२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा

मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा


पोखरा – जिल्ला अस्पताल मुस्ताङमा पहिलोपटक शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएको छ । थासाङ २ लेते मुस्ताङकी २१ वर्षीया अनिता परियारको सो अस्पतालले पहिलोपटक शल्यक्रियामार्फत प्रसूति गराएको अस्पतालले जनाएको हो ।

अस्पतालका एमडिजिपी डा. कुन्दन कर्ण, डा. विशाल तिवारी, डा. राजीव सापकोटा, स्टाफ नर्स नीता घर्तीमगर, सुनीता, श्रीमल लगायतको टिमले सफल शल्यक्रिया गरेको हो ।

डा. कर्णका अनुसार पाठेघरमा पानी नभएको र बच्चाको घाँटीमा नाल बेरिएका कारण प्राकृतिक सुकेरी हुन नसक्ने अवस्था थियो । शल्यक्रिया कक्षको स्थापना र आवश्यक साधनस्रोतको व्यवस्थापन भएपछि पहिलो पटक सफल शल्यक्रिया गर्न सकेकोमा उनले खुसी व्यक्त गरे ।

डा कर्ण भन्छन्, ‘भरतपुर अस्पतालमा हुँदा साढे ३ सयभन्दा बढी प्रसूति शल्यक्रियामा सहभागी भएको हुँदा पनि ढुक्कसँग शल्यक्रिया सुरु गर्न सकियो ।’ त्यसो त पोखराबाट हेलिउद्धारको आवश्यक परे हेलिउद्धार गर्ने गरी तयारी पनि गरिएको थियो ।

शल्यक्रियाका क्रममा अत्याधिक रक्तश्राव हुने समस्या आए हेलि उद्धार गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरिएको थियो । उनका अनुसार अस्पतालमा हाडजोर्नी तथा औंला भाँचिएकोमा पिन राखेर गरिने शल्यक्रिया यसअघि पनि भएका थिए । छात्रवृत्ति करारमा काम गरिरहेका डा. कर्ण हाइड्रोसिल, एपेन्डिक्स लगायत शल्यक्रिया गर्न सकिने शल्यक्रिया कक्ष व्यवस्थापन भए पनि हाइड्रोसिल अप्रेशनका बेला आइसियूसमेत आवश्यक हुनसक्ने भएकाले त्यस्ता प्रकृतिको शल्यक्रिया भने नगरिएको बताउँछन् ।

सो अस्पतालमा दैनिक २०-२३ जना बिरामी आउने गरेका छन् । पर्यटकीय सिजनमा भने लेक लाग्ने बिरामीको चाप हुने डा. कर्णको भनाइ छ । अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि विज्ञापन भएकोमा भदौ ५ देखि ६ जनाले करारमा नियुक्ति पाउने अस्पतालले जनाएको छ । तथापि ल्याब टेक्निसियनका लागि गरिएको विज्ञापनमा कुनै आवेदन नपरेको डा. कर्णले जानकारी दिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ