२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशजनस्वास्थ्यलाई संकट पार्ने गरी तरकारीमा अन्धाधुन्द विषादीको प्रयोग

जनस्वास्थ्यलाई संकट पार्ने गरी तरकारीमा अन्धाधुन्द विषादीको प्रयोग


धनगढी—सुदूरपश्चिम प्रदेशको अत्तरियामा रहेको तरकारी हाट बजारबाट ३ पुषमा गते खान अयोग्य रहेको भन्दै काउली नष्ट गरियो । अत्तरियाको तरकारी हाट बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाईले उपभोग अयोग्य (रेड लेभल) को विषादी भेटिएको बन्दा नष्ट गरेको थियो।

कैलालीको गेटाका किसानले उत्पादन गरेको करिब साढे ३ क्वीन्टल बन्दामा ४९.०९२ अर्गानोफस्फोट रोकावट प्रतिशत र १२.३५३ कार्बोमेट रोकावट प्रतिशत दर भेटिएको थियो ।

गत असोजमा डडेल्धुराबाट ल्याइएको काउली र कैलालीको गोलभेडामा रेड लेभल विषादी पाइएको थियो । अत्तरियामा तरकारी तथा फलफूल पसलमा राखिएको काउली र पाण्डे फलफूल तथा तरकारी पसलमा राखिएको गोलभेडाको नमूनामा रेड लेभल विषादीको मात्रा भेटिएपछि खान अयोग्य हुने भएकाले नष्ट गरीएको थियो । उक्त गोलभेडा तथा काउलीमा कार्बोमेट र अर्गानोफस्फोट रोकावट प्रतिशतभन्दा बढी पाइएको थियो ।

यसअघि चालु आर्थिक वर्षमै साउन १२ गते सल्यानबाट ल्याइएको भेडे खुर्सानीमा रेड लेभल विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको थियो ।

माथिका तीन वटा त प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय तरकारीमा विषादीको अन्धाधुन्द प्रयोग गर्ने गरिएको छ । तरकारीलाई रोग र किराबाट जोगाउनका लागि विषादी प्रयोग गरिदैं आएको भएपनि सही विधि र प्राविधिकको सल्लाह बिनै विषादी प्रयोग गरिन थालेपछि त्यसले मानवीय स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने चुनौती बढेर गएको छ ।

तरकारीमा रोग किराको पहिचान गरी विषादी प्रयोग गर्नुको साटो किसानहरूले भेटनरीबाट अन्धाधुन्द विषादी किनेर प्रयोग गर्ने गरेका छन । कुन विषादी प्रयोग गर्ने, कति मात्रामा प्रयोग गर्ने, विषादी प्रयोग गरेपछि कति दिन सम्म उपभोग नगर्ने भन्ने आधारभूत जानकारी बिनै विषादीको प्रयोग गर्ने गरिएको छ ।

यसरी निकै खतरनाक विषादी प्रयोग गरेका तरकारी पनि बजारमा पुग्ने गरेका छन । जसका कारण पछिल्लो समय सुदूरपश्चिम मै उत्पादन गरेका तरकारीहरूमा पनि पटक—पटक विषादी भेटिन थालेको छ ।

विषादी अवशेष दु्रत विश्लेषण इकाई अत्तरियामा चालु आर्थिक वर्षमा गरिएको विषादी परीक्षणमा सुदूरपश्चिमका किसानले उत्पादन गरेका ७ तरकारीका नमूनामा खतरनाक विषादीको मात्रा फेला परिसकेको छ । सुदूरपश्चिमका ९ वटा जिल्लाका तरकारी आयात निर्यात हुने अत्तरियाको हाटबजारमा मात्रै गरिएको विषादी परीक्षणमा उपभोग गर्न नै नमिल्ने घातक विषादीको मात्रा तरकारीमा फेला परेको हो । हाटबजारमा भित्र्याइएको तरकारीमा पटक—पटक विषादी भेटिने गरेको भएपनि न विषादी प्रयोग गर्ने किसानलाई सचेत गराइएको छ न उक्त तरकारी बजारमा बिक्री गर्न रोकटोक नै लगाइएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण इकाईका प्रमुख प्रमोद ठगुन्नाले किसानहरूले आवश्यक नै नभएको विषादी प्रयोग गरेको पाइने गरेको बताए । उनले किसानहरूले आफू खुसी भेटनरीबाट विषादी किनेर अन्धाधुन्द प्रयोग गरेर बजारमा पठाउने गरेको बताए । ठगुन्नाकाअनुसार प्रयोगशालामा अर्गानोफस्फोट र कार्बोमेट रोकावट दर परीक्षण गर्दा अत्याधिक मात्रामा विषादीको प्रयोग गरेका तरकारी भेटिने गरेको छ ।

यस्ता विषादीले मानव स्वास्थ्यमा निकै खतरनाक असर पर्ने गरेको उनको भनाइ छ । ‘हामीले १० पीपीएम विषादी तरकारीको माध्यमबाट प्रयोग ग¥यौ भने त्यो हाम्रो शरीरको बोसोमा जम्मा हुन्छ । तरकारीबाट १० पीपीएम प्रयोग गरेमा त्यो हाम्रो शरीरमा पुगेर १० गुणा बढेर जान्छ,’ उनले भने ‘अर्गानोफस्फोट र कार्बोमेटको एकदमै ठूलो नकारात्मक असर मानव स्वास्थ्य पर्ने भएकाले यसलाई गम्भिर रुपमा लिने गरिएको छ ।’ कृषि उपजमा अन्धाधुन्द विषादी प्रयोगको कारण क्यान्सर, शरीरमा हर्मोनको विकास र विस्तारमा असन्तुलन, प्रजनन शक्तिमा ह्रास, मस्तिष्कमा क्षति, श्वासप्रश्वास प्रणालीसम्बन्धी रोगहरू, मिर्गौलासम्बन्धी गम्भीर रोगहरू, छालासम्बन्धी रोग आदि लाग्ने अनुसन्धानहरुले पुष्टि गरेको छ ।

विषादी अवशेष द्रुत विश्लेषण इकाई अत्तरिया चालु आर्थिक वर्षमा ४ सय ४१ नमूनाको विषादी परिक्षण गरिदा ७ नमूनामा एकदमै घातक (रेड लेभल) विषादीको मात्रा भेटिएर नष्ट गरिएको थियो भने २ नमूनामा यल्लो लेभलको विषादी भेटिएको थियो । ३५ प्रतिशतभन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा त्यसलाई ग्रीन लेभलमा राखेर खान योग्य मानिन्छ भने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिएमा त्यसलाई यल्लो लेभलमा राखेर केही दिन पर्खिएर खान मिल्ने हुन सक्छ ४५ भन्दामाथि रोकावट दर भेटिएमा भने त्यसलाई रेड लेवभलमा राखेर नष्ट गर्ने गरिएको छ ।

गत आर्थिक वर्षमा २ हजार ५३२ तरकारीका नमूनाको विषादी परिक्षण गरिएकोमा १३ तरकारीका नमूनामा रेड लेभल विषादी भेटिएको थियो । जसमा कैलाली, कञ्चनपुरका ५/५, बैतडीका २ र डडेल्धुराका १ नमूना थिए । सिमित ठाउँमा थोरै नमूनाको परीक्षण गर्दा पनि छ्यापछ्याप्ती विषादी भेटिने गरेको भएपनि यसको नियमनमा भने खासै चासो देखाएको पाइदैन् । यसरी अन्धाधुन्द विषादी प्रयोग गर्ने किसानलाई सामान्य चेतावनी समेत दिएको पाइदैन् ।

कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले किसानलाई घातक विषादीको प्रयोग गर्नबाट रोक्न एक व्यक्तिको प्रयासबाट मात्रै सम्भव नभएको बताए । उनले भने, ‘अन्धाधुन्द विषादीको प्रयोग रोक्न किसानसँगै विषादी बिक्रेतालाई सजग गराउन आवश्यक रहेको बताए । उनले किसानलाई सचेत गराउन पालिकास्तरमा सचेतनाका कार्यक्रम सञ्चालन गरी विषादी बिक्रेतामाथि निगरानी राख्न आवश्यक रहेको बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ