२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारप्रधानमन्त्रीलाई कोरोना संक्रमित स्वास्थ्यकर्मीको खुलापत्र

प्रधानमन्त्रीलाई कोरोना संक्रमित स्वास्थ्यकर्मीको खुलापत्र


सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,
सिंहदरबार, काठमाडौं, नेपाल ।

सर्वप्रथम कोरोना भाइरस (कोभिड–१९) महामारी संकटको घडीमा आइसोलेसनको शैय्याबाट सम्माननीय प्रधानमन्त्रीसहित नेपाल सरकारलाई हार्दिक नमस्कार !

म एक दूर्गम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी । जो कोरोना भाइरसबाट संक्रमित भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) शिक्षण अस्पताल जुम्लाको आइसोलेसनको बेडमा छु ।

आइसोलेसनको शैय्याबाट कोरिएको यो मेरो आलेखले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई केही हौसला बढाउँछ भन्ने ठानेको छु । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हौसला बढ्नुसँग कोरोना नियन्त्रण पनि गाँसिएको छ । यसले राज्यका निकायले अख्तियार गर्दै आएको कोभिड—१९ नियन्त्रण रणनीति परिवर्तन हुन्छ कि भनेर मन नलाग्दा—नलाग्दै पनि कापी र कलमको सहायताले केरमेट गर्ने जमर्को गरेको छु ।

कोभिड—१९ विश्वका विभिन्न देशहरुमा जस्तै नेपालमा पनि फैलिरहेको छ । दुर्गम जिल्ला जुम्लामा पनि संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । भारतबाट आएका जुम्लाका नागरिकको स्वास्थ्य जाँच गर्ने अग्रमोर्चामा म स्वास्थ्यकर्मी भएको कारण खटिएको थिए । मलाई कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा काम गर्ने जिम्मेवारी दिइएको थियो । जहाँ मैले कर्तव्यनिष्ठ भएर, गौरव महसुस गर्दै जिम्मेवारी सम्हालेर काम गरें । तर, अव्यवस्थित क्वारेन्टाइन, व्यवस्थापनको कमजोरीले गर्दा अहिले कर्णाली प्रदेशको सम्भवतः म पहिलो संक्रमित स्वास्थ्यकर्मी भएको जानकारी गराउँछु ।

तर, पनि आज देश कोभिड—१९ महामारी रोकथामको अभियानमा जुटिरहेको छ । हामी सरकारसँगै यही अभियानमा छौं । यसलाई नियन्त्रण गर्न सिंगो राष्ट्र जुटिरहेकोमा म गर्व गरिरहेको छु ।

जब चीनको वुहानलाई इपिसेन्टर बनाएर कोरोना फैलिन थाल्यो । हामी राजधानीबाट धेरै टाढा कर्णालीमा पनि त्यही बेलादेखि तयारी थियौं । हाम्रो सरकार नै तयारीमा थियो, अहिले त्यो फितलो भएको परिणाम देखिदैंछ । तर, पनि सरकारले खटाएको ड्युटीमा डट्नुपर्छ भन्ने सोच हामी सबै स्वास्थ्यकर्मीले बनायौं । अझै स्वास्थ्यकर्मी अग्रपंक्तिमा जुटेका छौं ।

सुरुको समयमा हामीलाई लाग्थ्यो, यो समस्या नेपालमा आउँदैन होला । तर, नेपालमा संक्रमण सुरु भयो र विस्तारै फैलिन थाल्यो ।

आज हामी स्वास्थ्यकर्मी आफ्नो घर परिवारभन्दा राज्य अनि पेशालाई महत्व दिएर दिन रात ड्युटीमा खटिरहेका छौं । कोही प्रयोगशालामा, कोही आइसोलेसनमा, कोही क्वारेन्टाइनमा र गाउँ—गाउँमा पुगेर निरन्तर काम गरिरहेका छौं । तर, अभिभावकको रुपमा रहेको राज्यको नै बेवारिसे व्यवहारले हामी स्वास्थ्यकर्मीलाई दुखित तुल्याएको छ ।

काम गर्दागर्दै कोभिड—१९ को संक्रमण भएको खबर मेरा लागि अप्रत्याशित भयो । तर, पनि म डराएको छैन । रत्तिभर हडबडाएको पनि छैन । मेरोपछि राज्य छ, सरकार छ भन्ने ठान्दछु ! तर, मसँग जोडिएको घर, परिवार, समाज आज तरंगित छ । मैले मन र आत्मालाई सम्हालेर घर, परिवार र आफन्तलाई केही हँुदैन भनेर सान्त्वना दिनुको विकल्प छैन । आत्मबल र साहस घटाएको छैन ।

नेपालको सन्दर्भमा कोभिड—१९ बाट हुने मृत्युदर निकै कम छ । तर, यो कुरा आम नागरिकले बुझेका छैनन् । समुदायमा मानिस आतंकित भएका छन् । कोरोना भाइरसबाट संक्रमित भएर आइसोलेसनमा रहेका दाजुभाइ दिदीबहिनीहरुमा मेरो सल्लाह छ– धैर्य गर्नुहोस्, आत्मविश्वास बलियो बनाउनुहोस्, पोषिलो खाना, सरसफाइ र सामान्य व्यायाम गर्नुहोस्, तपाईँ हामी कोरोनाबाट अवश्य बच्नेछौं ।

सरकारसँग दुई प्रश्न

पहिलो प्रश्न : ‘कोभिड–१९ को महामारीबाट देश बिरामी भएको बेला सामान्य स्वास्थ्यकर्मी जो बिना हतियार युद्धमा पठाइयो, जसको परिणामस्वरुप आज हामी आइसोलेसन वार्डमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ । यस्तो कमजोर व्यवस्थापनले अब स्वास्थ्यकर्मीले यो युद्ध जित्न सक्लान् त प्रधानमन्त्रीज्यू ? अनि हामी स्वास्थ्यकर्मी समाजसेवामा कुन मुख लिएर जान सक्छौं ? हामी स्वास्थ्यकर्मीको उपचार, घर, परिवारको शिक्षा स्वास्थ्यको ग्यारेण्टी गर्नुपर्छ कि पर्दैन ?’

दोस्रो प्रश्न : ‘पीसीआर पोजेटिभ भएकालाई कति दिन, सात दिन, एक महिना, एक वर्ष वा कति दिन आइसोलेसनमा राख्ने हो ? अहिले कोभिड—१९ पोजेटिभ भएकालाई हेर्ने दृष्टिकोण कस्तो छ ?’

यसका साथै मलाई यस घडीमा सहयोग गर्नेे, जोश र जाँगर भर्ने, फोन गरेर सहयोग गर्ने, हौसला दिने, माया गर्ने शुभचिन्तकलाई विशेष धन्यवाद छ ।


शुक्रराज शाही
अहेब, बड्की स्वास्थ्य चौकी, जुम्ला


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ