२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशअब लमजुङ अस्पतालमै डायलाइसिस सेवा

अब लमजुङ अस्पतालमै डायलाइसिस सेवा


पोखरा–लमजुङ अस्पतालले डायलाइसिस सेवा सुरु गरेको छ । प्रदेश सरकारको अनुदानमा डायलाइसिस मेसिन प्राप्त भएपछि निःशुल्क सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

लमजुङको दोर्दी गाउँपालिकाकी ७० वर्षीया एक महिलाले अस्पतालमा शुक्रबार पहिलो सेवा लिएकी छन् । ती बिरामीको ३ वर्षदेखि डायलाइसिस भइरहेको थियो । उनको हप्ताको २ पटक ३/३ घन्टा डायलाइसिस गर्नुपर्ने प्रमुख श्रेष्ठको भनाइ छ ।

तत्कालका लागि दैनिक १/२ जनाको मात्र डायलाइसिस गरिने र अस्पतालका स्वास्थ्यकर्मी पूर्ण दक्ष भएपश्चात् दैनिक ८/१० जनाको डायलाइसिस गर्न सकिने अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । अस्पतालमा आएका ७ मध्ये ६ मेसिन इन्स्टलेसन गरिएको छ भने १ मेसिन व्याकअपका रुपमा प्रयोग गरिने भएको छ ।

पहिलो डायलाइसिस सेवा बागलुङबाट आएका २ जना स्टाफ नर्स बेलिसरा भुजेल र सावित्री बस्यालले लमजुङ अस्पतालका नर्सिङलाई सिकाउँदै छन् । लमजुङ अस्पतालका तालिम लिएका नर्सहरुलाई सिकाउन तथा आत्मविश्वास बढाउन उनीहरु लमजुङ पुगेका हुन् ।

अस्पतालका अनुसार डायलाइसिस सेवा दिन दक्ष बनाउने उद्देश्यले ४ जना स्टाफ नर्सलाई तालिम प्रदान गरिएको थियो । उनीहरुले वीर अस्पताल काठमाडौंमा गएर तालिम लिएका हुन् । थप ३/४ जना नर्सिङ स्टाफलाई तालिम दिएर दक्ष बनाउने योजना प्रमुख श्रेष्ठले सुनाए ।

अस्पतालमा मिर्गौला रोग विशेषज्ञ डा. एमिल तथा इन्टरनल मेडिसिन डाक्टरसमेत भएकाले मिर्गौला डायलाइसिसमा सेवा सहज हुने प्रमुख श्रेष्ठले विश्वास व्यक्त गरे । डा. एमिल भोलुन्टियरका रुपमा कार्यरत छन् । उनको सेवा अवधि साढे २ वर्ष रहेको छ ।

जिल्लामा अहिले ६४ जना डायलाइसिस गर्नुपर्ने बिरामी रहेको प्रमुख श्रेष्ठले बताए । उनका अनुसार शुक्रबारसम्म १६ जनाले नाम दर्ता गराएका छन् भने शनिबारसम्ममा ३ जनाको डायलाइसिस गरिएको छ । यसअघि पोखरा, काठमाडौं, भरतपुरलगायत ठाउँमा डायलाइसिसका लागि जानुपर्ने बाध्यता थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ