२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशनेपाल मेडिसिटीका चिकित्सकले उपचारमा लापरवाही गरेको भन्दैं मेडिकल काउन्सिलमा उजुरी

नेपाल मेडिसिटीका चिकित्सकले उपचारमा लापरवाही गरेको भन्दैं मेडिकल काउन्सिलमा उजुरी


पोखरा–अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोपसहित ललितपुरको मेडिसिटी अस्पतालविरुद्ध मृतकका छोरा समीरबहादुर बस्नेतले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका छन् । अस्पताल प्रशासन गैरजिम्मेवार बनेको भन्दै २८ असारमा उजुरी दिएको उनले बुधबार पोखरा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

१७ जेठमा अस्पताल लगिएका योगेन्द्र बस्नेतलाई मेडिसिटीका डाक्टर सुनिल शर्माको परामर्श उपचार थालिएको योगेन्द्रका छोरा समीरले बताए । २२ जेठमा पित्तथैलीको अप्रेसन गरेपछि थप समस्या निम्तिएको समीरको भनाइ छ । योगेन्द्रको २२ जेठमा ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरिएको थियो । बिरामी योगेन्द्रको उपचारका क्रममा डाक्टरको लापरबाहीले २५ जेठ मृत्यु भएको दावी गर्दै उनका छोराले छानविनको माग समेत गरेका छन् ।

बिरामीको आरोप पुष्टि गर्ने गरी अस्पताल प्रशासनले केही कमीकमजोरी भएको स्वीकार गरेको पत्रसमेत उनले सार्वजनिक गरेका छन् । नेपाल मेडिसिटीले २२ असारमा मृतकका छोरा समीरलाई जानकारी गराउँदै अस्पतालका स्वास्थ्यकर्मीबाट कमीकमजोरी भएको स्वीकार गर्दै निलम्बन गरी छानबिन थालिएको जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता प्रा.डा. जयन्द्र बज्राचार्यले मृतकका छोरा समीर बस्नेतलाई सम्बोधन गरी लेखेको पत्रको दोस्रो बुँदामा भनिएको छ, ‘तथापि बिरामीको अवस्थाबारे विभिन्न तहहरुमा जानकारी दिने तथा संवाद गर्ने क्रममा उपचारमा संलग्न एमसिएच रेजिडेन्ड डाक्टर, मेडिकल अफिसर तथा उपचारिकाबाट केही कमी कमजोरी भएको हुँदा उपचारमा संलग्न एमसिएच रेजिडेन्ड डाक्टर, मेडिकल अफिसर तथा उपचारिकालाई तत्काल निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बडाइएको छ ।’

बिरामीको अप्रेसनपछि रगत बग्न नरोकिएको र मल्टी अर्गान फेल भएकोले बिरामीलाई पुनः भेन्टिलेटरमा राख्नुपर्ने तर बाँच्ने सम्भावना कम भएको भनिएको थियो ।

मृतकका परिवारले ६ असारमा छानबिन गरी कारबाहीको माग गर्दै अस्पताल प्रशासनमा उजुरी दिएका थिए । तत्पश्चात् अस्पतालका मेडिकल सुपरिटेन्डन्टको संयोजकत्वमा छानबिन समिति गठन गरी ३ जनालाई निलम्बनसहित छानबिन थालिएको थियो ।

मानिसको मृत्यु भएको ४२ दिनसम्म पनि अस्पतालले मृत्युको कारण दिन नसकेको र गतिलोसँग छानबिन नभएको भन्दै मिडियासामु आउनुपरेको मृतकका छोरा समीरले बताए । उनले भने,‘अस्पतालले गरेको गम्भीर लापरबाहीले बुबाको ज्यान गुमाएपछि पनि न्यायको आभाष नभएपछि मिडियासमक्ष आएका हौं ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ