२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गर्भवतीलाई सास्ती, जाँच गर्नै २ दिन समय

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गर्भवतीलाई सास्ती, जाँच गर्नै २ दिन समय

दर्जन बढी पटक लाइन बस्नुपर्ने बाध्यता, निर्देशक भन्छन्, ‘सास्ती हटाउन लागि परेको छु’


पोखरा–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हालै निर्माण सम्पन्न भवनमा गर्भवती तथा स्त्रीरोग जाँच गर्ने व्यवस्था मिलाइएको छ । बिहीबार सोही भवनमा गर्भ परीक्षण गराउन आएका महिलाहरुको लामै पंक्ति थियो ।

लाइनमा पोखरा–११ की एक महिला पनि थिइन् । लाइनमा उभिएकी उनी एक्कासी बेहोस भएर भुँइमा लडिन् । अगाडि पछाडि लाइनमै भएका सुरक्षा गार्ड र बाहिरी क्षेत्रमा रहेका स्वास्थ्यकर्मीले उनलाई उठाएर लगे । केहीबेरमा उनी होशमा आइन् । गर्भवती रहेकी उनको मुख्य समस्या लामो समय लाइनमा उभिइरहनु नै थियो ।

गर्भवती भएका कारण केही कमजोरी त्यसै माथि लाइनै लाइन पार गर्दै डाक्टर भेट्नुपर्ने झमेला । करिब दर्जन पटक लाइन बसेर डाक्टर भेट्ने प्रतीक्षामा रहेकी उनीजस्तै महिलाले सास्ती बेहोरिरहनु परेको छ ।

यस्तै लाइन भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गर्ने ठाउँमा पनि थियो । लमजुङकी बिना गुरुङ पनि गर्भवती हुन् । उनले अघिल्लो दिनमा भिडियो एक्सरे गर्न पाइनन् । टोकन सकियो भनेपछि दोस्रो पटक बिहीबार टोकन लिन लाइनमा बसेकी थिइन् । तल्लो पेट दुख्ने समस्या भएका कारण पोखरा–१३ की सुमित्रा बराललाई पनि डाक्टरले भिडियो एक्सरे गर्न सिफारिस गरेका थिए तर उनी बिहीबार तेस्रोपटकमा सेवा पाउने आशामा थिइन् । २ पटकसम्म टोकन सकियो भनेर उनी फर्काइएकी थिइन् ।

म्याग्दीका १६ वर्षे प्रकाश गर्बुजालाई मिर्गाैला समस्या भएकाले भर्ना गरिएको थियो । उनका अभिभावक पनि भिडियो एक्सरे गर्न लिनुपर्ने टोकनको लाइनमा थिए । इमर्जेन्सीका बिरामीका लागि सोही दिन भिडियो एक्सरे गर्न सकिने भएपनि सामान्य बिरामीका लागि एकैदिनमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भिडियो एक्सरे गरी रिपोर्ट देखाउन पाउनेले चिठ्ठा परेको महसुस गर्छन् ।

गर्भवतीलाई दर्जन पटक लाइन

अस्पतालबाट सेवा लिन सबैभन्दा पहिले बिरामी पूर्जा त जहाँसुकै पुगे पनि लिनैपर्छ । तर, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भने १५ पटक जति फेर्दैफेर्दै लाइन बसेपछि गर्भवती जाँच पूरा गर्न सकिन्छ । तर, एकै दिनमा भने होइन् ।

अस्पतालबाट सेवा लिन सबैभन्दा पहिले पालो कुरेर टोकन लिनुपर्छ । टोकन लिँदा स्वास्थ्य बिमा भएको र नभएको फरक–फरक लिनुपर्ने व्यवस्था छ । टोकन लिइसकेपछि पूर्जाका लागि पहिलोपटक लाइन बस्नुपर्छ । डाक्टर कक्षमा प्रवेश गर्नुअघि तौललगायत जाँचका लागि दोस्रोपटक, प्रेसर जाँचका लागि तेस्रो पटक, डाक्टर कक्षमा प्रवेश गर्न चौंथो पटक, प्रेस्क्रिप्सनअनुसारको जाँच गराउन बिल तिर्न पाँचौ पटक लाइन बस्नुपर्छ ।

भिडियो एक्सरे गर्नुपर्नेले टोकन लिन छैटौै पटक, टोकनपछि भिडियो एक्सरेको बिल तिर्न सातौं पटक, रसिद काटेपछि जाँचका लागि आठौं पटक लाइन बस्नुपर्ने बाध्यता छ । रगत पिसाब जाँच गर्नुपर्नेका लागि नवौं पटक लाइनमा खडा हुनुपर्छ । बल्लतल्ल जाँच प्रक्रिया पूरा हुनै लाग्दा रिपोर्ट लिन दशौ पटक लाइन बनाउनुपर्छ । डाक्टरलाई रिपोर्ट देखाउन एघारौं पटक तथा औषधी किन्न फार्मेसीमा बाह्रौं पटक लाइन बस्नुपर्छ ।

स्वास्थ्य बिमा गरेकाले पहिले बुझाएको बिमा कार्ड फिर्ता लिन फेरि लाइन बस्नैपर्छ । यो सहित तेह्रौं पटक लाइन हुन्छ । त्यसो त यति पटक लाइन एकै दिनमा बसेर जाँच गराउन पाउने कमै हुन्छन् । त्यसको भोलिपल्ट रिपोर्ट देखाउन फेरि टोकनसहित बिरामी पुर्जा लिनैपर्छ । जुन चौधौं पटकको लाइन हुन्छ भने डाक्टर कक्षमा प्रवेश गर्न पनि उस्तै पन्ध्रौं पटकको लाइन् ।

दैनिक १५० जनाको मात्रै भिडियो एक्सरे

क्षेत्रीय अस्पताल प्रदेशकै नागरिकले सेवा लिने संघ मातहतको अस्पताल हो । अस्पतालमा दैनिक १५० जनालाई भिडियो एक्सरे गर्ने टोकन दिइन्छ भने अन्यले पाउँदैनन् । जबकी अल्ट्रासाउन्ड गर्नुपर्ने गर्भवती मात्रै टोकन संख्याको दोब्बर हुन्छन्, अन्य बिरामीको पनि उत्तिकै । अस्पतालमा ३ वटा अल्ट्रासाउन्ड मेसिन छन् ।

कोभिड घटेपछि ३ मेसिनले धान्नै नसक्ने चाप बढेको अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले बताए । करिब २ महिना अघिदेखि नै धान्नै नसकिने भिड भएको उनको भनाइ थियो । अस्पतालमा बिरामीको चाप बढेको, लामो लाइनमा पटक–पटक बस्नुपरेको लगायत समस्या आफूलाई थाहा भएको उनको भनाइ थियो ।

दिनमा १५० जनरल, इमर्जेन्सी ३० देखि ५० गरी २ सय हाराहारीमा भिडियो एक्सरे हुने गरेको निर्देशक प्रा.डा. खत्री बताउँछन् । डाक्टरबाहेक लेख्न जान्नेले युएसजी लेखिदिने अल्ट्रासाउन्ड गर्न नपर्नेले पनि गरिदिने गरेकाले भिड बढेको छ । बिमा सेवा मिसयुज भएकाले यसलाई नियन्त्रणको प्रयास गरिएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्रा.डा. खत्रीले बताए । ‘अब भिडियो एक्सरे सिफारिस गर्ने डाक्टरको एनएमसी उल्लेख गरेकै हुनुपर्छ । नत्र भिडियो एक्सरे नगर्नू भनेको छु,’ उनले भने । हाल अस्पतालमा भएका ३ वटा अल्ट्रासाउन्ड मेसिनमध्ये १ साधारण २ आधुनिक रहेका छन् ।

समस्या समाधानमा पहल गरिरहेकै छु : प्रा.डा. खत्री

बिमाले व्यवस्थापन गर्न नसकेका कारण पनि अस्पतालमा लामो लाइन हुने गरेको निर्देशक प्रा.डा. खत्रीको स्वीकारोक्ति छ । ‘बिमा आफैं रोगी भयो । बिमा बोर्डले गण्डकी मेडिकल कलेज र मणिपाल अस्पतालबाट दिने गरेको बिमा सेवा बन्द गर्दिन्छु भनेको छ,’ उनले भने ।

स्वास्थ्य बिमा बाहेकको जाँचमा पनि झमेला भने उस्तै नै हो । लामो र पटक–पटक लाइन बस्नुपर्ने समस्या समाधानका लागि मिडाजसँग सम्झौता गर्ने तयारी रहेको उनले बताए । ‘पेपरबेस्ड’का कारण सास्ती भएकाले ‘वेभबेस्ड’ बनाउने तयारी गरिएको उनको भनाइ थियो । मिडाजसँग सम्झौता भएपछि पटक–पटक लाइन बस्नुपर्ने बाध्यता छोट्याउन सकिने प्रा.डा. खत्रीको विश्वास छ ।

आफूले तत्कालै गर्न चाहेर पनि गर्न नसकेको, प्रक्रियागत झमेला बाधक भएको निर्देशक प्रा.डा. खत्रीको गुनासो पोखे । ‘स्वास्थ्य मन्त्रालयले हामीसँग मिल्ने सफ्टवेयर राख भन्यो । हामीले गाइडलाइन माग गरेका थियौं,’ उनले भने, ‘भोलि–भोलि भन्दै गर्दा ढिला भयो । सम्झौता कसरी गर्ने भन्ने क्लियर गरिदिए तत्काल टुंग्याउने थियौं ।’

उनले समस्या समाधानका लागि तत्काल सम्झौता गर्न विकल्प पनि सोचेको सुनाए । ‘पछि स्वास्थ्य मन्त्रालयले दिएका निर्देशन सफ्टवेयरमा राख्ने गरी शर्त राखेर भएपनि सम्झौता गर्ने कि भन्नेतर्फ सोचिरहेको छु,’ उनले थपे । माथिल्लो निकायबाट सहयोग नपाएको गुनासो गर्दै उनले गर्न खोजे पनि गर्न नसकिएको बताए । लाइन बस्नुपर्ने बाध्यता टोकन सिस्टम र फुल कम्प्युटराइज्ड गर्न सके समाधान हुने सोचेको तर तत्काल लाइन समस्या समाधान हुन नसकेको उनको भनाइ थियो । ‘पटक–पटकको लाइनको सास्ती हटाउने प्रयासमै छु । गर्न सकिएको छैन,’ उनले भने ।

गर्भवती तथा स्त्रीरोग जाँचसम्बन्धी सेवा दिन १÷२ वटा अल्ट्रासाउन्ड गाइने विल्डिङमै राखिदिने योजना पनि उनले सुनाए । अस्पताललाई हाल १ करोड बजेट प्राप्त भएकोमा २ वटा भिडियो एक्सरे मेसिन किन्ने योजना रहेको प्रा.डा. खत्रीले बताए । उनका अनुसार यही आर्थिक वर्षभित्र एउटा हाइ इन्ड र १ मिड इन्ड भिडियो एक्सरे मेसिन खरिद गरिसक्ने योजना छ । हाइ इन्ड मेसिन किन्न ५० लाखमाथि र मिडियम इन्ड ३० देखि ५० लाखसम्म पर्ने उनको अनुमान छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ