२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशधौलागिरी अस्पतालमा ल्याप्रोस्कोपी प्रविधीबाट शल्यक्रिया सेवा सुरू

धौलागिरी अस्पतालमा ल्याप्रोस्कोपी प्रविधीबाट शल्यक्रिया सेवा सुरू


पोखरा—धौलागिरी अञ्चल अस्पतालमा दुरबिन प्रयोग गरी पहिलो पटक सफल शल्यक्रिया गरिएको छ । बागलुङ अमलाचौरकी ३० वर्षीया महिलाको अण्डाशयबाट ओभरियन सिस्ट (पानीको फोका) निकाल्न दुरबिन प्रविधिको माध्यमबाट शल्यक्रिया गरिएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट शैलेन्द्र पोखरेलले बताए ।

‘पहिलो शल्यक्रिया ओभरी रोगको उपचारका लागि गरिएको हो । हामीले दुरबिनबाट हेरेर पाठेघरमा मासु पलाएको, शंकास्पद मासु बढेको निकालेर बायोस्पी गर्ने, बच्चा नहुने समस्याको पहिचान र उपचार, पित्तथैली, अण्डाशयको नसाको अवस्थाबारे जानकारी लिन दुरबिन प्रविधिको उपयोग गरी शल्यक्रिया सेवा उपलब्ध गराउनेछौं । यो ल्याप्रोस्कोपी सर्जरी हो,’ उनले भने ।

अस्पतालका स्त्री रोग विशेषज्ञ डा. केशव आचार्य, एनेस्थेसियोलोजिस्ट डा. गणेश वन, डा. सजिन कुँवर, डा. प्रज्ज्वल पौडेल, नर्स शर्मिलालगायतको टिमले शल्यक्रिया गरेको थियो । शल्यक्रिया गराएकी महिलाको स्वास्थ्य अवस्था सामान्य छ ।

डा. केशव आचार्य भन्छन्, ‘दुरबिनको प्रयोग गरेर शल्यक्रिया गर्दा ठूलो घाउ हुने गरी पेट चिर्नुपर्दैन । अप्रेसन समय कम लाग्छ । बिरामी छिट्टै निको हुन्छ । घाउ पाक्ने जोखिम हुँदैन् ।’

अहिले पहिलोपटक सुरुको यो प्रविधिबाट ल्याप्रोस्कोपी सर्जरी धौलागिरी अस्पतालमा मासिक २०/२५ जनाको गर्न सकिने डा. आचार्य बताउँछन् । ‘डाक्टरहरु बाहिरबाट सिकेर आएका भए पनि त्यहीं पहिले भएका नर्सहरुलाई यसबारे सिकाउनुपर्ने पनि हुन्छ । त्यसका लागि तालिममा पठाउने तयारी पनि छ,’ उनले भने ।

उनका अनुसार ओभरियन सिस्ट रहँदा पेट दुख्ने र धेरै समय भएमा क्यान्सरको जोखिमसमेत रहने हुन्छ । पछिल्लो समयमा एपेन्डाइटिस र पित्तथैलीसम्बन्धी अप्रेसन दुरबिन प्रविधिबाट हुने गरेको छ ।

अहिले ल्याप्रोस्कोपी सर्जरी सुरु गर्ने छात्रवृत्तिबाट करारमा कार्यरत चिकित्सक हुन् । स्थायी मेडिकल चिकित्सकको अभाव छ । भएका स्थायी चिकित्सक पनि काजमा अन्यत्रै रहेकाले करार डाक्टरको समयाअवधि सकिएपछि जनशक्ति अभाव हुनसक्ने भएकाले सेवा नै प्रभावित हुनसक्ने बताइन्छ ।

सफल शल्यक्रियासँगै धौलागिरी अस्पताल आउने बागलुङ, पर्वत, म्याग्दीका बिरामीले सहज सुविधा पाउने विश्वास गरिएको छ । डा. आचार्यका अनुसार प्राइभेट अस्पतालमा यसैप्रकारको सर्जरीका लागि लगभग १ लाखसम्म लाग्ने गरेको छ भने धौलागिरी अस्पतालमा १५/२० हजारमा सोही सुविधा बिरामीले लिन पाउनेछन् । पोखरा, काठमाडौं, भरतपुरलगायत टाढाका सहरमा जानुपर्दा लाग्ने समय र पैसाको बचत हुनेछ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ