२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगाउँपालिकामै गर्भवतीलाई नि:शुल्क भिडियो एक्स-रे र एम्बुलेन्स सेवा

गाउँपालिकामै गर्भवतीलाई नि:शुल्क भिडियो एक्स-रे र एम्बुलेन्स सेवा


पोखरा -गोरखाको  भीमसेन थापा गाउँपालिकाले गर्भवती महिलालाई वडास्तरमा भिडियो एक्स-रे सेवा नि:शुल्क प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले गाउँपालिकाले वडा/वडामा पोर्टेबल भिडियो एक्स-रे मेसिनको प्रयोग गरी  गर्भवतीका लागि सेवा दिन थालेको बताएका हुन्।

उनका अनुसार नयाँ आर्थिक वर्षबाट लागु हुने गरी सो सेवा थालिएको हो । ‘सुरुको अवस्थामा ४१ जना गर्भवतीको स्वास्थ्य जाँच गरिएकोमा एक जनाको गर्भावस्था जटिल रहेको पत्ता लगायौं र विशेषज्ञ सेवा लिन सुझाव दिएका छौ, ‘उनले भने ।

गाउँपालिकाका ३ वटा एम्बुलेन्स रहेको र गर्भवतीका लागि सो सेवा पनि नि:शुल्क गरिएको उनले जानकारी दिए । पालिकाको १० शैय्याको अस्पताल भवन बनाउन टेन्डर प्रक्रिया मै छ । वडा नम्बर २ र ८ मा स्वास्थ्य इकाइ भवन बन्दै छन् तथापि सेवा भने दिइरहेको गाउँपालिका अध्यक्ष बञ्जारा बताउँछन् ।

ज्येष्ठ नागरिक, असहाय र अपांगता भएकाहरुका लागि घरदैलोमा सेवा दिन प्रतिवद्ध रहेको उनको भनाइ छ । गाउँपालिकाबासीलाई जटिल रोगमुक्त बनाउन नसर्ने रोग स्क्रीनिङ शिविरको आयोजना गर्ने योजना गाउँपालिका अध्यक्ष बञ्जाराले सुनाए ।

उनले भने, ‘हामीकहाँ रोगले आक्रान्त पारेपछि अन्तिम अवस्थामा मात्रै अस्पताल जाने परिपाटी छ । रोगले स्वास्थ्य बिगारेर अन्तिम अवस्थामा पुग्नुभन्दा ८-१० वर्ष पहिले नै त्यसको लक्षण त देखिन्छ । मुट, मिर्गौला, क्यान्सर जस्ता रोगहरुको निदानका लागि शिविर प्रभावकारी हुने विश्वास छ ।’

पालिकावासी नागरिकलाई ३ भागमा वर्गीकरण गरी अति विपन्नलाई विशेष सुविधा दिने गरी योजना बनाउने अध्यक्ष बञ्जाराको योजना छ ।गर्भवती महिलाको स्वास्थ्य र ज्यान नै जोखिममा पर्नसक्नेतर्फ सचेत रहँदै अल्ट्रासाउन्ड सेवा सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल बताउँछन् । गाउँपालिकाका स्वास्थ्य संस्थामापर्फत सेवा दिन लागिएको खनालको भनाइ छ ।

उनका अनुसार हरेक महिनाको ७, ८ र ९ गते गर्भवतीका लागि भिडियो एक्सरे सेवा प्रदान गरिनेछ । ती दिनमा बिदा परे पनि सेवा बन्द नहुने उनले स्पष्ट पारे । गर्भवतीका लागि आवश्यक पर्ने जाँच सेवा निशुल्क गर्ने योजनाअनुसार काम भइरहेको उनको भनाइ थियो ।

हाल गाउँपालिकाको वा नम्बर १ र ६ मा प्रयोगशालासहितका स्वास्थ्य चौकी छन् भने वडा नम्बर ७ मा प्रयोगशाला स्थापना गर्ने काम भइरहेको छ । प्रमुख खनाल भन्छन्,‘ भवन लगायत पूर्वाधार तयार भइसकेकाले आधारभूत सेवा दिने गरी ल्याब स्थापनाको तयारी गर्दै छौं ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ