२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलबर्दीधारी चिकित्सक डा. आशा, जसको कमाण्डमा छ ५०० बढी जनशक्ति रहेको प्रहरी अस्पताल

बर्दीधारी चिकित्सक डा. आशा, जसको कमाण्डमा छ ५०० बढी जनशक्ति रहेको प्रहरी अस्पताल

प्रहरी अस्पताललाई शैक्षिक संस्था बनाउने लक्ष्य


डा. आशा सिंह । नेपाल प्रहरी अस्पतालकी प्रमुख हुन् । चिकित्सक, नर्स र अन्य कर्मचारी गरी ५ सय ७० बढी कर्मचारीलाई कमाण्ड गर्दै अस्पतालको व्यवस्थापनको नेतृत्व गरिरहेकी छन्, उनी । तराईको मध्यवर्गीय परिवार हुँदैं फौजीहरुको अस्पतालको नेतृत्वमा पुगेकी डा. आशा पेशाले विशेषज्ञ गाइनोकोलोजिष्ट हुन् ।

कोभिड–१९ महामारीमा ४ हजार बढी संक्रमितको उपचार, प्रहरी अस्पतालको स्तरोन्नतीजस्ता कुरामा उनको कुशलता झल्कन्छ । उनी बर्दीधारी चिकित्सक हुन् । त्यसकारण उनको भूमिका अन्य चिकित्सकको तुलनामा केही फरक र भिन्दै छ ।

नेपाल प्रहरीको प्राविधिकतर्फकी एआईजी डा. सिंह वि.सं. २०२३ सालमा भारतको मधुवनमा जन्मिएकी हुन् । सर्लाही रामनगर घर भएपनि उनको जन्म मामाघरमा भएको हो । बुवा नरसिंहनारायण सिंह र आमा विवेकी सिंहका ६ सन्तानमध्ये उनी दोस्रो हुन् । मध्यवर्गीय परिवारमा जन्मिएकाले उनको बाल्यकाल रमाइलोसँग बितेको हो ।

उनका बुवा पहिला त्रिचन्द्र कलेजमा अंग्रेजीका प्राध्यापक थिए । त्यही कारण कहिले काठमाडौं त कहिले गाउँ गर्दै उनले अनौपचारिक रुपमा कक्षा ३ सम्मको अध्ययन सकाइन् । उनको विधिवत अध्ययन भने कक्षा ४ देखि सुरु भएको हो । डा. सिंहले काठमाडौंको महेन्द्र भवन स्कुलको होस्टेलमा बसेर थप शिक्षा अगाडि बढाइन् ।

नरसिंहनारायणपछि प्रशासनतर्फको जागिरे भए । शिक्षा मन्त्रालयको क्षेत्रीय निर्देशक भएर सुदूरपश्चिम पोस्टिङ भयो । बुवा नै शिक्षित भएकाले उनले सन्तानका लागि राम्रो शिक्षादीक्षाको व्यवस्था मिलाएका थिए । ‘शिक्षा दिक्षा चाहिन्छ भन्ने कुरा हुन्थ्यो । अर्तिउपदेश सुनिन्थ्यो,’ उनी बाल्यकाल सम्झिन्छिन््, ‘आमा, हजुरआमाले कथा सुनाउनु हुन्थ्यो ।’ उनले वि.सं. २०३८ सालमा महेन्द्र भवनबाटै एसएलसी दिइन् । वि.सं. २०३९ सालमा रिजल्ट आउँदा स्कुल टप गरिन् ।

‘स्कुले जीवनमा म पढन्ते थिए,’ उनी स्मरण गर्छिन्, ‘खेलकुदले पढाइ बिग्रिन्छ भन्ने मान्यता थियो । कक्षामा पढाइमा सिधा–साधा पाराले पढिन्थ्यो ।’ उनलाई गणित सबैभन्दा बढी मनपर्ने विषय थियो । त्यसबाहेक विज्ञान पनि मनपथ्र्यो । बुवा नै अंग्रेजी प्राध्यापक भएकाले उनको अंग्रेजी पनि उत्तिकै राम्रो थियो । त्यो बेला ९ वटा विषय पढ्नुपथ्र्यो । सिलाइ बुनाइ, भुगोल, इतिहास र पञ्चायतलगायतका विषय थिए । पञ्चायत विषय उनलाई सबैभन्दा गाह्रो लाग्थ्यो । कक्षामा राम्रो रिजल्ट ल्याउने भएकाले उनी सबै शिक्षककी प्यारी विद्यार्थी थिइन् ।

डा. आशा पढाइमा अब्बल र आज्ञाकारी थिइन् । बुवाकी सबैभन्दा प्यारी छोरी । ‘बुवाको साथी आउँदा पढ्न राम्रो छ, डाक्टर बन्छे भन्नुहुन्थ्यो’ डा. सपनाबारेको किस्सा खोल्दै उनी भन्छिन्, ‘मलाई पनि डाक्टर बन्नुपर्छ भन्ने लाग्यो ।’ उनका कान्छा भाइ जन्मिँदा प्रसुति गृहमा उनकी आमा भर्ना भएकी थिइन् । त्यहाँ डा. डिएस मल्ल थिए । डा. मल्लको व्यक्तित्व देखेर उनी निकै प्रभावित भइन् । ‘उहाँको व्यक्तित्व निकै राम्रो थियो । इन्स्पाइरिङ खालको हुनहुन्थ्यो,’ उनी भन्छिन्, ‘मलाई त्यसपछि झन डाक्टर बन्न मन लाग्यो ।’ उसो त उनलाई शिक्षक बन्न पनि मन पर्छ, अहिले पनि त्यो रुचि कायमै छ ।

तर, उनी एसएलसी उत्तीर्ण गरे चिकित्सक बन्ने आधार तयार गर्न लागिन् । त्यसका लागि उच्च शिक्षा पढ्न अमृत साइन्स क्याम्पस गइन् । त्यहीबाट वि.सं. २०४२ सालमा उनले बायोलोजीमा प्रथम श्रेणीमा आईएस्सी उत्तीर्ण गरिन् । त्यसपछि एमबीबीएस अध्ययनका लागि भारतको नयाँदिल्ली गइन् । नयाँदिल्लीस्थित लेडी हार्डिङ मेडिकल कलेजमा उनको एमबीबीएसको पढाइ सुरु भयो । ‘दिल्लीमा नितान्त भिन्न वातावरण थियो । त्यहाँको बस यति छिटो जान्थ्यो,’ डा. सिंह दिल्ली अनुभव बाँडछिन्, ‘भिडभाड हुने हुँदा अत्यास लाग्थ्यो ।’ उबेलाको शान्त काठमाडौंमा हुर्किएकाले पनि उनलाई नयाँदिल्लीको क्राउडेड लाग्नु स्वभाविक नै थियो ।

नयाँदिल्लीमा पढने वातावरण फरक थियो, प्रतिस्पर्धा अझै कडा । ‘पास हुन्छु–हुन्न, सक्ने हो–होइन भन्ने हुन्थ्यो,’ एमबीबीएस अध्ययनको अनुभव साट्दैं उनी भन्छिन्, ‘तर, आत्मविश्वास थियो, पास भैयो ।’ एमबीबीएसको पढाइ सुरु गरेलगतै उनको डा. रमेश सिंहसँग विवाह भयो । त्यो बेला छिटो विवाह नगरे केटा भेटिदैन् भन्ने हुन्थ्यो । उनका बुवा छोरीलाई पढ्न दिनुपर्छ भन्थे, आमा विवाह गरिदिनुपर्नेमा जोड दिन्थिन् । डा. आशाको विवाह बन्धनमा बाँधिदा उनका श्रीमान डा. सिंहले एमबीबीएस सकेका थिए । त्यतिबेला उनी त्रिवि शिक्षण अस्पतालका कार्यरत थिए ।

सन् १९९१ मा डा. आशाले लेडी हार्डिङ कलेजबाट एमबीबीएसको अध्ययन पूरा गरिन् । उनी एमबीबीएस सकेर काठमाडौं फर्केपछि उनका श्रीमान मास्टर्स गर्न पाकिस्तान गए । ‘म पनि पछि डिजिओ गर्न गएँ,’ उनले सुनाइन् । डा. आशाले पोस्ट ग्राजुयट मेडिकल इन्स्टिच्युट, लाहोरबाट डिजिओ गरेकी हुन् । उनका श्रीमानले भने किङ एडवर्ड मेडिकल युनिभर्सिटीबाट अर्थोमा एमडी गरे । पाकिस्तानबाट फर्केपछि सिंह दम्पत्तीले त्रिवि शिक्षण अस्पतालमा जागिर सुरु गरे ।

त्यसको केही समयपछि नेपाल पुलिस अस्पतालमा प्राविधिकतर्फ डाक्टरका लागि इन्स्पेक्टरमा आवेदन खुल्यो । जसमा डा. आशा र डा. रमेश दुवैले आवेदन दिए । दुवैको नाम निस्कियो । डा. आशा त्यसबेलादेखि अहिलेसम्म निरन्तर नेपाल प्रहरी अस्पतालमा कार्यरत छन् । उनका श्रीमान भने केही समय त्यहाँ काम गरेपछि नेपाल मेडिकल कलेज गए ।

वि.सं. २०६४ सालमा डा. आशाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा गाइनोमा एमडी अध्ययन सुरु गरिन् । वि.सं. २०६७ उनमा गाइनोमा एमडी सक्काइन् । ‘१० वर्ष जुनियर विद्यार्थीसँग पढे,’ उनी भन्छिन्, ‘गोल्ड मेडलसम्म ल्याउन सफल भए ।’ उनले छोरीहरु अभिलाषा र सुमीलाई हुर्काएपछि एमडी गरेकी हुन् ।

इन्सेक्टरबाट नेपाल प्रहरी अस्पतालको जागिर सुरु गरेकी डा. आशा सिंह आफूलाई काममा निर्खादैं गइन् । परिणाम नै मान्नुपर्छ, काममा देखाएको जुझारुपनका कारण उनी डिएसी, एसपी, एसएसपी, डिआईजी हुँदै दुई वर्षअघि माघ २०७६ मा नेपाल प्रहरीको एआईजीमा बढुवा भइन् । एआईजीमा बढुवा भएपछि नेपाल प्रहरी अस्पतालको नेतृत्व उनको काँधमा आयो । ‘यो उपलब्धि मेरा लागि निकै सन्तोषजनक मान्छु । यो उच्च तहमा पढ्न निकै मेहनेत गरे,’ उनी भन्छिन्, ‘म आउँदा यहाँ प्रसुती रोग विभाग नै थिएन् ।’ अन्तरवार्तामै विभाग नभएको अस्पतालमा विभाग स्थापना गरेर काम गर्ने बताएकी थिइन् ।

नेपाल प्रहरी अस्पताल आवद्ध भएपछि उनकै अग्रसरतामा स्त्री तथा प्रसुती रोग विभाग स्थापना भएको थियोे । जुन अहिले प्रहरी अस्पतालको उत्कृष्ट विभाग हो । राम्रो सेवा भएकाले बिरामीको चाप छ । ‘यहाँसम्म पु¥याउनु भनेको आफैमा एउटा सन्तुष्टि हो,’ उनले सुनाइन् । विस्तारै अन्य चिकित्सकहरु पनि थपिदैं गए । त्यहीअनुसार प्रहरी अस्पतालको सेवामा पनि बढोत्तरी हुँदै गयो ।

डा. आशा अस्पतालको निर्देशक नियुक्त भएको दुई महिनामै विश्वव्यापी रुपमा कोभिड–१९ महामारी सुरु भयो । संसारभरका स्वास्थ्यकर्मी फ्रन्टलाइनमा खटिए । डा. आशा आफै नेतृत्वकर्ता भएकाले उनका लागि यो समय झन चुनौतीपूर्ण थियो । तर, उनी पछाडि हटिनन्, उनको नेतृत्वमा अस्पतालले कोभिड–१९ संक्रमित भएका ५ सय प्रहरी भर्ना गरेर उपचार सेवा दियो । त्यसबाहेक सिभिल नागरिकसमेत गरेर ४ हजार बढी कोभिड–१९ संक्रमितको प्रहरी अस्पतालमा निःशुल्क उपचार भयो । सक्रियताका साथ लागेर पिसिआर ल्याब स्थापना गरिन् । ‘चुनौती लिएर काम गरियो,’ उनी भन्छिन् ।

डा. आशाले अस्पतालको स्तरोन्नतीमा पनि काम गरिन् । उनले १५० बेडको प्रहरी अस्पताललाई ३ सय बेडमा रुपान्तरण गरिन् । यो उनी निर्देशक भएपछि उपलब्धि हो । सेवासुविधाको हकमा बहालवाला प्रहरी र भूतपूर्व प्रहरीलाई निःशुल्क औषधी उपचारको व्यवस्था गरिन् ।

अहिले प्रहरी अस्पतालमा न्युरो र कार्डियोथोरासिकबाहेक सबै विभाग छन् । उच्च पदमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्न पाउँदा डा. आशा दंग छन् । ‘सेवाग्राहीलाई राम्रो सेवा दिन पाउँदा खुसी हुन्छु,’ उनले आफ्नो खुुसीको कारण सुनाइन् । काम गर्दा शतप्रतिशत दिने उनको बानी छ । अस्पतालमा चिकित्सक, नर्स र अन्य कर्मचारी गरी ५ सय ७२ जना जनशक्ति छन् । सबैको कमाण्ड गर्दा मुख्य चुनौती स्रोत साधनको व्यवस्थापन हो । तर, उनले त्यसको कुशलतापूर्वक व्यवस्थापन गरेकी छन् ।

डा. आशाको अबको लक्ष्य प्रहरी अस्पतालको सेवा–सुविधालाई बढाउने, जनशक्तिलाई प्रोत्साहन गर्ने र अस्पताललाई शिक्षण संस्थातिर लैजाने हो । ‘हामीसंग स्रोत साधन जनशक्ति पनि छ,’ उनले भनिन्, ‘शैक्षिक संस्थामा अस्पताललाई लैजाने सोच छ ।’ जनशक्ति खुसी भएनन् भने नतिजा राम्रो आउँदैन भन्ने पनि उनलाई थाहा छ । त्यही कारण कर्मचारीका समस्या, तालिम, छुट्टीजस्ता कुरामा उनी विशेष ख्याल राख्छिन् । सुरुमा उनी निजीमा प्रायक्टिस गर्थिन् । अहिले गरेपनि त्यसलाई कम गरेकी छन् ।

अस्पतालबाट घर पुगेपछि उनी श्रीमती, आमा भएको हुँदा त्यहीअनुसार भूमिका निर्वाह गर्छिन् । उनको फुर्सदको समय खासै हुँदैन् । घुम्न मनपर्ने भएकाले कहिलेकाही समय मिलेमा उनी घुम्न निस्कन्छन् । कोभिड र कामले अहिले त्यो कम भएको छ । फुर्सद हुँदा बारीमा जाने, बोटविरुवा स्याहार्ने उनको सौख हो ।

पहिरनमा पनि उनी त्यति चुजी छैनन् । उनलाई सारी लगाउन मनपर्छ । त्यसबाहेक आफ्नो परम्परागत पहिरन लगाउन मनपर्छ । साधारण नेपाली खाना दाल, भात, अचार उनको रोजाइ हो । गीतहरु सुन्न मन पराउने उनी भारतीय गीत, भजन पनि सुन्ने गर्छिन् । गीत बजाउँदै काम गर्न उनलाई मन पर्छ ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #अमृत साइन्स क्याम्पस, #किङ एडवर्ड मेडिकल युनिभर्सिटी, #चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), #डा. आशा सिंह, #डा. रमेश सिंह, #त्रिचन्द्र कलेज, #त्रिवि शिक्षण अस्पताल, #नेपाल प्रहरी अस्पताल, #पोस्ट ग्राजुयट मेडिकल इन्स्टिच्युट, #मधुवन, #महेन्द्र भवन स्कुल, #लाहोर, #लेडी हार्डिङ मेडिकल कलेज, #सर्लाही रामनगर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ