२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटा मेडिकल कलेजलाई अन्यत्रको जस्तै प्रतिष्ठानमा लैजान दबाब दिइरहेका छौं : पूर्वमन्त्री भट्ट

गेटा मेडिकल कलेजलाई अन्यत्रको जस्तै प्रतिष्ठानमा लैजान दबाब दिइरहेका छौं : पूर्वमन्त्री भट्ट


धनगढी-नेकपाका नेता लेखराज भट्टले निर्माणाधीन गेटा मेडिकलले गुणस्तरीय सेवा दिन सके छिमेकी मुलुक भारतबाट धेरै बिरामीलाई नेपाल भित्र्याउन सकिने बताएका छन् ।

‘अहिलेसम्म यता नेपालबाट उता भारत जाने ट्रेण्ड बढी थियो । तर, अब यता गुणस्तरीय सेवा सुविधा दिन सके उताकालाई यता भित्र्याउन सकिछ,’ सोमबार गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको प्रगतिको अवलोकन गर्दै नेता भट्टले भने, ‘यसको भविष्य राम्रो छ । सुरुमा पनि यसको निर्माणका लागि ठूलै लडाइ लडनु परेको हो । अब पनि प्रतिष्ठानमा लैजान दबाब दिनु आवश्यक छ।’

राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टसहित मेडिकल पुगेका नेता भट्टले मेडिकल कलेजमा जाने कि प्रतिष्ठानमा जाने भन्ने विवादको अर्थ नरहेको बताए । शिक्षा मन्त्रालयले भने एकीकृत प्रतिष्ठान बनाउने विधेयक अगाडि बढाएको छ ।

अब सन्चालनमा आउने नयाँ मेडिकल कलेजहरुलाई एकीकृत प्रतिष्ठान बनाएर त्यही मातहत ल्याउने तयारी गरेको छ । जसअन्तर्गत बर्दिवास , बुटवल , सुर्खेत र गेटा मेडिकल कलेज रहने छन् । तर, यो प्रावधान आफूहरुलाई मान्य नहुने भट्टको भनाइ रहेको छ ।

उनले यसलाई स्वास्थ विज्ञान प्रतिष्ठानमा नै लैजाने पहल गर्नुपर्ने बताए । ‘अन्यत्र स्वायत्त प्रतिष्ठान बनाउने तर सुदूरपश्चिममा बनेको मेडिकल कलेजलाई एकीकृत भित्र राख्ने कुरो हुँदैन,’ नेता भट्टले भने , ‘बरु जनशक्ति उत्पादन गर्ने कुरालाई शिक्षा मन्त्रालयमा राख्ने र यसको कार्यान्वयन पक्षलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत राख्न सकिने सुझाव मैले शिक्षामन्त्रीलाई दिएको छु ।’

उनले मेडिकल कलेज अरुको जग्गामा भएकाले त्यहाँ बस्दै आएका कमैयाको ब्यवस्थापन र गेटा आँखा अस्पातल जाने वैकल्पिक बाटो बनाउने कार्यलाई पनि चाँडो टुङो लगाउनुपर्ने बताए । कलेजको भौतिक पूर्वाधारको प्रगतिको बारेमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका सदस्य सचिव भिम साउँदले पूर्वमन्त्री भट्ट सहितको टोलीलाई अवगत गराएको थियो ।

उनका अनुसार अहिलेसम्म सम्पूर्ण भौतिक प्रगती ७० प्रतिशत काम सकिएको छ भने पूर्ण संरचना बनेर कलेजको पढाइ र अस्पताल सुरु हुन अझै १ वर्ष लाग्ने छ । झण्डै ५१ हेक्टर क्षेत्रफल जग्गा रहेको सो मेडिकल कलेजको लागी भ्याट बाहेक ३ अर्ब ४८ करोडमा २३ वटा भबनहरु निर्माण भइरहेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ