२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वखोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल

खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल


जर्कार्ता– गएको वर्षयता खोकीको विषालु औषधि खाएर विश्वभर सयौँ बालबालिकाहरूको मृत्यु भयो । इन्डोनेसियामा मात्रै २०० भन्दा धेरै बालबालिकाहरूको ज्यान गयो ।

यो मामिलामा पूर्वी जाभाको केदिरी जिल्ला अदालतका न्यायाधीशले एउटा घरेलु कम्पनीका मालिकलाई जेल सजाय सुनाएका छन् । अफी फर्माका प्रमुख कार्यकारी अधिकारी प्रसेत्या हाराहप र अन्य तीन शीर्ष अधिकारीहरूलाई औषधि जस्तो संवेदनशील वस्तुमा लापरवाही गरेको भन्दै २ वर्षको जेल सजाय सुनाइएको हो । सबैलाई जनही १ अर्ब इन्डोनेसिया रुपैयाँ (६३ हजार २९ डलर) जरिवाना तिर्न पनि आदेश पनि दिइएको छ ।

अफी फर्माले विषाक्त तत्वहरु अत्यधिक मात्रामा भएको खोकीको औषधि बनाएको मामिलामा मुद्दा खेपिरहेको थियो । आरोपीहरूले भने आफूमाथि लगाएको लापरबाहीको आरोपको खण्डन गरेका छन् । यो फैसलाको विरुद्धमा अपिल दिने योजनामा कम्पनी छ । सरकारी वकिलहरूले सीईओलाई सातदेखि ९ वर्ष र अन्य तीन जनालाई सय वर्षको जेल सजायको माग गरेका थिए । सन् २०२१ को अक्टोबरदेखि सन् २०२२ को फेब्रुअरीको बिचमा कम्पनीले दुई ब्याचमा प्रोपिलिन ग्लाइकोल किनेको थियो ।

यसलाई कम्पनीले खोकीको औषधि बनाउन प्रयोग गरेको थियो । यी ब्याचको औषधिमा ९६ देखि ९९ प्रतिशतसम्म इथाइलिन ग्लाइकोल भेटियो । प्रोपलिन ग्लाइकोल विषालु हुन्न । यसलाई औषधि, सौन्दर्य सामाग्री र खानेकुरामा व्यापक प्रयोग गरिन्छ । इथालिन ग्लाइकोल भने विषालु हो । यसलाई रंग, कलम र ब्रेक फ्लुइड बनाउन प्रयोग गरिन्छ । कम्पनीले औषधि बनाउने बेलामा यी सामाग्रीको गुणस्तर परीक्षण नै गरेन । आपूर्तिकर्ताले पठाएको गुणस्तर सुरक्षा प्रमाणीकरणमै भर परेर औषधि बनायो ।

इन्डोनेशियाको औषधि नियामकले यस्ता वस्तुको कठोर परीक्षणलाई बाध्यकारी बनाएको छैन । प्रतिवादीका वकिलले पनि आफ्ना क्लाइन्टको बचाउमा यस्तै तर्क गरेका थिए । तर न्यायाधीशले भने औषधि बनाउँदा जानीजानी गुणस्तर मापदण्ड पूरा नगरी औषधि बनाएको ठहर गरेका थिए । विषाक्त खोकीको औषधिका कारण हालैका वर्षमा विश्वभर बालबालिकाको मृत्युको घटना बढेपछि औषधिको आपूर्ति शृङ्खला कसिलो पार्ने प्रयास बढेको छ ।

सन् २०२२ यता इन्डोनेसियामा मात्रै विषाक्त औषधिका कारण २०० भन्दा बढी बालबालिकाको किड्नीमा समस्याका कारण मृत्यु भएको थियो । मर्नेमध्ये अधिकांश बालबालिकाको उमेर ५ वर्षभन्दा कम थियो । गाम्बिया र उज्बेकिस्तनमा पनि यस्तै औषधिका कारण झन्डै सय जनाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य सङ्गठनले भारत र इन्डोनेसियामा बनाइएका ६ ओटा औषधि प्रयोग नगर्न चेतावनी नै जारी गरेको थियो ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ