२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखराका निजी ल्याब एलसिडी र युआरएलमा एन्टीबडी जाँच सुरु

पोखराका निजी ल्याब एलसिडी र युआरएलमा एन्टीबडी जाँच सुरु

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले छिट्टै सुरु गर्ने


पोखरा – पोखराका युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) र लाइफ केयर डायग्नोस्टिक (एलसिडी) प्रालिले कोभिड एन्टिबडी जाँच सुरु गरेका छन् । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब दाबी गर्ने युआरएल र पिसिआरसमेत जाँच गरिरहेको ए ग्रेडको एलसिडीले एन्टिबडी जाँच सुरु गरेको हो ।

युआरएलले पोखराको मुख्य कार्यालय सभागृहचोक र हस्पिटलचोक शाखाबाट एन्टीबडी जाँच हुने अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । दमौली, दुलेगौंडा, बेंसीसहर, वालिङ शाखाबाट भने रगत संकलन गर्न सकिने उनको भनाइ थियो ।

अध्यक्ष पन्त भन्छन्,‘ एन्टीबडी जाँच गर्दा शरीरमा कोभिडविरुद्धको एन्टीबडी विकास भए नभएको पत्ता लगाउन सकिन्छ र यदि खोप लगाएको लामो समय भइसक्दा पनि एन्टिबडी विकास नभएमा अन्य उपाय अपनाउन सहज हुन्छ ।’

युआरएलले संसारकै उत्कृष्ट प्रविधिमार्फत् एन्टीबडी जाँच गरेको दाबी गरिरहेको छ भने एलसिडीले गण्डकी प्रदेशमै पहिलोपटक सेवा सञ्चालन गरेको दाबी गरेको छ । ल्याबहरुका अनुसार कोभिड १९ खोप लगाएको १५ देखि ९० दिनभित्र यो जाँच गर्दा उपयुक्त हुने र परीक्षण रिपोर्ट स्याम्पल दिएको १ घन्टामै प्राप्त हुनेछ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराका निमित्त निर्देशक सपना सुवेदी एन्टीबडी जाँच गर्दा नेचुरल्ली बनेको एन्टीबडी र खोप लगाइसकेपछि शरीरमा रहेको एन्टीबडीको अवस्था थाहा पाउन सहज हुने बताउँछिन् । एन्टीबडी जाँच गर्न सि ग्रेडसम्म अनुमति लिएको ल्याबले पाएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘कतिपय देशमा बुस्टर डोज लगाइएको पनि छ, एन्टीबडीको अवस्था हेरेर बुस्टर डोजको आवश्यकता छ कि छैन भनेर राज्यले नीति बनाउनसमेत एन्टीबडी जाँचको भूमिका रहन्छ ।’

सबै नागरिकले खोप प्राप्त गरिसकेको अवस्था नभएकाले एन्टीबडी जाँच गरेर राज्यले बुस्टर डोज दिनेतर्फ तत्काल ध्यान केन्द्रित हुन अझै धेरै नै समय लाग्ने देखिन्छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पनि छिट्टै एन्टीबडी टेस्ट सुरु गर्ने तयारीमा रहेको उनले जानकारी दिइन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन शरद्चन्द्र बराल एन्टीबडी टेस्ट कोभिड संक्रमण पहिले भएको वा नभएको पत्ता लगाउन र रोग प्रतिरोधी क्षमता कति छ थाहा पाउन उपयुक्त हुने बताउँछन् ।

उनले भने,‘धेरैजसो पिसिआर टेस्टहरु नेगेटिभ आउने, मौसमी रुघाखोकी बढिरहेको परिप्रेक्ष्यमा पहिले कोभिड भएको थियो कि थिएन भनेर कन्सर्न राख्न र कोभिड संक्रमित भएर निको भइसकेपछि फेरि आगामी दिनमा संक्रमित हुन्छु कि हुँदिनँ भनेर हेर्ने चलन सुरु भएको छ, त्यसका लागि एन्टिबडी जाँच गर्ने गरिएको हो ।’

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एन्टीबडी टेस्ट सेवा नभएको उल्लेख गर्दै एन्टीबडी टेस्ट सबै ठाउँमा नरहेको उनले बताए । नेपाल सरकार मातहतको सरकारी अस्पताल भएको हुनाले माथिल्लो निकायको निर्देशन अनुसार हुने उनको भनाइ थियो ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको अवस्था नभएकाले अस्पतालमा एन्टीबडी जाँच सेवा सञ्चालनमा नरहेको उनले स्पष्ट पारे । तत्काल एन्टीबडी जाँच सुरु भइहाल्ने सम्भावनासमेत नरहेको उनले सुनाए ।

सरकारी अस्पतालमा तत्कालै सेवा सुरु भइहाल्नेबारे बताउन नसकिने उनको भनाइ थियो । उनले भने,‘हाम्रोजस्तो सरकारी अस्पतालमा एन्टिबडी टेस्ट गर भन्न पनि अप्ठेरो हुन्छ, एन्टीबडी जाँच गर्न इच्छुक व्यक्ति पनि कम हुन्छन्, सबैको गर्ने अवस्था पनि छैन, महँगो पनि पर्न जान्छ । त्यसैकारण खोप लगाएकाहरुमा पनि एन्टीबडी डेभलभ भयो कि भएन भन्नेबारे पनि आधिकारिक तथ्य बाहिरिसकेको छैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सेरो प्रिभ्यालेन्स सर्वेक्षणअनुसार गत भदौसम्ममा नेपालका ६८.६ प्रतिशत मानिसमा कोभिड १९ एन्टिबडी देखिएको बताइएको थियो । कोरोना संक्रमण भएपछि मानिसको शरीरले त्यसविरुद्ध एन्टीबडी बनाउँछ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना संक्रमण भएका व्यक्तिका साथै कोरोनाविरुद्ध खोप लगाएका व्यक्तिमा पनि एन्टीबडी विकास हुन्छ ।

विज्ञहरु यति नै समयसम्म एन्टीबडी रहन्छ भन्ने यकीन गर्नै सकेका छैनन् । उनीहरुका अनुसार एन्टिबडी देखिएकाहरुले पनि कोभिड १९ विरुद्धको खोप लगाउनैपर्ने हुन्छ । केही देशमा भने पूर्ण खोपको डोज लगाएकालाई पनि बुस्टर डोज पनि दिइएको छ । कोभिडविरुद्धको खोप लगाएको छोटो अवधि भएकाहरुमा एन्टीबडी विकास भइनसकेको पनि हुनसक्ने विज्ञहरु बताउँछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ