२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलज्योतिजस्तै डा. ज्योति

ज्योतिजस्तै डा. ज्योति


४९ वर्षको उमेरमा पनि उस्तै सक्रियता, अनुहारमा उस्तै चमक, फिट शरीर, हक्की स्वभाव यिनै गुणले पूर्ण छिन्—डा. ज्योति भट्टराई । बिरामीसँगको उनको सामीप्यता अझै लोभलाग्दो छ । दैनिक ४० जना बिरामी जाँच्दै आएकी उनले २० वर्षको अवधिमा लाखभन्दा बढी बिरामीको उपचार गरिसकेकी छिन् । बिरामीहरुलाई नयाँ जीवन दिने डा. ज्योति ज्योतिजस्तै छन्, हरेक बिरामीको परिवारमा आफूले हासिल गरेको कुशलतामार्फत खुसीको प्रकाश छर्ने ।

बुबा श्रीकृष्ण उपाध्याय र आमा तारा भट्टराईको कोखबाट ललितपुरको कुपण्डोलमा वि.सं. २०२८ सालमा जन्मिएकी डा. भट्टराईको बाल्यकाल रमाइलोसँग बित्यो । त्यतिबेलाको काठमाडौं अहिलेको जस्तो प्रदूषित थिएन । कुपण्डोलको वातावरण, सफा बागमती नदी, पहेलपुर तोरी फुलेका बारीका दृश्य डा. भट्टराईको आँखामा तेर्सिन्छन् । अहिले ती खेतबारीमा कंक्रिट महल ठडिएका छन् । त्यसो त ती दृश्यले उनलाई गिज्याइरहन्छ । ‘म सानो छँदा अहिलेको जस्तो प्रदूषित थिएन,’ बाल्यकालका स्मरणलाई खोतल्दै उनले भनिन्, ‘बागमती नदी सफा थियो, नदीमा पौडी खेल्थ्यौंं ।’

५ वर्षबाट उनको प्रारम्भिक शिक्षा सेन्ट मेरिज स्कुलमा सुरु भयो । त्यहीबाट वि.सं. २०४४ सालमा उनले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी हुन् । पढाइमा अब्बल विद्यार्थीको रुपमा चिनिने डा. भट्टराई सानैदेखि हक्की स्वभावकी थिइन् । अन्यायलाई सहेर बस्ने उनको स्वभाव छैन । त्यसैले विद्यालयमा साथीहरुसँग खटपट परिहरन्थ्यो ।

विद्यालयकी चकचके विद्यार्थी ज्योतिको स्वभाव एकठाउँमा बस्न नसक्ने खालको थियो । उनलाई रमाइलो गरिरहनुपथ्र्यो । समग्रमा उनी क्लासकी जोकर नै थिइन् । त्यसैले रमाइला गीत गाएर, चुटकिला सुनाएर हुन्छ कि नाचेर हुन्छ साथीहरुलाई रमाइलो गराइरहन्थिन् । त्यसैले विद्यालयमा उनलाई शिक्षकले चकचके, क्लास जोकरलगायतका उपनामले बोलाउँथे ।

एसएलसीपछि उनी आईएस्सी अध्ययनका लागि अस्कल क्याम्पसमा भर्ना भइन् । अस्कलमा उनले बेग्लै अनुभव गर्ने मौका पाइन् । त्यहाँको भवन, शौचालय, विद्यार्थीलगायतका थुप्रै कुरामा उनले फरक देखिन् । अस्कल आफैंमा राजनीति बढी हुने क्याम्पसमा चिनिन्छ । त्यतिबेला पनि पढाइ कम राजनीति बढी हुन्थ्यो । तर, उनलाई भने त्यहाँको राजनीतिले कहिल्यै तानेन् । उनी सबै संघसंगठनसँग समान व्यवहार गर्थिन् । अर्को कुरा उनको स्पष्ट बोल्ने बानी थियो । त्यसैले विभिन्न राजनीतिक दलका भातृ संगठनले उनलाई आफ्नो संगठनमा ल्याउन कसरत गर्थे । तर, डा. भट्टराईलाई राजनीतिमा रुची नभएकाले त्यतातर्फ लागिनन् ।

अस्कलमा २ वर्ष विज्ञान संकायमा अध्ययन गरेपछि उनले महाराजगन्जस्थित त्रिवि चिकित्साशास्त्र संस्थानमा एमबीबीएसका लागि इन्ट्रान्स परीक्षा दिइन् । इन्ट्रान्स परीक्षामा उत्तीर्ण भएपछि उनी सन् १९९० मा एमबीबीएस अध्ययनका लागि आईओएममा भर्ना भइन् । डा. भट्टराई सानैदेखि बाठी थिइन् । त्यसो त उनका परिवार, आफन्त, साथीभाइहरुले उनलाई डाक्टर बन्छे भन्थे । त्यसैले उनमा पनि डाक्टर भनेको राम्रो रहेछ भन्ने छाप सानैदेखि बस्यो । सोहीअनुसार डाक्टर बन्नका लागि आईओएममा भर्ना भएको उनी बताउँछिन् ।

‘म सानैदेखि अतिरिक्त कुराहरु जान्न खोज्ने बाठी स्वभावकी थिएँ,’ उनी भन्छिन्, ‘मेरो स्वभाव देखेर आफन्त, परिवारका सदस्यहरुले ज्योति निकै बाठी छे यो पछि गएर डाक्टर नै बन्छे भन्नुहुन्थ्यो । मलाई पनि डाक्टर भनेको राम्रो पेसा रहेछ भन्ने लाग्थ्यो । सायद त्यही प्रेरणाले नै म डाक्टर बनेको हुनुपर्छ ।’

होस्टलमा बसेर एमबीबीएस अध्ययन गरिरहेकी उनको कक्षामा सधैं अब्बल हुने लक्ष्य हुन्थ्यो । त्यसैले उनी पढाइमा बढी केन्द्रीत हुन्थिन् । त्यतिबेला कतिपय शिक्षकहरु अस्पतालकै क्वार्टरमा बस्ने भएकाले नबुझेका कुरा सोध्न सहज थियो । बेलुका १२ बजेसम्म कलेजको लाइब्रेरीमा गएर पुस्तकहरु पढ्ने उनको बानी थियो ।

असमानतामा समानता खोज्दा झगडा

विद्यार्थी जीवनदेखि उनको हक्की स्वभाव अहिले डाक्टरी जीवनमा पनि देखिन्छ । उनी विद्यार्थीकालमा महिला पुरुष बराबर हुनुपर्छ भन्ने धारणा राख्थिन् । महिला पुरुषबीचको असमानताको खाडल पुर्न चाहन्थिन् ।

तर, कसैले महिलालाई हेप्ने कुरा ग¥यो भने उनी त्यो माथि जाइलाग्थिन् । त्यसैले उनको प्रायः केटा साथीहरुसँग वादविवाद, झगडा परिरहन्थ्यो । कलेजमा पढ्दा बैसाली भट्टाचार्य उनकी मिल्ने साथी थिइन् । उनीसँगै उनको समूहमा ६ जना केटी साथीहरु थिए । त्यसको लिडर डा. भट्टराई थिइन् । त्यसैले कलेजका केटा साथीहरुसँग उनको टोलीले प्रतिवाद गथ्र्यो ।

प्रेम र अमेरिका यात्रा

डा. भट्टराईले एमबीबीएस पढाइ सकेर अमेरिका जाने सोच बनाएकी थिइन् । यहीबेला उनको डा. अरुणराज कुँवरसँग प्रेम चक्कर सुरु भयो । एमबीबीएस पढाइसँगै उनी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा काम गर्थिन् । डा. कुँवर मानसिक विभागमा काम गर्थे । उनी इमर्जेन्सीमा काम गर्दा डा. कुँवरले बिरामीलाई मायालु तरिकाले उपचार गरेको, उनको बोलीचालीलगायतका कुराले उनको मन जित्यो ।

एकदिन मौका छोपेर उनले डा. कुँवरलाई प्रेम प्रस्ताव राखिन् । उनको प्रस्तावलाई डा. कुँवरले पनि सहर्ष स्वीकारे । डा. कँुवरको नाम एमडीका लागि निस्किसकेको थियो । त्यसैले उनी नेपालमै बस्ने विदेश नजाने मनस्थितीमा थिए । तर, डा. भट्टराईको भने अमेरिका गएर पढ्ने र नेपाल आएर काम गर्ने सोचमा थिइन् ।

दुई जनाको सोच फरक भएपनि उनीहरुबीच धेरै छलफल भयो । आखिर डा. भट्टराईले नै आफू अमेरिका गएर पढेर फर्किने कुरामा डा. अरुणलाई कन्भिस गरिन् । एमडीको तयारी गर्नका लागि उनी अमेरिका गइन् । अमेरिका गएर एमडीको सबै तयारी पूरा गरेर नेपाल आइन् । त्यो मौकामा उनले डा. कुँवरसँग विवाह गरिन् ।

सन् १९९८ मा उनीहरु दुवैजना अमेरिका हानिए । डा. भट्टराई अमेरिकाको स्टेट युनिभर्सिटी अफ न्युयोर्कमा एमडी अध्ययनका लागि भर्ना भइन् । त्यहाँ एमडीका साथै उनले काम पनि गर्न थालिन् । एमडी अध्ययन गर्दैगर्दा उनले मासिक ३ हजार डलरसम्म कमाउँथिन् । इन्टरनल मेडिसिनमा एमडी सकिएपछि उनले त्यही युनिभर्सिटीबाट डायबेटिज एण्ड इन्डोक्राइनोलोजीमा एमडी सकिन् । एमडी सकेपछि न्युयोर्ककै एउटा हस्पिटलमा काम गर्न थालिन् । त्यहाँ तीन वर्षका काम गरिन् । त्यो अस्पतालमा उनको वार्षिक तलब १ लाख ५० हजार अमेरिकी डलर थियो । अमेरिकामै रहँदा उनीहरुको तीन वटी छोरी जन्मिए ।

करिब ९ वर्षको अमेरिका बसाइँपछि उनीहरु सन् २००९ मा नेपाल फर्किए । दुवैजनाको नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनाएका थिए । नेपाल आएर डा. भट्टराईले शहिद गंगालाल हृदय रोग केन्द्र काठमाडौं बाँसबारीमा काम गर्न थालिन् । त्यहाँ उनले ५ वर्ष काम गरिन् । त्यसपछि अल्का अस्पतालमा १ वर्ष काम गरिन् । यो सँगै उनी थापाथलीस्थित मेट्रो क्लिनिकमा काम गर्न थालिन् । हाल उनी मेट्रो काठमाडौं अस्पतालको अध्यक्षसमेत छिन् ।

फूर्सदमा पेन्टिङ, बा आमा भेटघाट

डा. भट्टराईलाई फूर्सदको समय निकै कम हुन्छ । तर, फूर्सद भयो भने पनि उनी त्यतिकै बस्दिनन् । उनलाई पेन्टिङमा निकै रुची छ । फूर्सदको समय धेरैजसो पेन्टिङमा बिताउने उनी छोरीहरुसँग रमाइलो गर्छिन् । कहिलेकाहीँ घुम्न जान्छिन् ।

शारीरिक रुपमा फिट देखिने उनी मानसिक स्वास्थमा पनि उतिकै ध्यान दिन्छिन् । उनी बिहान ६ बजेसम्म उठिसक्छिन् । त्यसपछि केही समय एक्सरसाइज गर्छिन् । मन पर्ने गीतमा १५÷२० मिनेट नाच्छिन् । त्यसपछि केही समय ध्यान गर्छिन् । ध्यान सकेर उनी ब्रेकफास्टको रुपमा अण्डा—पाउरोटी खान्छिन् । ९ बजेभित्र अस्पताल आइसक्छिन् ।

अस्पताल आएपछि पनि उनी एकै ठाउँमा बस्दिनन् । हरेक कोठा–कोठामा हिँड्छिन् । अस्पतालको लन्च समयमा उनी फेरि एक्सरसाइज गर्छिन् । अस्पतालमा उनले बेग्लै एक्सरसाइज कोठा बनाएकी छिन् । जसमा उनी करिव १ घन्टा एक्सरसाइज गर्छिन् । दिउँसो लन्चको रुपमा उनी धेरैजसो रोटी तरकारी खान्छिन् । एक्सरसाइज सकेर दिउँसो १ बजेदेखि ३ बजेसम्म बिरामी जाँच्छिन् ।

बेलुका घर पुगेर पनि उनी केही समय पुनः एक्सरसाइज गर्छिन् । छोरीहरुसँग नाँच्छिन् । जसले दिउँसोको तनावलाई व्यवस्थापन गर्न सहज भएको उनको अनुभव छ । बेलुका ९ बजेभित्र उनी सुति सक्छिन् । यसरी सबैकुराको सन्तुलनले शारीरिक मानसिक रुपमा फिट रहेको उनी बताउँछिन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ