२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपचेन आँखा अस्पतालका रुपमा उदाउँदै दृष्टि आँखा केन्द्र, ३९ वर्षीय डा. भाइराजा गर्दैछन् नेतृत्व

चेन आँखा अस्पतालका रुपमा उदाउँदै दृष्टि आँखा केन्द्र, ३९ वर्षीय डा. भाइराजा गर्दैछन् नेतृत्व

५० करोड लगानी वार्षिक २० करोड टर्नओभर


काठमाडौं—कलंकी चोकबाट नयाँ बसपार्कतिर अलि अगाडि चार तले चिटिक्क परेको एक भवन छ । जसमा अत्याधुनिक आँखा अस्पताल सञ्चालनमा छ । दृष्टि आँखा केन्द्र । यो अस्पतालका काठमाडौं, झापा, वीरगन्ज, धादिङलगायतका ठाउँमा १३ वटा आउटलेट छन् । केही अस्पताल नै त केही क्लिनिकमा रुपमा । ती सबैलाई यही भवनबाट माउ कम्पनी ‘दृष्टि आई केयर सिष्टम’ले मनिटरिङ गर्छ । कर्पोरेट क्षेत्रमा चेन आँखा अस्पतालको रुपमा उदाउँदैं गरेको यो केन्द्रलाई युवा चिकित्सकले नेतृत्व गरेका छन् ।

वि.सं. २०७० मा झापा विर्तामोडमा पहिलोपटक ‘सबैलाई दृष्टि, सधैलाई दृष्टि’ भन्ने नारा दिएर मेची दृष्टि आँखा अस्पताल स्थापना गरिएको थियो । त्यतिबेला झण्डै ७ करोड हाराहारीमा लगानी भएको थियो । त्यो बेला ३९ वर्षीय डा. भाइराजा श्रेष्ठ नेतृत्वमा संस्थापक र सह-संस्थापक गरी १० जनाको टिम थियो । २५ जना जति कर्मचारी कार्यरत थिए ।

अस्पतालले सेवाग्राहीको मन जित्दै गएपछि तीन वर्षभित्र यसका तीन वटा आँखा अस्पताल र दुई वटा आई केयर सेन्टर विस्तार भए । डा. भाइराजासहितको चिकित्सकहरुको टिमले दृष्टि आई केयर सिष्टम कम्पनी स्थापना गरे । ‘बाल्यकालदेखि नै अरुलाई सहयोग गर्ने, सबैसँग घुलमिल हुने स्वभाव थियो,’ उनी सुनाउँछन्, ‘एमडीपछि म काम गर्न मेची आई अस्पताल झापा गए । त्यही केही डाक्टरको टिम मिलेर मेची दृष्टि आई केयर सिस्टम भनेर एउटा कम्पनी बनायौं ।’

कानुनी रुपमै काठमाडौंमा ‘दृष्टि आई केयर सिष्टम’ दर्ता भएको ३ वर्ष भएको छ । डा. भाइराजाकाअनुसार प्राइभेटबाट पनि सबै मिलेर आँखा उपचारका क्षेत्रमा केही गर्न सकिन्छ भनेर दृष्टि आँखा केन्द्रको कन्सेप्ट अगाडि बढाइएको हो । ‘जब म आँखाको क्षेत्रमा पसे, त्यहीबेलादेखि नै यो क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागिरहेको थियो,’ उनी भन्छन्, ‘सबैजनासँग घुलमिल हुने भएकोले टिम बनाएर यो सम्भव गर्न सक्यौं ।’ उनकाअनुसार एमडीका पढ्ने बेलाका सहपाठीहरू सबैजना टिममा सँगै काम गर्ने योजना बनाएका थिए । जुन अहिले आएर पूर्णतयाः साकार भएको छ ।

कर्पोरेट आँखा अस्पतालको योजना अगाडि बढाउनका लागि डा. भाइराजाको टिमलाई त्यतिबेला नेपालमा कायम रहेको प्राइभेट आँखा अस्पताल अभावले पनि आकर्षित गरेको थियो । ‘वि.सं. २०७० सालअघि त्यति धेरै प्राइभेट आई सेन्टर थिएनन्,’ उनी थप्छन्, ‘वि.सं. २०७० साल असोजमा  दृष्टि आई केयर सिष्टमअन्तर्गत मेची दृष्टि आँखा अस्पताल भनेर सुरु गर्यौं ।’

पहिलो प्रोजेक्टमै सफलता हात लागेपछि यसको विस्तार पनि सँगसँगै अगाडि बढ्यो । वि.सं. २०७१ सालमा वीरगंजमा दृष्टि आई केयर सेन्टरमा स्थापना भयो । त्यसपछि वि.सं. २०७२ मा काठमाडौंको जमलमा दृष्टि आई केयर सेन्टर विस्तार भयो । ‘हाम्रो मुख्य उद्देश्य भनेको काठमाडौंमा नै स्थापना गर्ने थियो । तर, पहिला झापामै कम गरेको परिचित र फेमिलियर भएकाले उता नै सुरु ग¥यौ,’ उनले भने ।

जमलपछि चावहिलमा दृष्टि आई केयर सेन्टर शाखा विस्तार भयो । त्यसपछि कलंकी मुख्य कार्यलय स्थापना भएको उनी बताउँछन् । वि.सं. २०७५ मा दृष्टि आँखा केन्द्रको शाखा टोखामा विस्तार भएको छ । त्यहाँ नगरपालिकासँगको साझेदारीमा शाखा विस्तार भएको हो । ‘पहिलोपटक निजी र सरकारीको साँझेदारीमा टोखामा हाम्रो आई सेन्टर सञ्चालनमा छ,’ डा. भाइराजा भन्छन्, ‘त्यहाँ उपकरण र जनशक्ति हाम्रो र अरू सबै उहाँहरुको छ ।’ २ वर्षअघि दृष्टिको शाखा नयाँबानेश्वरमा विस्तार भएको छ ।

पछिल्ला ८ वर्षमै दृष्टि आई केयर सिष्टम झापा, पर्सा, धादिङ र काठमाडौंका विभिन्न १३ ठाउँमा विस्तार भएको छ । कर्पोरेट आँखा उपचार केन्द्रका रुपमा विकास भइरहेको दृष्टि आँखा केन्द्रमा ५० करोड बढी लगानी भइसकेको डा. भाइराजा बताउँछन् । दृष्टि आई केयर सिष्टममा झण्डै २ सय बढी कर्मचारी कार्यरत छन् । वार्षिक टर्नओभर नै वार्षिक झण्डै २० करोड हाराहारीमा छ । अहिले संस्थापक, सह—संस्थापक र सेयरहोल्डर गरी ४० जना जतिको टिम छ । यो समग्र टिमको व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सिईओ)का रुपमा डा. भाइराजाले गरिरहेका छन् ।

सात वटै प्रदेशमा दृष्टि आँखा केन्द्र विस्तार गरेर आगामी पाँच वर्षमा झण्डै ३ लाख नेपालीलाई आँखा उपचार सेवा दिने योजना दृष्टि आँखा केन्द्रको छ । पैसा तिर्न सक्ने र नसक्ने दुवैलाई सेवा दिने लक्ष्य लिएर दृष्टि अगाडि बढेको डा. भाइराजाको बताउँछन् । ‘मुख्य लक्ष्य भनेको सबैलाई सर्वसुलभ रुपमा सेवा पु¥याउने नै हो,’ उनी भन्छन्, ‘कसैले उपचारको अभावमा आँखा दृष्टि बिना बस्न नपरोस् ।’

युवा उमेरमै ठूलो टिमको नेतृत्व गर्ने यी आँखा शल्यचिकित्सक आफ्नो जिम्मेवारीलाई प्यासनमा रुपमा लिएर इन्जोय गरिरहेको बताउँछन् । ‘यो टिम बनाउन नै चुनौती हो,’ उनी भन्छन्, ‘यो स्तरको गुणस्तरीय सेवा दिनु र कायम राख्नु अर्को चुनौती हो ।’ अझै पनि उनी अहिलेको व्यवस्थापनलाई अर्को उचाइमा पु¥याउन चाहन्छन् । सेवाग्राहीको स्याटिफ्याक्सन मेन्टेन गर्नुलाई उनले आफ्नो प्रमुख चुनौती ठानेका छन् । ‘सबैलाई म्याक्सिमम सन्तुष्टि दिने हाम्रो चाहना हो,’ उनले भने ।

सेवामा अगाडि

निजी क्षेत्रबाट खोलिएका अस्पतालमा अग्रणी अस्पतालका रुपमा दृष्टि आँखा केन्द्रले  नानी प्रत्यारोपण, रेटिनाको सर्जरी सेवा निजीस्तरबाट पहिलोपटक सुरुवात गरेको हो । ब्रान्डेड चश्मालाई केन्द्रित गरेर पनि दृष्टि आई केयरले अब शो रुम नै खोल्ने योजना बनाएको छ ।

‘यसमा उच्चस्तरीय सेटअप गर्ने तयारी छ,’ उनले भने, ‘हामीले आँखा अस्पताल खोल्नुभन्दा पहिला आँखाको क्षेत्रमा लगानी गर्दै काम गर्नु अलि चुनौतीपूर्ण पनि थियो तर, अहिले विस्तारै सबै राम्रो हुँदै गएको छ ।’ दृष्टिले विदेशमा गएर प्राप्त गर्ने सेवा स्वदेशमै दिने प्रयासमा रहेको डा. भाइराजा बताउँछन् ।

काठमाडौंका सबै शाखाहरुमा दृष्टि आँखा केन्द्रले इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिष्टम (ईएमआर) प्रविधी छ । जसमा बिरामीको सबै रेकर्ड विद्युतीय रुपमा नै राखिन्छ । ‘हामी कहाँ बिरामीले पेपर बोकेर यताउता हिडिरहनुपर्दैन्,’ उनले भने । आँखा उपचारका सबै प्रकारका सेवाहरु दृष्टि आँखा केन्द्रमा उपलब्ध छन् ।

को हुन् ३९ वर्षीय प्रमुख कार्यकारी निर्देशक डा. भाइराजा

डा. भाइराजा श्रेष्ठ धादिङको गल्छी गाउँपालिकाको सुनटारमा जन्मिएका हुन् । बुवा कृष्णहरि श्रेष्ठ र आमा मिठु श्रेष्ठका सन्तानमध्ये उनी छैटाैं हुन् । मध्यवर्गीय परिवारमा जन्मिएका बाल्यवस्था पनि सामान्य तरवले बित्यो । ‘म संयुक्त परिवारमा हुर्केको हुँ,’ उनले सुनाए, ‘मध्यम वर्गीय परिवार भएकाले गाउँमा नै बाबु आमासँग बसे र त्यही पढे ।’

उनको शिक्षादीक्षा स्थानीय सरस्वती निम्न माध्यमिक विद्यालयबाट अगाडि बढेको हो । सरस्वतीमा कक्षा ७ सम्म अध्ययन गरेपछि उनी थप शिक्षा आर्जनका लागि वागेश्वरी सेकेण्डरी स्कुल गए । त्यहाँबाट वि.सं. २०५२ सालमा उनले एसएलसी उत्तीर्ण गरे । त्यसपछि प्लस टु अध्ययनका लागि उनी सिद्धार्थ वनस्थली आए । त्यहाँबाट विज्ञानमा प्लस टु उत्तीर्ण गरे ।

डा. भाइराजाका पिताको चाहना छोरा चिकित्सक बनोस भन्ने थियो । उनी बुवाको चाहनासँग आफ्नो सपनाको रंग मिलाउँदैं गए । ‘घरमा बुवाले तँलाई डाक्टर बनाउने भन्नु हुन्थ्यो,’ उनले भने, ‘मेरो पढाइ पहिलेदेखि नै राम्रो थियो ।’ एमबीबीएस अध्ययनका लागि इन्ट्रान्स दिए । इन्ट्रान्समा पास भएपछि उनी काठमाडौं मेडिकल कलेज सिनामंगलमा एमबीबीएस अध्ययन गर्न थाले । त्यसपछि उनले मेडिकल अधिकृतमा रुपमा एक वर्ष गंगालाल हृदय रोग केन्द्रको सर्जरी विभागमा काम गरे ।

सन् २००९ मा डा. भाइराजाले छात्रवृत्तिमा पिजी गर्ने अवसर पाए । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा उनले एमडी अध्ययन अगाडि बढाए । सन् २०११ उनले अप्थामोलोजीमा एमडीको अध्ययन पूरा गरे । डा. भाइराजाले मेची आई अस्पतालसँगको सहकार्यमा छात्रवृत्तिमा एमडी गरेकाले सम्झौताअनुसार तीन वर्षका लागि काम गर्न झापास्थित उक्त अस्पताल गए । ‘सम्झौताअनुसार म त्यहाँ गएर तीन वर्ष काम गरे,’ उनले भने । सन् २०१६ मा डा. भाइराजाले तिलगंगा र अमेरिकाको न्युयोर्क आई एन्ड इयर इन्फर्मरीबाट नानी प्रत्यरोपणमा फेलोसीप गरेका छन् । दृष्टिका अन्य चिकित्सकहरु पनि विभिन्न ठाउँबाट फेलोसीप गरेका छन् ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #कलंकी चोक, #डा. भाइराजा श्रेष्ठ, #दृष्टि आँखा केन्द्र, #सधैंलाई दृष्टि, #सबैलाई दृष्टि


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ