२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलप्रा. डा. ममताः जसले विपी र केएमसीमा प्याथोलोजीको जग बसाइन्

प्रा. डा. ममताः जसले विपी र केएमसीमा प्याथोलोजीको जग बसाइन्


प्रा.डा.ममता लाखे वरिष्ठ प्याथोलोजिष्ट एवं लाजिम्पाटस्थित शुक्रा डाइग्नोष्टिककी अध्यक्ष हुन् । काठमाडौं मेडिकल कलेजमा २० वर्ष र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्ष लामो समय अध्यापन र डाइग्नोसिसमा बिताएकी उनी पुराना प्याथोलोजिष्टहरु मध्येमा पर्छिन् । हाल डा. लाखेले शुक्रामा अध्यक्षसँगै ल्याब चिफका रुपमा पनि काम गरिरहेकी छन् ।

डा. ममता शुक्राहरुको पहिलो टार्गेट गुणस्तरीय रिपोर्ट, दोस्रो नेपालमा नहुने र बाहिर पठाउनुपर्ने टेष्टहरु नेपालमै गर्नु रहेको बताउँछिन् । ‘बाहिर जानुपर्ने बिरामीहरुलाई अब हामी बाहिर नपठाऔं भन्ने छ,’ उनले सुनाइन्, ‘सकेसम्म यहाँ नै गर्ने हो ।’ त्यहीकारण शुक्राले प्रयोगशालामा लेटेष्ट उपकरणहरु भित्र्याएको उनले भनाइ छ ।

झण्डै ३३ वर्षदेखि बिरामीको रोग निदान, अध्यापन र अनुसन्धानमा अहोरात्र खटिरहेकी डा. ममताको जन्म १९६५ मा झापाको भद्रपुरमा भएको हो । त्रिरत्नलाल श्रेष्ठ र सुभद्रादेवी श्रेष्ठका ७ सन्तानमध्ये उनी सबैभन्दा कान्छी हुन् । उनका बुवा व्यापारमा संलग्न थिए भने आमा गृहणी ।

उनका बुवा पढेलेखेका थिए । छोराछोरीहरुको शिक्षादीक्षामा उनले विशेष ध्यान दिए । त्यही कारण डा. ममता, उनका दाजु र दिदीबहिनी सबैको शिक्षादीक्षा भारतका राम्रा स्कुलमा भएको हो । डा. ममता शिक्षाकै लागि भनेर छ/सात वर्षकै उमेरमा भारत गइन् । ‘भद्रपुरमा जन्मिएपनि मेरो सबै अध्ययन भारतमा भयो,’ उनी भन्छिन् ।

उनको प्रारम्भिक शिक्षादीक्षा भारतको माटीगरास्थित सेन्ट जोसेफ्स स्कुलबाट प्रारम्भ भएको हो । सेन्ट जोसेफ्सको उत्कृष्ट शैक्षिक वातावरणमा दीक्षित हुने अवसर पाएकी उनी त्यहाँको सामान्य जीवनशैलीबाट प्रभावित थिइन् । ‘सामान्य जीवनशैली थियो तर धेरै पढ्नुपथ्र्यो,’ उनले सिलुगुडीको स्कुल जीवन स्मरण गरिन्, ‘अनुशासन एकदम धेरै सिकाइन्थ्यो ।

स्कुल जीवनमा डा. ममतालाई सबैभन्दा बढी मनपर्ने विषय विज्ञान थियो । उनी पढाइसँगै खेलकुदमा पनि सक्रिय थिइन् । एक सय मिटर, दुई सय मिटर दौडमा उनी जहिल्यै फस्ट हुन्थिन् । बाँस्केटबल, क्रिकेट पनि उनको रोजाइका खेलहरु थिए । ‘त्यो बेला बंगालमा क्रिकेट एकदम फेमस थियो,’ उनले सुनाइन्, ‘क्रिकेट पनि खेल्थें ।’

सेन्ट जोसेफ्सबाट उनले उनले सन् १९८९ मा एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि थप उच्च शिक्षाका लागि उनी दार्जिलिङ गइन् । दार्जिलिङबाट उनले विज्ञानमा प्लस टु उत्तीर्ण गरिन् । उनका लागि एक जना डाक्टर दिदी रोलमोडल थिइन् । ती डाक्टर दिदीले गर्ने सामाजिक सेवालगायतका कुराहरुबाट पनि डा. ममता निकै प्रभावित थिइन् । त्यसबाहेक उनको फ्यामिलीका अन्य नातेदारहरु पनि डाक्टर थिए, यी सबै कुराले उनलाई डाक्टर बन्न प्रेरित गरेको हो । ‘त्यतिबेला हामी कमाउनेभन्दा पनि सेवा कै उद्धेश्यले डाक्टरी रोजेको हो,’ उनी थप्छिन् ।

एमबीबीएसमा अवसर पाउनु त्यो बेला त्यति सहज थिएन् । प्लस टु सकेपछि नेपाल आएर अस्कलमा बीएस्सी ज्वाइन गरिन् । त्यो बेला एमबीबीएसका लागि विभिन्न ठाउँमा अप्लाई गरेर अवसरहरु खोजी गर्नुपथ्र्यो । ‘पाइन्छ कि पाइदैन् थाहा हुने अवस्था थिएन्,’ डा. ममता भन्छिन्, ‘राजदूतावासअन्तर्गत अप्लाई गर्नुपथ्र्यो ।’ उनले झण्डै दुई महिनापछि भारतमा एमबीबीएस अध्ययन गर्न पाउने निश्चित भयो । त्यसपछि अस्कलको दुई महिनाको पढाइलाई त्यही विट मारेर उनी डाक्टरी अध्ययन गर्न भारत गइन् ।

भारतको कलकत्तास्थित निल रत्न सरकार मेडिकल कलेजबाट उनले एमबीबीएस गरिन् । एमबीबीएस सकेर डाक्टर बनेपछि उनी काठमाडौं फर्किइन् । प्रसुति गृहमा एक वर्ष सेवा गरिन् । धरानस्थित क्षेत्रीय अस्पताल उनकी दिदी काम गर्दै थिइन् । डा. ममता पनि त्यही गइन् । धरान क्षेत्रीय अस्पतालमा दुई तीन वर्ष बिरामी सेवामा बिताइन् ।

त्यसपछि क्षेत्रीय अस्पताल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्यो । उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिन् । ‘सुरुमा ५—६ जना डाक्टरहरु थियौं,’ अहिलेको सबैभन्दा ठूलो विपी प्रतिष्ठानको सुरुवाती कथा सुनाइन्, ‘त्यहाँ मैल हाउस अफिसरको रुपमा काम गरें ।’ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै उनलाई पोष्ट ग्रयाजुएसन अध्ययनका लागि भारत पठाइयो । भारतको जवाहरलाल इन्स्टिच्युट अफ पोष्ट ग्रयाजुयट मेडिकल एजुकेसन एण्ड रिसर्चबाट प्याथोलोजीमा एमडी गरिन् । ‘त्यति बेला प्याथोलोजीको गहिराई पनि थाहा थिएन,’ उनले भनिन्, ‘गाइनोका मेरा दुई जना दिदीहरु एकदमै व्यस्त हुनुहुन्थ्यो । त्यो व्यस्त लाइफ देखेर मैले प्याथोलोजी रोजेकी हुँ ।’

हुनत उनको इच्छा रेडियोडाइग्नोसिसमा पनि थियो । सिट पनि खाली नै थियो । तर, त्यतिबेला उनको भर्खर बिहे भएको थियो । रेडियोडाइग्नोसिसमा एक्सपोज हुने डरले उनले प्याथोलोजी नै रोजेको उनी बताउँछिन् । प्याथोलोजीमा विशेषज्ञता हासिल गरेर सम्झौताअनुसार नै उनी फर्किएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिन् । त्यहाँ उनको ५ वर्षे करार सम्झौता थियो । डा. ममता विपीको विभागीय प्रमुख समेत भइन् ।

‘प्याथोलोजी मेडिसिनको ब्याक बोन हो,’ डा. ममता भन्छिन्, ‘सबैजसो रोगको डाइग्नोसिस नै प्याथोलोजीबाट हुन्छ ।’ नेपालमा त्यतिबेला प्याथोलोजीलाई त्यति गनिदैंन थियो । ‘प्याथोलोजी त्यही रगत, दिसा, पिसाबको डाक्टर भनिन्थ्यो,’ उनले अनुभव साटिन्, ‘तर, इन्डियामा गएपछि प्याथोलोजीको महत्व एकदम थाहा हुन्छ ।’ कतिसम्म भने उनी पढेको इन्स्टिच्युटमा अरु विभागका डाक्टरहरु समेत आएर गाह्रो केसहरुका बारेमा ल्याब रिपोर्टका बारेमा प्याथोलोजिष्टहरु सँगै बसेर छलफल चलाउँथे । त्यही महत्वलाई बुझेर विपीमा विशाल प्याथोलोजी विभाग बनाइएको अनुभव उनको छ ।

पाँच वर्ष विपीमा काम गरेपछि उनले काठमाडौं फर्किने निर्णय लिइन् । समग्रमा हाउस अफिसरसमेत गरेर उनले झण्डै १२ वर्ष बिरामी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेर बिरामी सेवामा बिताइन् । ‘अब एक पटक काठमाडौं पनि आउनुपर्‍यो भनेर काठमाडौं आए,’ उनले भनिन्, ‘छोरा एक जना छ । उसको लागि झन बेटर हुन्छ कि भन्ने लाग्यो ।’ विपीमा लामो समय बस्दा उनले प्रतिष्ठानको विकासमा धेरै योगदान पनि दिइन् ।

काठमाडौं आउनु कारणमध्ये एक विरभानशमशेरजंग बहादुर राणा पनि थिए । तत्कालीन समयमा काठमाडौं मेडिकल कलेज (केएमसी)का निर्देशक रहेका राणा उनकी दिदीका साथी थिए । राणाले साथीकी बहिनी राम्रो इन्स्टिच्युटबाट प्याथोलोजी पढेर आएको भनेर थाहा पाएछन् । त्यसपछि केएमसीको विभाग सेटअपटका लागि उनलाई नै गुहारे । ‘केएमसीमा हाम्रो प्याथोलोजी स्टाफ अलिकति मात्रै छ । तिमीले आएर केही बनाइदिन्छ कि सेटअप गरिन्छ कि भन्नुभयो,’ उनले सुनाइन् ।

राणाले नै उनलाई केएमसीमा भेट्न बोलाएका थिए । त्यही क्रममा प्याथोलोजी विभाग हेर्न भने । ‘डिपार्टमेन्ट अफ प्याथोलोजी एउटा कोठामा थियो । छक्क परें,’ डा. ममता भन्छिन्, ‘जनशक्ति पनि थिएन ।’ त्यही कुरा उनले राणालाई सुनाइन् । राणाले भने, ‘डिपार्टमेन्ट बनेको भए म तिमीलाई किन बोलाउँथे । त्यही बनाउनलाई बोलाएको हुँ । विभाग बनाउन विपीमा गरेको अनुभव लगाऊ ।’ डा. ममता काठमाडौं मेडिकल कलेजमा ज्वाइन गरिन् । विपीको प्याथोलोजी सेटअपमा काम गरेको अनुभव पनि उनले त्यहाँ प्रयोग गरिन् । अहिलेको केएमसीको प्याथोलोजी विभाग उनले नै सेटअप गरेकी हुन् ।

विपीमा एशोसिएसट प्रोफेसर रहेकी डा. ममताले केएमसी पनि एशोसियट प्रोफेसरकै रुपमा प्रवेश गरेकी थिइन् । काठमाडौं विश्वविद्यालयमा उनी केएमसी आउनुअधि प्याथोलोजीमा पिजी सुरु भएको थिएन् । उनी आएपछि केयुले प्याथोलोजीमा पिजी सुरु गरेको उनी बताउँछिन् । प्रा. डा. चन्दा कार्कीसँग पनि उनको लामै सहकार्य भयो । ‘डा. चन्दालाई म चन्दा दि भन्थें । किनभने, उहाँ कलकत्तामा पढ्नुभएको हो,’ उनी भन्छिन्, ‘मेरो दिदी पनि कलकत्ता नै पढ्नुभएको, उहाँ दिदीभन्दा एक वर्ष सिनियर हो ।’ उनी पछि केयुमा प्राध्यापक भइन् । केएमसीमा विभागीय प्रमुख मात्रै होइन्, भ्वाइस प्रिन्सिपलका रुपमा पनि जिम्मेवारी सम्हालिन् ।

प्रशासनिकभन्दा एकेडेमिक काममा बढी रुचि राख्ने भएकाले डा. ममताले भ्वाइस प्रिन्सिपलका रुपमा एक वर्षमात्रै काम गरिन् । ‘मलाई एकेडेमिक एकदम मनपथ्र्यो । विपीमा पनि टिचिङ नै गरेको हो । यहाँ पनि डाइग्नोसिस र पढाउनेमा एकदम इच्छा थियो,’ उनले भनिन्, ‘डा. चन्दा प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँले तिमी हुनैपर्छ मलाई हेल्प गर्न भन्नुभयो । एक वर्ष हेल्प गरें । त्यसपछि डाइग्नोसिस र पढाउनेमा ब्याक भए ।’

डा. ममताले केएमसीमा अन्डर ग्रयाजुयटलाई १८ वर्ष पढाइन् । पोष्ट ग्राजुयसन पनि पढाइन् । सुरुमा प्रयोगशाला र पिजी अध्यापनका लागि आवश्यक साामग्री थिएनन् । उनले त्यसको माग गर्दै दुई वर्ष पिजीको अध्ययन नै रोकिदिइन् । त्यसपछि पिजीका लागि आवश्यक उपकरण र पूर्वाधार बनाउन व्यवस्थापन तयार भएपछि पढाइ अगाडि बढ्यो । उनले केएमसीमा २० वर्ष काम गरिन् । यो अवधिमा हजारौं बिरामीहरुको रोग निदानमा मात्रै भूमिका निभाइनन्, प्राध्यापकका रुपमा सयौं विद्यार्थीलाई आफूले सिकेको ज्ञान बाँडिन् ।

यहीबीच केएमसीमा नयाँ व्यवस्थापन आयो । नयाँ व्यवस्थापन आएपछि धेरै कुरा बदलिएको अनुभव उनलाई भयो । ‘नयाँ व्यवस्थापन आएपछि जुन दृष्टिकोणले हामीले त्यहाँ पढायौं, काम गर्‍यौं । त्यो अलि फरक भयो,’ उनले भनिन्, ‘हाम्रो त्यहाँ आवश्यकता छैन जस्तो लाग्यो, अनि छोडे ।’ गत जनवरी १५ मा डा. ममतासहित पुरानो टिमका धेरैले केएमसी छाडे ।

केएमसीमा रहेकै बेलादेखि उनले चाबहिलस्थित मेडिकेयरमा साँझपख १—२ घण्टा समय बिरामीलाई दिन्थिन् । डा. ममता त्यो बेला एमडी गरेको विशेषज्ञ प्याथोलोजिष्टको अभावका कारण आफू मेडिकेयर ज्वाइन गरेको बताउँछिन् । ‘जहाँ म काम गर्छु, त्यहाँ कमाउनेभन्दा पनि सेवाभावले काम गर्छु,’ उनी भन्छिन्, ‘केही फरक होस् भनेर गर्छु ।’ विद्यार्थीलाई पढाउँदा पनि उनी बिरामीहरुलाई चिन्नुपर्छ भन्ने जोड दिइरहन्थिन् । ल्याब टेस्ट मात्रै गरेर हुँदैन्, बिरामीको चेक जाँच गरेपछि मात्रै रिपोर्टहरु असरदार हुन्छ भन्ने उनको मान्यता छ ।

केएमसीबाट छोडेपछि उनी केही समय मेडिकेयरमा बिताइरहेकी थिइन् । त्यहीबेला एकदिन डा. राकेश साह र डा. नवीनलगायतको टिम उनी कहाँ पुग्यो । उनीहरुले डा. ममतालाई आफूहरुले अत्याधुनिक प्रयोगशाला स्थापना गर्न लागेकाले त्यसको नेतृत्व लिइदिन आग्रह गरे । अधिकांश समय मेडिकल कलेजमा विद्यार्थी अध्यापन र बिरामीको डाइग्नोसिसमै बिताएकी उनका लागि यो नौलो प्रस्ताव थियो ।

‘पूरै समय मेडिकल कलेजमा पढाए, दुःख गरे । स्टुडेन्टहरु प्रडक्ट गरें । प्याथोलोजी बनाए,’ उनले भनिन्, ‘तर, उहाँरुले चेयर भइदिनुप¥यो भन्नुभयो । मैले भने धेरै गरें, अब म लाइफमा इन्जोय गर्न चाहन्छु ।’ तर, डा. राकेशहरुको टिमले आफूहरुले सबै काम गर्ने र गार्जेनका रुपमा गाइड गर्दिन आग्रह गर्‍यो । त्यसपछि डा. ममताले त्यो प्रस्तावलाई स्वीकार गरिन् । र, ‘शुक्रा डाइग्नोसिस सेन्टर’मा ज्वाइन गरिन् ।

निरन्तर भइरहने प्याथोलोजी टेष्टबाहेक डा. ममता आजकल बढी ट्युमर डाइग्नोसिसमा काम गर्छिन् । ‘जीउमा कही गाँठो आयो भने त्यहाँबाट सुई हालेर मासु झिक्ने, डाइग्नोस गर्ने । ब्रेस्टको, थाइराइडको, फोक्सोमा गाँठो छ भने अल्ट्रा साउन्ड गरेर बायोस्पी निकालिन्छ,’ उनले भनिन्, ‘कसरी चाडो र सही डाइग्नोसिस गर्ने, कसरी बिरामीले छिटो ट्रिटमेन्ट पाउँछ भन्ने सोच छ ।’

डा. ममतालाई ल्याबमा पुगेको बिरामी डाइग्नोसिस नलिएर फिर्ता नजाओस् भन्ने सदैव लागिरहन्छ । ‘बिरामी ल्याबमा आएर मेरो जानकारीमा आइसकेपछि त्यो बिरामी डाइग्नोसिस नलिइकन नजाओस्,’ उनी भन्छिन्, ‘मेरो ट्रेनिङ यस्तो भयो पिजीलाई पनि यही ट्रेन गरें । मेडिकेयरलाई पनि यही छ र यहाँ पनि यही गर्न चाहन्छु ।’ उनी आफूले बिरामीलाई छोइसकेपछि त्यहाँबाट उ अन्त कतै जानु नपरोस् भन्ने भावना राख्छिन् । बिरामीको रोग डाइग्नोसिस भएपछि उनलाई सबैभन्दा खुशी लाग्छ ।

जीवनशैली

३२ वर्ष लामो समय बिरामी सेवामा सक्रिय डा. ममताको सक्रियता अहिले केही कम भएको छ । ‘पहिला त म बाह्र घण्टा नै काम गर्थे । कम्तिमा १० घण्टा त गर्थे नै,’ उनले भनिन्, ‘अहिले अलिकति कम छ ।’ अहिले पनि बिरामीलाई जरुरी प¥यो भने उनको नाइनास्ति गर्ने बानी छैन्, पुगिहाल्छिन् ।

विहान ८ देखि ९ बजेसम्म मेडिकेयरमा नियमित बिरामीहरुको रोग निदानमा बिताउँछिन् । सिरियस आईसीयुका बिरामीहरु हेर्छिन् । त्यसपछि दिउँसोको समय लाजिम्पाटस्थित शुक्रा ल्याबमा बित्छ । त्यहाँ उनी बिरामीको ल्याब रिपोर्टहरुसँगै प्रयोगशाला गुणस्तर कायम गर्नेलगायतका काममा खटिन्छन् ।

डा. ममताको जीवनशैली पनि सामान्य छ । विहान तीन बजे नै उठ्ने बानी छ । त्यसपछि फ्रेस भएर ४ देखि ५ बजेसम्म युटयुबबाट प्रवचनहरु सुन्छिन् । चिया पिउँछिन् । त्यसपछि एक घण्टा एक्ससाइज गर्छिन् । अनि भान्सा गएर सासुलाई खाना र श्रीमानलाई टिफिन बनाउँछिन् ।

विहान ७ः४५ मा उनी कामका लागि हिडिसक्छिन् । दिनभरी काम गरेर थाकेपछि उनी राति नौं बजेसम्म सुतिसक्छन् । भेज खाना मन पराउने उनलाई माछा सबैभन्दा मन पर्छ । त्यसबाहेक कुखुराको मासु पनि अलिअलि लिन्छिन् ।

फुर्सदको समय आध्यात्म र प्रवचनहरु सुनेर बिताउने डा. ममताको घुमफिरमा पनि असाध्यैं रुचि छ । उनले धेरै ठाउँ त घुमी नै सकेकी छन् । ‘युरोपको धेरै ठाउँमा गइसकें,’ उनले भनिन्, ‘दक्षिण कोरिया, चीन, अमेरिका, बेलायत घुमिसके । जापान जाने रहर छ ।’ उनका छोराले आफै कमाएर जापान घुमाउन लैजाने भनेकाले अहिलेसम्म त्यही पर्खेर बसेको उनले सुनाइन् ।

डा. ममताको पहिरनमा पनि तडक—भडक छैन । एकदमै सामान्य लुगाहरुमै उनी आफूलाई फिट र सहज अनुभव गर्छिन् । गीत संगीत पनि उनलाई उत्तिकै मन पर्छ । हिन्दी, नेपाली गीतका धुनहरु सुनिरहन्छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #काठमाडौ मेडिकल कलेज, #प्रा.डा.ममता लाखे, #वरिष्ठ प्याथोलोजिष्ट, #वाहरलाल इन्स्टिच्युट अफ पोष्ट ग्रयाजुयट मेडिकल एजुकेसन एण्ड रिसर्च, #विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ