको सूचीलाई नै आधार मानेर सम्पर्क गर्दा धेरै कमलाई मात्र सम्पर्क हुन सकेको प्रालिले जनाएको छ । डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले तीन सिफ्टमा ५ वटा मेसिनबाट सेवा प्रवाह भैरहेको र अहिले पालो कुरेर बस्नेको संख्या पनि धेरै कम रहेको बताए ।

झण्डै एक सय ३० जना बिरामी भने सुदूरपश्चिमबाहिर गएर डायलासिस गराइरहेका छन् । सेती अस्पतालमा विगतमा अस्पताल आफैले सञ्चालन गरेपनि २०७४ को चैतदेखि भने नीजि क्षेत्रले सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ