२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलयुवापुस्ताकी वाथ रोग विशेषज्ञ डा. अभिलाषा

युवापुस्ताकी वाथ रोग विशेषज्ञ डा. अभिलाषा

जसको वाथ रोग उपचार र जनचेतना अभिवृद्धिमा काम गर्ने रहर छ


डा. अभिलाषा शाह । नयाँ पुस्ताकी वाथरोग विशेषज्ञ हुन् । अहिले उनी नर्भिक र अल्का अस्पताल र आफ्नै क्लिनिक लोकहित वाथ रोग उपचार केन्द्र भैसेपाटीमा बिरामी हेर्छिन् । बिहानको पहिलो प्रहरमा उनी बिरामी हेर्न नर्भिक अस्पताल पुग्छिन् । त्यसपछि दिउँसो १ बजेसम्म अल्कामा बिरामी सेवामा बिताउँछिन् । साढे ३ बजेपछि भने उनी भैसेपाटीस्थित लोकहित वाथ रोग उपचार केन्द्रमा बिरामीको उपचारमा तल्लीन रहन्छिन् । त्यसबाहेक हप्तामा दुई दिन ग्वार्कोको मेडिकेयर सेन्टरमा पनि बिरामीलाई सेवा दिन्छन् ।

डा. अभिलाषा नेपालमा वाथ रोगका नयाँ—नयाँ किसिमका बिरामीहरु भेटिने गरेको अनुभव सुनाउँछिन् । भन्छिन्, ‘वाथ रोगका नयाँ—नयाँ किसिमका बिरामीहरु भेटिइरहेका छन् । एकदमै च्यालेन्जिङ छ, यसअघि नदेखेका रोगहरु पनि देखिइरहेका छन् ।’ अटोइम्युन सिष्टममा हुने गडबडीका कारण वाथ रोग हुने डा. अभिलाषाको भनाइ थियो । तर, धेरै सर्वसाधारणमा जोर्नीको दुखाइ अथवा युरिक एसिडलाई वाथ रोग भन्ने भ्रम छ ।

‘जब आफ्नै इम्युन सिष्टमले आफ्नै अंगहरुलाई नचिनेर असर गर्न थाल्छ, त्यसलाई वाथ रोग भनिन्छ,’ उनी प्रष्ट पार्छिन्, ‘वाथ रोगले शरीरको जुनसुकै अंगलाई असर गर्न सक्छ । आँखा, छाला, मुटु, मिर्गौलाजस्ता अंगहरुलाई असर गर्ने रोग हो ।’ वाथ रोगका बिरामीहरु गाह्रो भएर अस्पताल भर्ना भइसकेपछि झन चुनौतीपूर्ण हुने उनी बताउँछिन् ।

डा. अभिलाषाका अहिले पनि नेपालीहरुमा वाथ रोगबारे सचेतना धेरै अभाव रहेको अनुभव साट्छिन् । ‘अहिलेसम्म नेपालमा वाथ रोगका बिरामीहरु यति नै छन् भनेर स्टडी त भएको छैन,’ उनी भन्छिन्, ‘तर, धेरै जनाले अहिले पनि वाथ रोगमा झारफुक गरिरहेका हुन्छन् । कतिले पेनकिलर खाइरहेका हुन्छन् ।’ वर्षौदेखि पेनकिलर खाँदा त्यसले मिर्गौलालगायतका अंगमा पार्ने असर नजरअन्दाज गरिरहेको छन् । यसका साइडइफेक्टबारे मानिसहरु अनभिज्ञ छन् ।

त्यही कारण भविष्यमा वाथ रोग सम्बन्धि जनचेतना जगाउन काम गर्ने उनको चाहना छ । ‘अहिलेको समयमा मुटु रोग र मिर्गौला रोगबारेमा मानिसहरुमा जानकारी छ तर वाथ रोगबारे त्यति जानकारी छैन,’ उनी थप्छिन्, ‘जसका कारण मलाई वाथ रोगबारे अवारनेश फैलाउन मन छ ।’ यो रोगका क्षेत्रमा केही योगदान दिन सकियोस् भन्ने डा. अभिलाषाको चाहना छ । त्यसबाहेक उनलाई आफ्नो पुर्ख्यौली थलो जाजरकोटमा पनि स्वास्थ्यका क्षेत्र र वाथ रोगका क्षेत्रमा केही दीर्घकालीन काम गर्ने रहर छ ।

पुर्ख्यौली घर जाजरकोटी भएकी डा. अभिलाषाको जन्म वि.सं. २०४० सालमा थापाथलीस्थित प्रसुति गृहमा भएको हो । इ.निरज शाह र सिन्धुराज्यलक्ष्मी शाहका दुई सन्तानमध्ये उनी कान्छी हुन् । त्यतिबेला उनको परिवार ठमेलमा बस्थ्यो । बुवा सरकारी जागिरे भएकाले उनका दाजु र उनको बाल्यकाल सुखसँग बितेको हो । आमा हाउसवाइफ भएपनि त्यो बेला नगरकोटमा रहेको ‘लस होइराजन’ नामक रिसोर्टको रेखदेखसमेत गर्थिन् ।

डा. अभिलाषाको बाल्यकाल ठमेलको गुल्जार वातावरणमा बितेको हो । ‘अहिले जाँदा फरक लाग्छ, पहिलेको जस्तो अनुभव त हुँदैन्,’ उनले सुनाइन्, ‘पहिले पनि ठमेल जुल्जार नै थियो ।’ ठमेलबाटै उनी कक्षा ६ सम्म स्कुल गइन् । उनको प्रारम्भिक शिक्षादीक्षा लिटिल एन्जल्स स्कुलबाट अगाडि बढेको हो । कक्षा ६ मा पढ्ने बेलामा उनको परिवार भैसेपाटीमा बसाइँ सर्‍यो ।

डा. अभिलाषाको परिवार भैसेपाटीमा बसाइँ सर्दा निकै सुनसान थियो । ‘घर एउटा थिएन्, मान्छे उडाउँलाजस्तो हावा चल्थ्यो,’ उनले त्यो बेलाको भैसेपाटी सम्झिइन्, ‘विस्तारै—विस्तारै यो ठाउँको विकास हुँदैं गयो । अहिले त भैसेपाटीको बेग्लै चमक छ ।’

उनी सानैदेखि इन्टोभर्ट स्वभावकी थिइन् । त्यही कारण स्कुल जीवनमा उनको अधिकांश समय अध्ययनमै बित्थ्यो । सुरुमा उनको स्कुल धोबीघाटमा थियो । पछि हात्तीवनमा सरेको हो । डा. अभिलाषालाई सानैदेखि डाक्टर बन्ने रुचि थियो । उनलाई कारण अहिले पनि थाहा छैन् । ‘खै के कारणले हो त्यही बेलादेखि नै म कसैले के बन्ने भन्यो भने डाक्टर भन्थे,’ उनले बाल्यकालको स्मरण सुनाइन् । स्कुल जीवनमा उनलाई विज्ञान सबैभन्दा मनपर्ने विषय थियो । त्यसपछि अंग्रेजी मनपथ्र्यो । उनलाई मननपर्ने विषय भने गणित थियो ।

उनले लिटिल एन्जल्सबाट एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि थप उच्च शिक्षाका लागि उनी युनाइटेड एकेडेमी गइन् । सन् २००१ मा युनाइटेड एकेडेमीबाट विज्ञान विषयमा प्लस टु उत्तीर्ण गरिन् । त्यो बेलामा मुलुकमा माओवादी सशस्त्र युद्धको रातताप थियो । त्यही कारण उनका बुवाले छोरी भारत गएर एमबीबीएस पढोस् भन्ने चाहेका थिए । छात्रवृत्तिका लागि तयारी गर्ने उनको बाटो थियो । तर, उनका साथीहरु पनि चीनमा एमबीबीएस गर्न जाने भएकाले एमबीबीएस अध्ययनका लागि चीन नै रोजिन् ।

ताइसान मेडिकल युनिभर्सिटीमा उनी सन् २००१ मै एमबीबीएस अध्ययनका लागि भर्ना भइन् । ‘त्यो बेला चीनमा डाक्टरी पढ्न जाने नेपाली विद्यार्थी निकै कम हुन्थे,’ उनले भनिन्, ‘हामी कमै थियौं ।’ चिनियाँ भाषा सिकाइलगायतका अप्ठ्याराहरु उनको एमबीबीएस पढ्दाताका सम्झनामा छन् । फरक ठाउँ, फरक वातावरण र फरक परिस्थितीमा कसरी संघर्ष गर्ने भन्ने कुरा उनले त्यही बेला सिकेकी हुन् । सन् २००६ मा उनले एमबीबीएस सकेर स्वदेश फर्किइन् । उनले वीर, कान्ति, परोपकार प्रसुति गृह, नेपाल आँखा अस्पतालमा इन्टर्नसीप गरिन् ।

इन्टर्नसीप सकिएपछि डा. अभिलाषा मेडिकल अधिकृतका रुपमा नेपाली सेनामा जागिर गर्न थालिन् । नियमित सेनाको चिकित्सकका रुपमा सैनिक अस्पतालकी जागिरे भएकी उनले त्यहाँ लामो समय सेवा गरिन् । सैनिक अस्पतालमै जागिरे रहेका बेला उनले इन्टरनल मेडिसिनमा एमडी गर्ने निर्णय गरिन् । विशेषज्ञताका लागि सन् २०१२ मा डा. अभिलाषाले ताइसान युनिभर्सिटी मेडिकल कलेज ताइसान चीन गइन् । उनले सन् २०१४ मा विशेषज्ञताको पढाइ सकिन् । सन् २०१३—२०१४ तिरै उनले सैनिक अस्पतालको जागिरबाट पनि राजीनामा दिइन् ।

सुरुमा डा. अभिलाषा इन्डोक्राइनोलोजीमा सुपर स्पेसियालिटी हासिल गर्न चाहन्थिन् । तर, नेपाली सेनाको जागिरबाट बाहिरिएपछि उनले अल्का अस्पतालमा काम गरिन् । त्यही बेला उनको संगत वाथ रोगका चिकित्सकहरुसँग भयो । उनीहरुसँग काम गर्दागर्दा डा. अभिलाषालाई वाथ रोग युनिक फिल्ड लाग्न थाल्यो । त्यही कारण उनले सन् २०१९ मा सर गंगाराम हस्पिटल नयाँदिल्लीबाट वाथ रोगमा एक वर्षे फेलोसीप गरिन् । त्यसयता निरन्तर वाथ रोगका बिरामी सेवामा सक्रिय डा. अभिलाषालाई आफूले उपचार गरेका बिरामीहरु निको भएर आउँदा र परिवारसँग समय बिताउन पाउँदा खुुसी लाग्छ ।

व्यस्त जीवनशैली

डा. अभिलाषा विहान साढे ५ बजेतिर उठी सक्छिन् । त्यसपछि अक्सर लाइट एक्ससाइज गर्छिन् । घरका सामान्य काम नसक्दैं अस्पताल जानका लागि उनलाई हतारो भइसक्छ । विहानै नर्भिक इन्टरनेशनल हस्पिटल पुगेर सेवा दिन्छिन् । उनी साढे ९ बजेतिर अल्का पुग्छिन् ।

ओपीडी र वार्डका बिरामी हेर्दाहेर्दै कहिलेकाही अल्कामै दुई पनि बज्छ । त्यसपछि भैसेपाटीस्थित लोकहित वाथ रोग उपचार केन्द्रमा बिरामीको उपचारमा खट्छिन् ।

खानामा पनि डा. अभिलाषा त्यति चुजी छैनन् । उनलाई सामान्य नेपाली दाल, भात, तरकारी, मासु मन पर्छ । नन भेज खाना उनलाई बढी मन पर्छ । चाइनिज र कोरियन खानामा पनि उनको रोजाइमा पर्छन् । पहिरनमा पनि उनको यही नै भन्ने छैन् । उनलाई आफूलाई कन्फर्टेबल र नर्मल पहिरन मन पर्छ ।

फुर्सदको समयमा परिवारसँग घुमघाममा निस्किन्छन् । कहिलेकाही गीत संगीतमा सुनेर पनि उनी रमाउँछिन् । तर, उनको अधिकांश समय परिवार र प्रोफेसन लाइफमै बित्छ ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #अल्का अस्पताल, #डा. अभिलाषा शाह, #लोकहित वाथ रोग उपचार केन्द्र, #वाथरोग विशेषज्ञ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ