२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलदयालक्ष्मी : जसले ४४ वर्ष नर्सिङमा बिताइन्

दयालक्ष्मी : जसले ४४ वर्ष नर्सिङमा बिताइन्

जसले ११ दिनसम्म साल ननिस्केकी सुत्केरीलाई रगत दिएर बचाइन्


दयालक्ष्मी जोशीले ४४ वर्ष नर्सिङ पेशामा बिताएकी छन् । दयाले अस्पतालमा बिरामीहरुको सेवामा मात्र सिमित नभएर देशमा क्यान्सर नर्सिङ जनशक्ति उत्पादनमा सेवा पु¥याउन पनि मुख्य भूमिका खेलिन् । उनी काठमाडौं विश्वविद्यालयकी एसोसियट प्रोफेसर भएर क्यान्सर नर्सिङ विषय पढाउने पहिलो महिला हुन् ।

‘ऊ आई बुबा टोकुवा’ बाटोमा हिड्दा होस् वा साथीहरुसँग खेल्दा उनी एउटै शब्द सुन्थिन् । उनी जन्मेको ४ महिनामा उनका बुबाको मृत्यु भएको थियो । त्यही कारण उनीमाथि छिमेकीले दोषारोपण गर्थे । दया ठूली हुँदै गएपछि उनलाई सबैले यो त ‘बुवा टोक्वा हो नि’ भन्दा उनको मन छियाछिया हुन्थ्यो । तर, उनले विस्तारै यस्ता कुरालाई नसुनेझै गर्न थालिन ।

वि.सं.२०१२ पुस १५ मा भक्तपुरको सुर्यविनायक—९ मा संयुक्त परिवारमा जन्मेकी हुन्, उनी । जन्मेको चार महिनामा बुवा र त्यसको केही समयपछि उनका ठूला बुवाको निधन भयो । सानो खेतीमा निर्भर उनको परिवारमा बुबा र ठूलो बुबाको मृत्युपछि निकै ठूलो आर्थिक संकट प¥यो । त्यसपछि उनकी आमा र ठूलीआमा कालो टोपीमा धागो भर्ने काम गर्न थाले । त्यसैबाट घर खर्च चल्थ्यो ।

सानैदेखि आमाको संघर्षलाई नजिकबाट नियालेकी दया आमालाई धेरै काममा सघाउँथिन् । ठूली हुँदै गएपछि उनी स्वयंम पनि कालो टोपीमा धागो भर्ने काम गर्न थालिन् । एक दिन कालो टोपीमा धागो भरिरहेको समयमा उनकै गाउँकी मन केसी दिदी त्यहाँ आइन् । ९ वर्ष भइसकेकी दयालाई घरकै काममा व्यस्त देख्दा मनले उनलाई सोधिन्, ‘दया स्कुल जान्छौं ?’ स्कुल जान मन हुन्न् तिमीलाई ?’

मन दयाभन्दा उमेरमा अली ठूली थिइन् । नयाँ काम सिक्न सानैदेखि इच्छा भएकी दयालाई स्कुल जान त मन थियो । तर, आमाले के भन्छिन् भन्ने कुराले सतायो । स्कुल भन्नासाथ उनकी आमाले भनिन्, ‘केटी मान्छेले स्कुल गयो भने चाँडै पोइल जान्छन् ।’ कान्छा बाजेले पनि ‘छोरी पढाउनु हुन्न बिग्रिन्छन्’ भने । तर, कान्छा बाजेका छोराले छोरी पढाउनुपर्छ भनेपछि दयालाई स्कुल जान अनुमति दिइयो ।

त्यसपछि उनी मनको पहलमा भक्तपुरको कन्या निम्न माध्यमिक विद्यालयमा पढ्न थालिन् । जहाँ पैसा तिर्न पर्देन्थ्यो । आज घरमा काम छ विद्यालय नजा भनेर आमाले कर गर्दा पनि खाना नै नखाई भागेर स्कुल जान्थिन् । उनले कन्या निम्न माध्यमिक विद्यालयमा कक्षा ८ सम्म पढिन् । थप शिक्षाका लागि निजी स्कुल सरस्वती मावि जानुपर्थो । त्यहाँ पढ्न पैसा लाग्थ्यो । आमाले भनिन्, ‘पैसा कसले पैसा दिन्छ ? स्कुल नजाउँ ।’

भनिन्छ, ‘खाने मुखलाई जुँगाले छेक्दैन्’ तर दयाको इच्छाशक्तिलाई आर्थिक अभावले छेक्न सकेन् । घरको पारिवारिक र आर्थिक अवस्थाबारे सरलाई जानकारी गराउँदैं उनले आफूलाई पढ्न धेरै मन भएको सरहरुलाई भनिन् । उनको कुरा सुनेपछि सरस्वती माविमा उनले बिना शुल्क भर्ना हुने अवसर पाइन् ।

दया बिदाका दिन टोपीमा धागो भर्ने काम गर्न थालिन् । एउटा टोपीमा धागो भरेको तीन रुपैयाँ आउँथ्यो । टोपीमा धागो भरेको पैसा जम्मा गरेर स्कुलमा चाहिने कापी कलम किन्थिन् । घरमा कुखुरा पालेका थिए । कुखुराको अण्डा बजारमा बिक्री गर्थिन, त्यहाँबाट २५ पैसा÷एक रुपैयाँ आमालाई नदिइकन लुकाउँथिन् । त्यही लुकाएको पैसाबाट कापी, कलम किन्नका जोगाएर राख्थिन् । किताब आफूभन्दा अघिल्लो क्लास पढिसकेका साथीहरु माग्थिन् । यसरी सरस्वती माविबाट एसएलसी दिइन् ।

नर्सिङ सपनादेखि वास्तविकतासम्म

त्यतिखेर सुर्यविनायकमा युनाइटेड मिसन नेपाल नामको अस्पताल थियो । उनकै स्कुलका दिदीहरु त्यहाँ नर्स भएरमा काम गर्थे । काउन्टरमा मान्छे चाहिएको रहेछ । दयाले त्यहाँ काम पाइन् । बिहान ८ बजेदेखि ३ बजेसम्म उनको ड्युटी हुन्थ्यो ।

कहिलेकाहीँ बिरामी धेरै भएको दिन उनले ५ बजेसम्म पनि काम गर्नुपथ्र्यो । २० रुपैयाँ महिनाको पारिश्रमिक भएपनि बढी समय काम गरे वापत महिनामा थप ५ रुपैयाँ पाउने गर्थिन् । त्यसबाट २० रुपैयाँ आमालाई दिएर बाँकी ५ रुपैयाँ उनले आफ्नो उच्च शिक्षाका लागि जोगाउन थालिन् ।

त्यही काम गर्दा उनले नर्स बन्ने सपना बुन्न थालिन् । केही महिनापछि एसएलसी को नतिजा आयो । उनी पास भइन् । त्यहाँ काम गर्ने डाक्टरहरुले नै उनलाई नर्स पढ्न इनकरेज गरे । उनी ललितपुरस्थित शान्ता भवन नर्सिङ क्याम्पसमा पढनका लागि तयारी गर्न थालिन् । इन्ट्रास दिइन्, नाम निस्कियो । पढ्न जाने एक दिन पहिले मात्रै उनले आफू नर्सिङ् पढ्न जाने भनेर आमालाई सुनाइन् । उनकी आमालाई नर्सिङ् के हो भन्ने थाहा थिएन् । त्यही कारण आमाले एकजना आफन्तको घर गएर सल्लाह मागिन् । ती आफन्तले ‘राम्रो हो पढ्न देऊ’ भनेपछि बल्ल आमाले स्वीकृती जनाइन् ।

नर्सिङ् पढ्न जान के—के चाहिन्छ भनेर उनले आफूभन्दा सिनियर दिदीहरुलाई सोधेकी थिइन् । उनीहरुले भनेअनुसार दयाले एउटा घडी र दुईवटा बेडमा लगाउने तन्ना किनिन् । त्यतिखेर १० रुपैयाँमा रसियन घडी आउँथ्यो । ललितपुरको कलेजमा आवात—जावत गर्न महिनामा उनको ५० रुपैयाँ जति खर्च हुन्थ्यो । उनले वि.सं. २०२३ सालमा स्टाफ नर्स पास गरिन् ।

२१ वर्षमा नर्स : रगत दिएर गर्भवतीको ज्यान जोगाउँदा…

लगतै उनको जागिर गोरखामा भयो । उनले आमालाई सँगै लिएर गोरखा गइन् । गोरखा आमपिपलमा मिसन अस्पताल संचालनमा थियो । त्यही अस्पतालमा उनले जागिर पाएकी थिइन् । अस्पतालबाट १० मिनेट जति लाग्ने डाँडामाथि उनको बस्ने क्वार्टर थियो । अस्पताल अल्ली तल समथलमा थियो । ५० शैय्या अस्पतालमा क्वालिफाइड नर्स उनी एक्ली थिइन् ।

भर्खर २१ वर्षकी दयालाई त्यहाँ काम गर्न त्यति सहज भने भएन् । रातिको समय क्वार्टरबाट अस्पताल आउन १० मिनेट लाग्थ्यो । बाटोमा रक्सी खाएर केटा मान्छे हिडिरहेका हुन्थे । राति क्वार्टरको ढोका ढकढकाउन आउने गर्थे । तर, उनी कहिल्यै डराइनन् । कसैको वास्ता नगरी उनी अस्पताल गएर घर फर्किथिन् ।

क्वार्टरको पूर्वपट्टी एउटा झ्याल थियो, त्यही झ्यालबाट अस्पताल पूरै देखिन्थ्यो । रातिको समयमा अस्पतालबाट रातो आगोको उज्यालो आउँथ्यो । उज्यालो देख्नेबित्तिकै उनी झ्यालबाट बाहिर हेर्थिन् । त्यो उज्यालो अस्पतालमा आउने बिरामीको हुन्थ्यो । अस्पतालतर्फ उज्यालो आयो भने उनी हतार—हतार क्वार्टरबाट अस्पतालतर्फ दौडिन्थिन् । रातिको समयमा टाढा—टाढाबाट अस्पतालमा बिरामी बोकेर आउने मान्छेले उज्यालोको लागि दाउँरामा कपडा बेरेर बनाएको राँको जलाएर आउथे । उज्यालो देख्यो कि बिरामी आएको भनेर बुझ्नुपथ्र्यो ।

गोरखाको त्यो ठाउँका बिरामीहरुको अवस्था एकदमै नाजुक हुन्थ्यो । मानवता के हो उनले त्यतिखेर बुझिन्, जतिबेला अस्पतालमा दुई दिनदेखि खाना नै नखाएर बसेका सुत्केरीहरु आउँथे । एक छाक पनि खान नपाउने उनीहरुको अवस्था देख्दा उनी निकै भावुक हुन्थिन् । कति पटक त उनले आफ्नै क्वार्टरबाट पकाएर ल्याएको खाना त्यहाँका सुत्केरीहरुलाई खान दिइन् । काम गर्दैगर्दा सेवा के हो भन्ने कुरा उनले राम्रोसँग बुझ्न पाइन् ।

गोरखा अस्पतालमा काम गर्दागर्दै एकजना सुत्केरी ९ घण्टा हिडेर अस्पतालमा पुगेकी थिइन् । ती महिलाको ११ दिनदेखि साल अड्केको रहेछ । महिलाका आठ वटा बच्चाहरु थिए । उनलाई परिवार नियोजनको बारेमा केही पनि थाहा थिएन । त्यसरी ९ बच्चा जन्माउँदा उनको साल अड्केको रहेछ । ११ दिनदेखि घरमै घरेलु उपचार गरेर साल झर्छ भनेर अस्पताल नआएकी रहिछन् । उनको अवस्था एकदमै नाजुक थियो । उनको शरीरका रगतको कमी थियो ।

११ दिनदेखि रहेको साल कुहिएर उकदमै दुर्गन्धित थियो । डाक्टरसँग मिलेर उनले त्यो साल निकाल्न सहयोग गरिन् । त्यतिखेर बिजुली वत्ती थिएन्, जेनेरेटर बालेर डाक्टरहरुले शल्यक्रिया गर्थे । ती महिलालाई रगतको कमी भएको हुँदा रगत पनि दया आफैले र अरु स्टाफहरुले दिए । उनको ज्यान जोगियो ।

डेढ महिनापछि ती महिलालाई सकुशल डिस्चार्ज गरियो । त्यो घट्ना उनको जीवनको कहिले नर्बिसने घटना हो । आफूले रगत दिएर एक सुत्केरी महिलाको ज्यान बचाएको दिन उनको जीवनको एकदमै अविस्मरणीय पल थियो । १७ महिना गोखामा काम गरेर उनी पुनः शान्ता भवन फर्किइन् ।

दयालक्ष्मीले वि.सं. २०३५ सालसम्म शान्ता भवनमै काम गरिन् । त्यतिखेर हिमालय चढ्दा औंलामा समस्या भएका फ्रान्सेली अस्पतालमा धेरै आउँथे । ती फ्रान्सेलीहरुसँग कुरा गर्न केही साथीहरुसहित दयाले काठमाडौंमै फ्रान्सेली भाषा सिकिन् । त्यसपछि उनलाई त्यही भाषमा थप अध्ययन गर्न मन लाग्यो । उनी २ वर्षका लागि फ्रान्स गइन् ।

फ्रान्सदेखि केयुको एसोसिएट प्रोफेसरसम्म

फ्रान्सबाट फर्केर आएपछि उनी वीएन पढ्न थालिन् । वि.सं. २०४४ सालमा उनले बीएन पनि सकिन् । त्यसपछि भरतपुर क्यान्सर हस्पिटलले आयोजना कान्तिपुरमा क्यान्सर नर्सिङ तालिमको लागि आवेदन खुल्यो । त्यसमा छनोट भएपछि उनी अस्ट्रेलियामा १५ महिनाको तालिममा गइन् । त्यहाँबाट फर्केर उनले निन्तर बिरामीको सेवामा तल्लीन रहिन् । वि.सं. २०५५ मा माष्टर्स पढ्न उनी पुनः अस्ट्रेलिया गइन् । त्यसपछि भरतपुर क्यान्सर अस्पतालमा लगातार २१ वर्ष सेवा र अध्यापनमा बिताइन् ।

वि.सं. २०७९ सालमा भरतपुर क्यान्सर अस्पतालबाट राजीनामा दिइन् । त्यतिखेर उनले क्यान्सरको सेवा मात्र दिएर हुँदैन क्यान्सर नर्सिङ विषय पठ्नपाठन गराएर अरु नर्सहरु उत्पादन गरी सिकाउनुपर्छ भन्ने महसुस गरिन् । उनी काठमाडौं युनिभर्सिटी (केयु)मा एसोसिएट प्रोफेसर भइन् । तीन महिनाअघि उनले आमाको हेरचाहमा तल्लीन रहन केयुको जागिर पनि छाडिन् । दयालक्ष्मीकी आमा अहिले ९२ वर्षकी भइन् । जीवनका ४४ वर्ष नर्सिङ पेसामा बिताएकी दयालक्ष्मी भन्छिन्, ‘कुनै पनि काम अप्ठ्यारो हुँदैन् । आफूले मेहनत गरे काम सहज लाग्न थाल्छ र लक्ष्य प्राप्त हुन्छ ।’

४० वर्षमा विवाह

‘उमेर कटिसकेकी छोरी बिहे गर्नुपर्छ’ दया कि आमा सधै भन्थिन् । ४० वर्षमा उनले हुन्छ भनेपछि घरबाटै उनको विवाहको कुरा चलाइयो । वि.सं. २०५२ साल मा उनले ४० वर्षको उमेरमा विवाह गरिन् । विवाहपछि श्रीमानले उनलाई सदैव साथ र सहयोग गरे । कहिले काममा रोकटोक गरेनन् ।

विवाह ढिलो गरेपनि यसले उनको जीवनमा थप उर्जा मिल्यो । उनको एउटा छोरा छन् । दुर्भाग्य, छोरा ११ वर्षको हुँदा वि.सं. २०७१ मा उनका श्रीमानको दमका कारण निधन भयो । जीवन र मृत्यु, दुःख र सुखलाई नजिकबाट देखेकी उनी हरेर नखाएर निरन्तर सेवामा डटिरहिन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ