२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमर्स्याङ्दीमा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

मर्स्याङ्दीमा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने


पोखरा- लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासी सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने योजना ल्याएको छ । पालिकावासी नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै वर्षमा एकपटक सबैको स्वास्थ्य जाँच गराउने नीति लिएको हो ।

सामान्यतया बिरामी भएमात्रै स्वास्थ्य जाँच गर्ने आम नागरिकका लागि भने यो नयाँ योजना भएको छ । पालिकावासीमा लुकेर रहेको स्वास्थ्य समस्या सुरुकै अवस्थामा बाहिर आउने र निरोगी समाज निर्माणमा सहयोग पुग्ने गाउँपालिका प्रमुख अर्जुन गुरुङको विश्वास छ।

अध्यक्ष गुरुङ भन्छन्, ‘पालिकाका सबै वडामा स्वास्थ्य इकाइहरु छन्, तिनै स्वास्थ्य इकाइमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरी पालिकावासीको स्वास्थ्य जाँच गर्ने लक्ष्य हो । १० शैयाको पालिकास्तरीय अस्पताल सम्पन्न हुन अब करिब २ वर्ष लाग्ला ।’ गुरुङका अनुसार सुगर, प्रेसरलगायतका समस्या पत्ता लगाउने, रगत तथा पिसाब जाँच हुनेछ । ‘अस्पतालहरुको सहकार्यमा शिविर आयोजना गर्ने हो, गाउँठाउँमा सम्भव हुने खालका सामान्य जाँच शिविरमा हुनेछन्,’ उनले भने ।

‘स्वास्थ्य नै धन’ भएकाले पालिकावासीको स्वास्थ्यप्रति गाउँपालिका सचेत छ, त्यसैले पालिकावासी सबैको वर्षको एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरिएको हो,’ अध्यक्ष गुरुङले बताए । उनका अनुसार गाउँपालिकाले एक वडा एक एम्बुलेन्स तथा टेली मेडिसिन सेवालाई पनि विस्तारका लागि पहल गरिनेछ । अहिले पनि अस्पताल जानुपर्ने बिरामीले गाउँपालिकाको एम्बुलेन्समार्फत सेवा लिइरहेका छन् ।

सामुदायिक स्वास्थ्य, जनस्वास्थ्य केन्द्र, मनोपरामर्श केन्द्र, रक्त सञ्चार केन्द्र स्थापना गरिने गाउँपालिकाले योजना छ । महिलाहरूको प्रजनन स्वास्थ्यलगायत अन्य रोग पहिचान र उपचारका लागि विशेषज्ञ डाक्टरसहितको शिविर सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

अध्यक्ष गुरुङले भने, ‘शतप्रतिशत स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीबाट प्रुसूति सेवा उपलब्ध गराइने गाउँपालिकाले नीति लिएको छ । प्रसूति हुने महिलालाई निशुल्करुपमा स्वास्थ्य संस्था जाने आउने व्यवस्था मिलाइएको छ ।’

ज्येष्ठ नागरिक, विपन्न तथा अपांगता भएकाको निःशुल्क स्वास्थ्य विमामार्फत उपचार हुनेछ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ