२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशसंक्रामक तथा सरुवा रोग अस्पताल नमुना कार्यालय घोषणा, कार्यकारी निर्देशक डा. गौचन पुरस्कृत

संक्रामक तथा सरुवा रोग अस्पताल नमुना कार्यालय घोषणा, कार्यकारी निर्देशक डा. गौचन पुरस्कृत


पोखरा–संक्रामक तथा सरुवा रोग अस्पताल कास्की जिल्लाकै नमुना कार्यालय घोषणा भएको छ । नमुना कार्यालयका लागि सम्मानपत्रसहित ३० हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन प्रदेश निजामति सेवा पुरस्कार, २०७८ बाट पुरस्कृत भए । उनले सम्मानपत्रका साथमा करकट्टीसहित ५० हजार रुपैयाँ नगद प्राप्त गरे ।

अस्पताल सञ्चालक समितिले राम्रो काम नगरेको भन्दै गण्डकी प्रदेश सरकारले गत चैतमा समिति बर्खास्त गरी नयाँ समिति गठन गरेको थियो । नयाँ समिति गठन गरेको करिब २ महिनामै गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले नमूना कार्यालय घोषणासहित सम्मान गरेको हो ।

अस्पतालका निर्देशक डा. गौचन नयाँ आर्थिक वर्ष सुरु हुने बेलासम्म प्रयोगशाला, फार्मेसी, जनरल हेल्थ सर्भिस दिने योजना सुनाउँछन् । तर, अस्पतालको खातामा रहेको रकम पनि उपयोग गर्न नपाउने गरी रहेको उनको भनाइ छ ।

संक्रामक अस्पतालले कोभिड बिरामीको सबैभन्दा बढी र सस्तोमा उपचार गरेको छ । शोधभर्नाका आधारमा दिइएको रकम अहिले प्रदेश सरकारमातहतमा फ्रिज हुने अवस्थामा छ । अस्पतालका निर्देशक डा. गौचनका अनुसार करिब ३ करोड रुपैयाँ चालु आवमा खर्च नभए फ्रिज हुने अवस्थामा छ ।

‘हामीले कोभिड बिरामीको उपचार सस्तोमा ग¥यौं । संघ सरकारले पठाएको रकम प्रदेश सरकार मातहत रोकिएको छ, शोधभर्नामार्फतको रकम रकमान्तर नगरी प्रयोग गर्न पनि मिल्दैन्,’ उनले भने, ‘रकमान्तर नियम सहज पनि छैन । त्यो रकम उपयोग गर्न पाउने भए अस्पतालको स्तरोन्नति थप सेवा दिन सकिने गरी गर्ने थियो ।’ रकम प्रयोगका लागि प्रदेश सरकारसँग कुरा भइरहेको र संघ सरकारको ढोका ढकढकाउनुपर्ने अवस्था रहेको उनले सुनाए ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष रविमोहन भण्डारी ५ जना विशेषज्ञको दरबन्दीका लागि प्रदेश सरकारसँग माग गरिएको बताउँछन् । ‘पहिलो प्राथमिकता स्वास्थ्य बिमा सेवा सञ्चालन गर्नेछ । त्यसका लागि विशेषज्ञ डाक्टरको दरबन्दी आवश्यक छ । आधारभूत सेवा यहीं दिने गरी पहल गरिरहेका छौं,’ उनी भन्छन्, ‘बिमा बोर्ड केन्द्र र प्रदेश कार्यालयसँग समन्वय भइरहेको छ, हाम्रो पहल जारी छ, आएको धेरै भएको छैन, जसरी चलेको थियो, त्यसरी नै चलेको छ । तत्कालै परिवर्तन भइहाल्ने कुरा पनि होइन ।’

अर्काेतर्फ कोभिडमा धेरै स्वास्थ्यकर्मी जोखिम मोलेर सेवामा खटिएको भएपनि सिमित व्यक्तिमात्र पुरस्कृत भएको गुनासो स्वास्थ्यकर्मीको छ । कोभिडमा खटिएका नर्स, एम्बुलेन्स चालकलगायत अन्य कर्मचारीलाई पनि प्रोत्साहन गर्नुपर्नेमा प्रदेश सरकारको ध्यान नपुगेको सरोकारवालाको गुनासो छ । कोभिडमा खटेकाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

यता, तत्कालीन व्यवस्थापन सञ्चालन समितिका अध्यक्ष प्रा.डा. कृष्णप्रसाद पौडेलले आफूहरुलाई गण्डकी प्रदेश सरकारले राजनीति पूर्वाग्रहका कारण नियम विपरित बर्खास्त गरेको भन्दै अदालत गुहारेका छन् । सरकारविरुद्धको मुद्दा मंगलबार सुनुवाई हुने बताइएको छ ।

गणतन्त्र दिवसकै अवसरमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्य पनि पुरस्कृत भएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ