२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशधौलागिरी अस्पताल गण्डकीमै उत्कृष्टः मेसु डा. शैलेन्द्र भन्छन्, ‘सबैको सहयोगमा शतप्रतिशत लक्ष्य पूरा गर्छौं’

धौलागिरी अस्पताल गण्डकीमै उत्कृष्टः मेसु डा. शैलेन्द्र भन्छन्, ‘सबैको सहयोगमा शतप्रतिशत लक्ष्य पूरा गर्छौं’

अस्पताल २ सय बेडको बनाउन डिपीआर


पोखरा–धौलागिरी अञ्चल अस्पताल सेकेन्डरी ए अस्पतालहरुमध्ये गण्डकी प्रदेशमै उत्कृष्ट भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गर्ने न्यूनतम स्वास्थ्य सेवा मापदण्ड (एमएसएस) सर्वेक्षणका आधारमा उत्कृष्ट ठह¥याएको हो ।

निर्देशनालयको सर्वेक्षणमा धौलागिरीले ८४ प्रतिशत अंक प्राप्त गरेको छ । हरेक ६/६ महिनामा गरिने सर्वेक्षणमा अघिल्लो पटक ७३ अंक प्राप्त गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा. शैलेन्द्र वि पोखरेलले बताए । ‘हाम्रो शतप्रतिशत नै भेट्ने लक्ष्य छ, अघिल्लोपटक भन्दा यसपटक हामीले सुधार गरेका छौं ।’

अघिल्लो पटकको सर्वेक्षणमा इमर्जेन्सी डिपार्ट, फोहोर व्यवस्थापन, भौतिक संरचना र जनशक्ति व्यवस्थापनमा सुधार गर्नुपर्ने देखिएको र सोही पक्षलाई सुधार गरिएको डा.पोखरेलले बताए । अहिले सी ब्लक भवन बन्दै गरेको र उक्त भवन सम्पन्न भएपछि अर्काे सर्वेक्षणमा अझै अंक बढ्ने उनको विश्वास छ । नयाँ भवन बनेपछि भौतिक पक्षका कमजोरी केही हदसम्म हट्ने उनले सुनाए । ‘नयाँ भवनमा ओपिडी विस्तार, क्यान्टिन, सर्जरी विभागमा महिला–पुरुषका लागि छुट्टै वार्डलगायत नम्स पूरा हुनेछन् । ५० बेडका लागि भौतिक पक्ष थप सबल हुनेछ,’ उनले भने ।

अस्पतालले शतप्रतिशत अंक ल्याउने गरी काम गर्न अस्पताल प्रशासनले मात्रै सम्भव नहुने उनको भनाइ थियो । एमएसएसका मुख्य ३ आधार प्रशासनसम्बन्धी, क्लिनिकल र सपोर्ट सर्भिस हुन् । भौतिक संरचना र जनशक्ति व्यवस्थापनमा भने अस्पताल व्यवस्थापन समिति र सरकारको भूमिका महत्वपूर्ण हुने डा. पोखरेल बताउँछन् । ‘एमएसएस अनुसार अस्पतालमा १६ जना विशेषज्ञ डाक्टर आवश्यक भएपनि ११ जना मात्रै छन्, त्यस्तै भौतिक संरचना कमी हुँदा आवश्यक सुधार हुन सक्दैन, यस्ता पक्षमा सरकारले सहयोग गर्नुपर्छ । जनशक्तिबारे मुख्यगरी अध्ययनको आवश्यकता हुन्छ ।

कोभिड संक्रमण भएपछि अस्पताल आउने बिरामीको संख्यामा कमी आएको छ । सामान्य अवस्थामा दैनिक ४ सयभन्दा बढीले दैनिक सेवा लिने गरेको डा. पोखरेलले जानकारी दिए । कोभिड तेस्रो भेरियन्ट चलिरहेको यो समयमा जटिल स्वास्थ्य समस्या भएका कोभिड बिरामी भने अस्पताल नआएको उनले बताए ।

अस्पतालमा अहिले १६४ सिलिन्डर अक्सिजन तयारी अवस्थामा रहेका छन् भने पुरानो अक्सिजन प्लान्टबाट उत्पादन भइरहेको छ । अहिले नयाँ प्लान्ट राख्ने काम भइरहेको छ । जसबाट १७५ सिलिन्डर दैनिक उत्पादन र १ सय हाराहारीमा भर्न सकिने उनको भनाइ थियो । केही हप्ताभित्रै नयाँ प्लान्ट जडान भइसक्नेछ । अस्पतालले दिने सेवामा मुख्यतयाः भौतिक संरचना, जनशक्ति, व्यवस्थापन र आवश्यक उपकरण औषधीले प्रभाव पार्ने भएकाले आफ्नो क्षेत्राधिकार भित्रका सम्बन्धित पक्षले जिम्मेवारी पूरा गर्ने हो भने शतप्रतिशत लक्ष्य हासिल गर्न सकिने डा. पोखरेलको निष्कर्ष छ ।

अस्पताल व्यवस्थापन समिति नयाँ गठन भएको छ । राजनीतिक भागबण्डाबाट नयाँ गठन भएको समितिमा सहमति भएन भने तपाईंको शतप्रतिशत लक्ष्य पूरा होला भन्ने जिज्ञासामा डा. पोखरेल भन्छन्,‘सबै पक्ष मिलाएर लाने प्रयास भएको होला । स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले सहमतिमै सबै काम हुन्छन् भन्ने विश्वास छ । उपयुक्त वातावरण बन्नुपर्छ, आग्रह पूर्वाग्रह राखिनुहुँदैन् । त्यसो भएन भने लक्ष्य प्राप्तिमा बाधा अवश्य पुग्छ ।’

अस्पताल २ सय बेडको बनाउन डिपीआर

संघीय सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत २ सय बेड क्षमतामा स्तरवृद्धिका लागि डिपिआर भएको डा. पोखरेलले जानकारी दिए । ‘डिपिआर प्रारम्भिक रिपार्ट आइसकेको छ, मन्त्रालयले यससम्बन्धी छलफल गरेपछि फाइनल हुनेछ,’ उनले भने ।

अस्पतालमा नयाँ समिति

धौलागिरी अञ्चल अस्पतालमा असोजदेखि रिक्त व्यवस्थापन समितिको अध्यक्षमा नारायणप्रसाद पौडेल मनोनित भए । व्यवस्थापन समिति सदस्यमा धनमाया शर्मा, लक्ष्मीदेवी जिसी, कृष्णशंकर श्रेष्ठ, रुनमाया थापा, गगनबहादुर पुनलाई प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालले पुस अन्तिममा मनोनयन गरेका हो । साविकमा ७ जना रहने अस्पताल समितिको कार्यविधि नै परिवर्तन गरी ९ सदस्यीय रहने बनाइएको छ ।

समितिको सदस्यमा बागलुङ नगरपालिकाका प्रतिनिधि र वागलुङ उद्योग वाणिज्य संघका प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था छ । मेडिकल सुपरिटेन्डेन्ट सदस्य सचिव रहनेछन् । समितिको कार्यकाल ३ वर्षको हुनेछ । भागबण्डाका आधारमा अस्पताल समिति बनेकाले निर्णय प्रभावित हुने हो कि भन्ने चिन्ता भइरहेका बेला नवनिर्वाचित अध्यक्ष पौडेलले भने सबैपक्षसँग मिलेर जाने बताएका छन् । ‘सबैपक्षसँग छलफल गरी आवश्यकता पहिचान गर्नेछु । आग्रह पूर्वाग्रह रहने छैन,’ उनले भने । उनले पूर्व अध्यक्ष केबी रानाको योगदानको खुलेर प्रशंसा गरेका छन् ।

अस्पतालका पूर्व अध्यक्ष केबी रानाले अस्पताल र क्वार्टरबीचको बाटो बन्द गरी अस्पताल एरिया बनाउने, सिटी स्क्यान सेवा थप गर्ने र अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना पूरा नभएको बताए । अस्पताल नजिकको बोर्डिङ स्कुलको जग्गा अस्पतालका लागि आवश्यक भए बोर्डिङ स्कुलले बेच्ने सम्म्मको छलफल भएकोमा आफ्नो कार्यकालमा पूरा हुन नसकेको उनले उल्लेख गरे ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ