२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारडा. गिर्वाण भन्छन्, ‘हामी विदेशी पर्यटकलाई सन्तुष्ट पार्न र उपचार दिन सक्षम छौं’

डा. गिर्वाण भन्छन्, ‘हामी विदेशी पर्यटकलाई सन्तुष्ट पार्न र उपचार दिन सक्षम छौं’


डा. गिर्वाणराज तिमिल्सिना ट्राभल मेडिसिनमा सुपरिचित युवा चिकित्सक हुन् । उनले विदेशी पर्यटकलाई लक्षित गर्दै लाजिम्पाटमा अत्याधुनिक श्रीद्धि इन्टरनेशनल हस्पिटल चलाइरहेका छन् । झण्डै दशक लामो ट्राभल मेडिसिनको अनुभव संगालेका उनी नेपालको पर्यटन, माउण्टेन मेडिसिनलगायतका विषयमा जानकार छन् । ३९ वर्षीय युवा चिकित्सक डा. तिमिल्सिनासँग हेल्थआवाजले ट्राभल, माउण्टेन मेडिसिन, नेपालमा यसको सम्भावना र चुनौतीका विषयमा केन्द्रीत रहेको गरेको कुराकानीः

अहिले नेपालमा हाइ एल्टीच्युड मेडिसिनको अवस्था के छ ?
विदेशीहरुका लागि नेपाल एडभेन्चरस कन्ट्री हो । पर्यटनकहरु नेपाल आउने भनेको काठमाडौं, पोखरामा बस्नका लागि मात्र होइन्, माउनटेयरिङ, हाइकिङ, ट्रेकिङ गर्नका लागि आउने हो । सगरमाथा, अन्नपूर्ण, मनास्लु बेसक्याम्प, मनाङ र मुस्ताङतिरको १५—२० दिनको ट्रेकिङ रुट लिएर आउने गर्छन् । १५—२० दिनअघि पानी नपर्ने सिजनमा पानी परेर बाटो पुलहरु भत्कायो, मनास्लुमा हिमपहिरो गयो । विदेशीहरु उतै रोकिएपछि रेस्क्युहरु गर्नुपर्ने अवस्था आयो । हिमपहिरो गएपछि धेरै चिसोले गर्दा मानिसहरु बिरामी भए । अल्टिच्युट पनि लाग्यो । हामीले धेरै पर्यटकहरुलाई रेस्क्यु गरेर हाम्रो अस्पतालमा उपचार गर्‍यौं । पछिल्लो एक महिनामै धेरै जना पर्यटकहरुको रेस्क्यु गरेर उपचार गर्‍यौं ।

हाई अल्टिच्युडमा समयमा रेस्क्यु नपुग्दा तत्काल त्यहाँ गर्नुपर्ने के हुन्छ ?
प्रायःजसो विदेशीहरुले आफ्नो ट्राभल इन्स्योरेन्स लिएर आएका हुन्छन् । उनीहरु यहाँ आउँदा केही भवितब्य पर्‍यो, बिरामी परे, रेस्क्यु गर्नु प¥यो भने ट्राभल इन्स्योरेन्समार्फत क्लेम ब्याक हुन्छ । उनीहरु जुन ठाउँमा अडकिएका हुन्छन्, त्यहाँ यातायात पनि पुगेको हुँदैन्, कम्युनिकेसन पनि पुगेको हुँदैनन्, जसका कारण हामीलाई समयमै खबर गर्न पनि सक्दैनन् । त्यस्तो अवस्थामा हेलिकप्टरहरु पनि सिमित मात्रामा छन्, कसलाई बढी आवश्यकता परेको भनेर त्यहाँको मेडिकल अवस्था नहेरेर त्यसै भन्न सकिदैंन् । तर, नेपाल सरकार एवं प्राइभेट कम्पनीहरुले समयमै हेलिकप्टर लगेर उद्धार गर्ने प्रयास गरिरहेका हुन्छन् । हेलिकप्टरबाट उद्धार गरेर अस्पताल ल्याइ पुर्‍याउने बितिकै हामी उपचार सुरु गरिहाल्छौं । विदेशीहरुले उपचार नपाएर मर्नुपरेको भनेको हजारौंमा एक—दुई वटा केसमात्रै होलान् ।

भनेपछि हाई अल्टिच्युडमा विदेशी पर्यटकहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुविधा हामीले पुर्‍याइरहेका छौं ?
सामान्यतयाः पुगिरहेको छ । तर, ठाउँ—ठाउँमा अल्टिच्युड सिकनेसलगायत अन्य के कारणले पर्यटकहरु बिरामी हुन्छन्, त्यो बारेमा पर्याप्त जानकारी पुर्‍याउन आवश्यक छ । त्यो हामीले गर्न सक्यौं भने उपचार र उद्धारमा अझ सहज हुनेछ ।

हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकहरुमा देखिने मुख्य स्वास्थ्य समस्या के—के हुन् ?
प्रायःजसो उनीहरुलाई हाईअल्टिच्युड लाग्छ । त्यसलाई एक्युट माउण्टेन सिकनेस भनिन्छ । अक्सिजन लेभल एकदमै कम भयो, उनीहरुलाई अरु लक्षणहरु विकास भए र उनीहरुले एक दुई दिनसम्म अक्सिजन पनि पाएनन् र तल पनि झरेनन् भने उनीहरुलाई अल्टीच्युड सिकनेस हुन्छ । हाइअल्टिच्युड सेल्भरल इनिमा र हाई अल्टिच्युड पल्मोनरी इनिमा हुने सम्भावना हुन्छ । जसले दिमाग, फोक्सोलगायतका शरीरका अंगमा पानी जम्ने हुन्छ । त्यसले गम्भीर बनाउँछ र समयमा उपचार पुगेन भने बिरामीको मृत्यु हुने सम्भावना पनि रहन्छ । पहिलो हाइअल्टिच्युड सिकनेस मुख्य समस्या रहेको छ भने दोस्रो ट्रमाको समस्या हुन्छन् ।

सिजनमा मानिसहरु ट्रेकिङ गर्नुको कारण पानी नपर्ने, राम्रो वातावरणका कारण हो । तर, कहिलेकाही पानी परिदियो वा हिउ परिदियो भने उनीहरु बाटोमा चिप्लिन्छन्, जसले हाटखुट्टा भाच्चिने, टाउकोमा चोट लाग्नेजस्ता समस्या आइलाग्छन् । तेस्रो, विदेशीहरुलाई ट्राभलर डाइरिया हुन्छ । खानपिन मिलिरहेको हुँदैन्, बाटोमा प्यास लाग्यो भने मुलको पानी धाराको पानी खाइदिइरहेका हुन्छन् । त्यसकारण डाइरियाको समस्या हुन्छ । कहिलेकाही डाइरियाले पनि सिभियर बनाउँछ । त्यसपछि हिड्नै नसक्ने अवस्था भएर किड्नीमा पनि समस्या हुन सक्छ । त्यसबाहेक अन्य नगन्य स्वास्थ्य समस्याहरु हुन्छन् ।

त्यो बेला हामीले प्रारम्भिक रुपमा फिल्डमै अपनाउन सकिने सावधानीहरु के हुन् ?
प्रायजसोः हामीले पनि ट्राभल मेडिसिन अस्पताल भएकाले भनिरहेका छौं, हाम्रा गाइडहरुलाई बेसिक रुपमा अल्टीच्युड मेडिसिन, अल्टिच्युड सिकनेसका बारेमा तालिम दिन आवश्यक छ । यात्रामा निस्कने पर्यटकहरु र गाइडहरु दुवैले बेसिक मेडिसिन बोक्न पनि अति जरुरी हुन्छ । अहिले त धेरैजसो ठाउँमा स्याटेलाइट क्लिनिक पुगिरहेका छन्, ती क्लिनिकहरुमा कन्सन्टेटरबाट अक्सिजन दिने व्यवस्था पनि गरिएको हुन्छ । त्यसकारण अकस्मात हुने मृत्यु रोकिएको छ । क्लाइम्ब गरेर माथि नै माउण्टेनमा पुगेको बेला भयो भने अर्को कुरा हो नत्र सडेन डेथको समस्या आउँदैंन् । तर, हाइ अल्टिच्युड मेडिसिनबारे बेसिक जानकारी लिएर जाँदा राम्रो हुन्छ ।

हाई अल्टिच्युडमा पर्यटकहरुलाई आवश्यक पर्ने स्वास्थ्य पूर्वाधारको अवस्था कस्तो छ ?
यसमा प्राइभेट हस्पिटलहरु मेन फोकस छौं । सरकारले पर्यटकका लागि आवश्यक पर्ने पर्याप्त सुविधासहितका हस्पिटलको व्यवस्था गरिदिएको छैन । लुक्लामा सरकारी अस्पताल छ, त्यो भन्दा माथि विभिन्न वडाहरु छन्, त्यहाँ पनि अस्पतालहरु छन् । तर, पदयात्रामा आउँदा पर्यटकहरु बिरामी हुन्छ भनेर त्यहाँ सरकारले आवश्यक विशेषज्ञ जनशक्तिहरुको व्यवस्थापन गरेको छैन । नर्स र पारामेडिक्सहरुको पनि व्यवस्थापन हुन सकेको छैन । ती ठाउँमा विशेषज्ञ चिकित्सक, नर्स र पारामेडिक्सको टिम राखेमा बल्ल व्यवस्थित हुन्छ ।

राज्यपक्षबाट ट्राभल मेडिसिनका क्षेत्रमा के सहजीकरणको अपेक्षा गर्नुभएको छ ?
राज्यबाट भन्दा पनि पर्यटकहरुले परमिट लिँदाखेरि उनीहरुसँग ट्रेकिङ लोकेसन, ट्रेकिङ रुट एकदमै सही सूचना हुनुपर्छ । आकस्मिकता पर्दा आवश्यक पर्ने इमर्जेन्सी नम्बरको व्यवस्था हुन पनि जरुरी छ । हुनत ट्रेकिङ जाँदाखेरि विकट रुटहरु पनि छन्, त्यो ठाउँहरुबाट पनि सञ्चार सम्पर्क गर्न सकिने ओकेटोके, स्याटेलाइट हुनुपर्छ । कम्युनिकेसन भयो भने हामी बिरामीलाई जुनसुकै ठाउँबाट एक डेढ घण्टामा काठमाडौं ल्याउन सक्छौं ।

माउण्टेन मेडिसिनमा नेपालमा पर्याप्त जनशक्ति छ ?
छैन । हामी २—४ वटा हस्पिटल मात्रै माउण्टेन मेडिसिनमा फोकस छौं । अन्य केही हस्पिटलमा विदेशी र नेपाली दुवैलाई उपचार गरिन्छ । ट्राभल मेडिसिन स्पेशलिष्ट कम भएपनि पल्मोनोलोजिष्टहरु संख्या नेपालमा प्रशस्तै छ । तर, समग्रमा माउण्टेन मेडिसिनमा जनशक्ति अपुग नै छ, सरकारले यसमा पर्याप्त ध्यान दिन जरुरी छ ।

माउण्टेन मेडिसिनमा सम्भावनाहरु कत्ति छन् ?
माउण्टेन मेडिसिनमा एकदमै धेरै सम्भावनाहरु छन् । नेपाल पर्यटकीय देश हो । नेपालमा विदेशीहरु नआउने भन्ने नै छैन । कोभिड—१९ महामारी कम भएसँगै अहिले नेपालका ९० प्रतिशत होटलहरु बुक छन् । नेपाल आउन चाहने पर्यटकहरु एकदमै छन् । हेल्थ सेक्टर, ट्रेकिङ, कम्युनिकेसन क्षेत्रमा हामीले राम्रो काम गरेर नेपाल पर्यटकका लागि सुरक्षित छ भनेर संसारभर प्रचार गर्न सक्यौं भने टुरिज्मका लागि नेपाल संसारकै वेष्ट डेस्टिनेसन बन्न सक्छ ।

माउण्टेन मेडिसिनको अहिले कति जतिको बजार छ ?
नेपालमा यात्रा गर्दा विदेशीहरुलाई केही न केही स्वास्थ्य समस्या देखिइरहेको हुन्छ । जस्तोः ट्राभलर डाइरिया, खानपिन मिलिरहेको हुँदैन । जसका कारण जानेबेलासम्म उनीहरुलाई फुड पोइजनिङको समस्या देखिने सम्भावना बढी हुन्छ । एभरेष्ट बेस क्याम्प, मनास्लु, अन्नपूर्णजस्ता ट्रेकिङ रुटमा जाँदा हाइ अल्टिच्युड लाग्छ कि लाग्दैन्, यो खाँदा मलाई फुड पोइजनिङ हुन्छ कि हुँदैन् भन्ने कुरा थाहा हुँदैन् । त्यहीकारण यी सबै कुरा समेटेर काम गर्न सकियो भने एकदमै ठूलो सम्भावना छ ।

पर्यटकहरुले चाहेको स्वास्थ्य सुविधा दिन हामी सक्षम छौं ?
छौं । हामीजस्तो पर्यटकका लागि आवश्यक सुविधा दिन सक्ने हस्पिटल अरु पनि एक दुई वटा छन् । हामी पर्यटकहरुलाई सन्तुष्ट पार्न र उपचार गर्न सक्षम छौं । कोभिड—१९ महामारीका कारण पर्यटकहरु धेरैपछि नेपाल आउनुभएको छ, उनीहरुलाई सत्कार गर्नका लागि नेपाल सरकार र प्राइभेट सेक्टर सबैतिरबाट सहयोग गर्नुपर्छ ।

हेल्दी र सेफ ट्राभलिङका लागि के कुरामा ख्याल गर्न आवश्यक हुन्छ ?
सबैभन्दा पहिलो कुरा त आफू स्वस्थ हुनुपर्छ । आफू त्यो ठाउँमा जान सक्षम छु कि छैन भनेर निश्चित गर्नुपर्छ । अब दमको बिरामीले म एभरेष्ट बेक्याम्प जान्छु भनेर त भएन । हेल्दी ट्राभलरको लागि उनीहरुसँग आफ्नो बेसिक प्याकेज राम्रो हुनुपर्छ, हेल्दी फुडहरु लैजानुपर्छ । आवश्यक आधारभूत औषधीहरु बोक्नुपर्छ र त्यो रुट बुझेको गाइड लैजानुपर्छ । बस्ने ठाउँहरुको छनोट उपयुक्त हुनुपर्छ । कुन रुटमा कति घण्टा यात्रा गर्ने, कहाँ बस्ने, कति घण्टा रेष्ट गर्नेजस्ता सबै कुरा बुझ्दै यात्रा गरेमा अल्टिच्युड सिकनेस हुने सम्भावना एकदमै कम हुन्छ । शुद्ध पानीको व्यवस्था पनि गर्नु आवश्यक छ ।

मैले अहिलेको सिजनमा एभरेष्ट बेसक्याम्पबाट रेस्क्यु गरेर ल्याएका ५—७ जना विदेशी पर्यटकहरुमा डेंगु संक्रमण देखें । त्यो एरियामा डेंगु भएको हो भनेर त प्रमाणित हुँदैन तर पर्यटकहरु ट्रेकिङमा जाँदैं गर्दा उनीहरुलाई डेंगुले प्रभाव पार्न ८—१० दिन लाग्न सक्छ । र, उनीहरु ट्राभल गर्दै जाँदा टाउको दुख्ने, बोमिट हुनेजस्ता समस्या बढ्दैं जान्छ । एभरेष्ट बेसक्याम्पसम्म पुग्दा गाह्रो भइसक्छ । त्यसपछि उनीहरु फर्किएर काठमाडौं आए र परीक्षण गर्दा डेंगु पुष्टि भयो । जहाँसम्म लाग्छ, लुक्लाभन्दा माथिको हाइटमा डेंगुको सम्भावना निकै कम छ । त्यही कारण पर्यटकीय रुटमा ठाउँ—ठाउँमा परीक्षण गर्ने प्रयोगशाला, स्याटेलाइट क्लिनिकहरु भइदियो भने सहज हुन्छ । सरकारले मेडिकल टुरिज्मलाई अझै व्यवस्थित गर्न हामीजस्ता विज्ञहरुसँग सल्लाह गरेर ठाउँ—ठाउँमा सुविधाहरु दिएर अझै विदेशी पर्यटकहरु बढाउन सकिन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #ट्राभल मेडिसिन, #डा. गिर्वाणराज तिमिल्सिना, #श्रीद्धि इन्टरनेशनल हस्पिटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ