२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनीमा ‘पूर्ण खोप पालिका’ घोषणाका लागि कोभिड–१९ विरुद्धको खोप अभियान तीब्र बनाइदैं

लुम्बिनीमा ‘पूर्ण खोप पालिका’ घोषणाका लागि कोभिड–१९ विरुद्धको खोप अभियान तीब्र बनाइदैं


बुटवल–लुम्बिनी प्रदेशका स्थानीय तहहरुले कोभिड–१९ विरुद्धको पूर्ण खोप पालिका घोषणाका लागि भन्दै ‘खोज र खोप लगाउ’ अभियान तीव्र बनाएका छन् । लुम्बिनी प्रदेशका अधिवकांश जिल्लाअन्तर्गतका पालिकाहरूले खोप अभियानलाई तीब्रता दिएका हुन् ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिकालगायतले अभियान सुरु गरिसकेका छन् भने अन्य पालिकाहरुले पनि अभियान संचालनको तयारी गरिरहेका छन् । त्यस्तै, पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पामा पनि अभियान सुरु भएको छ ।

अभियान संचालन गरिरहेका पालिकाहरूले विहान माइकिङमार्फत खोप लगाउनुपर्ने कारण र खोप लगाउन सकिने खोप केन्द्रहरुको जनाकारी दिने व्यवस्था मिलाएका छन् । नगरपालिका तथा गाउँपालिकाका मुख्य वासस्थान रहेका स्थानहरुमा माइकिङ गर्ने, स्थानीय सञ्चार माध्यमबाट सूचना दिने सम्मका काम गरिएको पालिकाहरूले जनाएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दोस्रो पटक टोल अभियान चलाइरहेको छ । कोही पनि खोपबाट वञ्चित नहुन भन्ने उद्देश्यले कर्मचारी घरदैलोमा पठाएर खोपबारे पूर्ण जानकारी गराइरहेको नगरपालिकाका कोभिड–१९ फोकल पर्सन केशवराज भट्टराईले बताउँछन् । ‘हामी निरन्तर फिल्डमा छौँ । दोस्रो पटक पनि खोप अभियान संचालन गरेका छौँ,’ उनले भने, ‘मजदुर, र बिरामी मानिसहरु छुटेको देखिएको छ । उहाँहरुलाई पनि अनुकूलता अनुरुप खोप लगाउँछौँ ।’

रुपन्देहीको सैनामैना नगरपालिकाले कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल नगर घोषणा गर्न अहिले घरदैलो कार्यक्रम थालेको छ । टोलविकास संस्था, आमा समूह, क्लवहरुसँगको सहकार्यमा नगरभित्र खोप लगाउन छुटेकाहरुको लगत संकलन गर्ने र खोप लगाउने अभियान संचालन भैरहेको सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्की बताउँछन् । ‘हामी घर–घरमा पुगेर खोप लगाउनुपर्छ भन्ने प्रचार गर्दै घरदैलोमा पुग्ने गरी कार्य गरिरहेका छौँ,’ उनले हेल्थआवाजलाई भने घरदैलो गर्दा अधिकांशले खोप लगाइसकेको पाइएको छ ।

छुटेकाहरुलाई पनि हामी खोप लगाउँछौँ र पूर्ण खोपयुक्त नगर घोषणा गछौँ ।’ खोपका बारेमा जानकारी नपाएका र नगरबाहिर मजदुरी गर्न जानेले मात्र खोप नलगाएको पाएको उनको भनाइ छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले पनि अभियान संचालन गरेको छ । ‘हामी खोप अभियान संचालन गरिरहेका छौँ,’ नगरप्रवत्ता बाबुराम सुनारले भने, ‘नगरभित्रका तोकिएका उमेर समूहका व्यक्तिहरुलाई खोप दिने काम चलिरहेको छ ।’

सार्वजनिक स्थान र कार्यालयमा खोप कार्ड अनिवार्य गरिएपछि पनि खोप केन्द्र खोज्दै आउनेहरूको पनि संख्या बढेको पालिकाहरुको बुझाइ छ । सोहीअनुरुप व्यवस्थापन समेत हुने गरेको छ ।

खोप अनिवार्य रुपमा लगाउनुपर्ने भएकाले र जनचेतनामा समेत वृद्धि भएकाले खोप कार्यक्रम प्रभावकारी देखिएको डा. नन्दु पाठक बताउँछन् । ‘खोपले जटिलता धेरै कम गरेको छ । अनिवार्य रुपमा खोप लगाउनुपर्छ । त्यही अभियानमा पालिकाहरु र प्रदेश सरकारसँगै संघीय सरकार पनि लागिरहेको छ । यो सकारात्मक कुरा हो,’ उनले भने ।

प्रदेश सरकारले स्वास्थ्य केन्द्रमार्फत पालिकासँग नै समन्वय गरी खोप अभियानलाई अघि बढाइरहेको प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटा बताउँछन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ