२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १संक्रमण बढेपछि सीमा नाकामा ‘एन्टिजेन परीक्षण’

संक्रमण बढेपछि सीमा नाकामा ‘एन्टिजेन परीक्षण’


विराटनगर—भारतको कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि मोरङको सीमा नकाहरूमा ‘एन्टिजेन परीक्षण’ सुरु भएको छ । सीमा नाकादेखि नेपाल प्रवेश गरेका नागरिकहरूको संक्रमण भए—नभएको पत्ता लगाउन ‘एन्टिजेन परीक्षण’ सुरु गरिएको हो । ‘एन्टिजेन परीक्षण’ रिपोर्ट १५ मिनेट भित्रमा दिने व्यवस्था मिलाएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने शंकास्पद नागरिकलाई लक्षित गर्दै विराटनगर महानगरले सीमावर्ती नाका रानीमा ‘एन्टिजेन परीक्षण’ सुरु गरेको छ । संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न महानगरले मुल नाकामै एन्टिजेन परीक्षणको व्यवस्था गरेको हो ।

महानगरले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको व्यक्तिगत विवरण संकलन गरिसकेपछि उनीहरुको हेल्थ स्क्रिनिङ र ट्राभल हिस्ट्रीको आधारमा एन्टिजेन परीक्षण गर्दै आएको छ । महानगरले सीमा नाकामा दैनिक २५ देखि ३५ जनासम्मको एन्टिजेन परीक्षण गर्दै आएको छ ।

१५ मिनेटभित्रै प्राप्त हुने परीक्षणको नतिजा विश्लेषणको आधारमा सम्बन्धितलाई नेपाल प्रवेश दिइने गरिएको महानगरका मेडिकल अफिसर कमलकिशोर यादवले बताए । एन्टिजेन पोजिटिभ देखिएका व्यक्तिलाई तत्कालै सम्बन्धित स्थानीय तहको समन्वयमा १४ दिने होम क्वारेन्टाइनमा पठाउने व्यवस्था गरिएको उनले जानकारी दिए । ‘हामीले संक्रमित देखिएका नेपाली नागरिकलाई सम्बन्धित पालिकामै पठाउँछौ भने भारतीय नागरिकको हलमा त्यहाँको सरकारसँग समन्वय गरेर उतै पठाउने गरेका छौं,’ उनले भने ।

विराटनगर–१६ स्थित रानी नाकामा विश्व स्वास्थ्य संगठनले निर्माण गरिदिएको अस्थायी टहरामार्फत महानगरले जोगबनी नाका हुँदै नेपाल भित्रिएका १ सय ३० जनाको एन्टिजेन परीक्षण गरिसकेको छ । जसमा १० नेपाली र १ भारतीयसहित ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १० नेपालीलाई महानगरले सम्बन्धित स्थानीय तहमै पठाएको छ भने १ जना भारतीय नगरिकलाई भारतको क्वारेन्टिनमा राखिएको छ ।

संक्रमितको पहिचान गर्न रानीस्थित हेल्थ डेस्कमा महानगरले १ जना हेल्थ असिस्टेन्ट, १ जना मेडिकल अफिसर, ५ जना अनमी र १ जना ल्याब टेक्निसियनसहित १० जनाको दरबन्दी राखेको छ । पिसिआर परीक्षणको तुलनामा खर्च र नतिजा प्राप्त हुने समय पनि कम लाग्ने भएकाले एन्टिजेन परीक्षण प्रभावकारी देखिएको महानगरका मेडिकल अफिसर कमलकिशोर यादवले बताए ।

परीक्षणको क्रममा किट अभाव भए हेल्थ डेस्कले विराटनगर महानगरपालिका तथा प्रदेश सरकारसँग किट माग गर्ने गरेको छ । रानीस्थित हेल्थ डेस्कमा दैनिक बिहान ८ बजेदेखि बेलुकी ६ सम्म एन्टिजेन परीक्षण हुने गरेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ