२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीका महिलालाई प्रजनन अंगको क्यान्सर उपचारका लागि ५० हजार सहुलियत

गण्डकीका महिलालाई प्रजनन अंगको क्यान्सर उपचारका लागि ५० हजार सहुलियत


पोखरा – गण्डकी प्रदेशका महिलाहरुले प्रजननअंगमा भएको क्यान्सरको उपचारका लागि ५० हजार सहयोग पाउने भएका छन् । महिलाको प्रजननअंगको क्यान्सर उपचारमा ५० हजार दिने गरी गण्डकी प्रदेश सरकार र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौताभएको छ ।

सम्झौतापत्रमा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम र गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका सचिव डा. श्रीरामतिवारीले बुधबार हस्ताक्षर गरेका हुन् ।

सम्झौताभएसँगै गण्डकीका महिलाहरुले स्त्री प्रजननअंगमा हुने क्यान्सरको उपचारमा ५० हजारको सुविधा पाउने भएका छन् । यो सुविधा एक साताभित्रै कार्यान्वयनमा आउनेछ । गण्डकीका महिलाहरुले स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सरलगायत उपचारमा सहुलियत पाउने छन् । तर, नेपाल सरकारले उपलब्ध गराउने १ लाख खर्च भइसकेको अवस्थामा मात्रै यो सुविधा लिन पाउने डा. देजकुमार गौतमले बताए । यो सुविधा लिनका लागि गण्डकी प्रदेशमा बसोबास गर्ने व्यक्ति प्रमाणित हुनै पर्ने बताइएको छ ।

गण्डकी प्रदेशको बासिन्दा हो भन्ने प्रमाणित भएपछि अस्पतालले कार्यान्वयन गर्नेछ । डा. देजकुमार गौतमले भने, ‘अन्य प्रदेशबाट गण्डकीमा बसाइँसराइ गरेको भए बसाइसराइको प्रमाणपत्र, विवाह भएर गएको भए विवाहदर्ताको प्रमाणपत्र र अन्यको हकमा नागरिकता पेस भए अस्पतालले सहुलियत कार्यान्वयन गर्छ ।’

संघीय सरकारले ९ वटा दीर्घ रोग उपचारका लागि सहुलियत दिन बनाएको योजनाअनुसार अघि बढेको हो । दीर्घ रोगमा मुटु, मिर्गौला, पक्षघात, अल्जाइमर लगायत छन् । डा. गौतमकाअनुसार बागमती सरकारले कार्यान्वयन गराएको सम्झौताको हुबहु सम्झौता गण्डकी प्रदेश सरकारसँग भएको छ । बागमति सरकारले यो सम्झौता २ वर्ष अघि नै गरेको थियो भने हालै लुम्बिनी प्रदेश सरकारसँग पनि सम्झौता भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारी चालु वर्षको योजनाका कार्यक्रम कार्यान्वयनअन्तर्गत अस्पतालसँग सम्झौता गरिएको बताउँछन् । सो अवसरमा अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्मा, स्वास्थ्यकार्यालय नवलपुरका प्रमुख केशव चापागाई लगायत उपस्थित थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ