२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमध्यविन्दु जिल्ला अस्पतालको मागः कि मेसु देऊ कि अख्तियारी

मध्यविन्दु जिल्ला अस्पतालको मागः कि मेसु देऊ कि अख्तियारी


पोखरा–मध्यविन्दु जिल्ला अस्पताल १५ शैय्याबाट ५० शैयामा स्तरोन्नती भएपनि सोहीअनुसार दरबन्दीका स्वास्थ्यकर्मी छैनन् । वि.सं. २०७५ फागुनमा १५ शैय्याको जिल्लास्तरीय अस्पताल गत वर्ष ५० शैय्यामा स्तरोन्नती हुने घोषणा भएपनि आवश्यक डाक्टर तथा कर्मचारी व्यवस्थापन हुन सकेको छैन ।

यतिबेला यसअघिका मेडिकल सुपरिटेन्डेन्ट सर्जन डा. बीरबहादुर थापा समायोजनमार्फत वीर अस्पताल गएपछि मेसुको पदसमेत रिक्त भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए । ‘अहिले त अस्पताल व्यवस्थापन समितिसमेत पदपूर्ति भएको छ, हामीले कि मेसु देऊ कि अख्तियारी देऊ भनेका छौं,’ उनले भने, ‘मेसु नहुँदा औषधी खरिद, तलबभत्ताका लागि नयाँ निर्णयलगायत काममा बाधा पुगेको छ ।’

गत साउनमा मेसु डा. थापा वीर अस्पताल गएपछि अस्पताल साउनमै मेसुविहीन भएको हो । उक्त कुराको जानकारी त्यतिबेलै दिएको भएपनि १०÷१२ दिन अघि समितिले तालुक निकायमा पत्राचार गरेको छ । डा. थापाको समायोजन हुने कुरा स्थानीय चुनावअघि नै जानकारी थियो । चुनाव, आर्थिक वर्षको अन्त्यलगायत कारणले डा. थापा साउन २० सम्म मध्यबिन्दुमै रहेका थिए । मेसु व्यवस्थापन पश्चात् जाने थापाले बताएपनि सरकारी बेवास्ताले मेसु रिक्त भएको अस्पतालको दाबी छ ।

सरकारी दरबन्दीका डाक्टरविहीन मध्यविन्दु

सरकारले दिनुपर्ने डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी व्यवस्थापनमा चासो नदिएको अस्पताल स्रोतको दाबी छ । तर, अस्पतालले आफ्नै तरिकाले सेवा विस्तार गरेको छ । अस्पतालमा डाक्टरको ३ दरबन्दी छन् तर दरबन्दीका डाक्टर १ जना पनि छैनन् ।

तत्कालीन मेसु डा. थापा समायोजनमा गएपश्चात् करिब १ महिनादेखि उक्त पद रिक्त छ । अन्य २ डाक्टरमध्ये १ जना सरुवा र अर्का १ जना अध्ययन बिदामा विदेश गएपछि अस्पताल सरकारी दरबन्दीका डाक्टरविहीन हुन पुगेको हो ।

६ जना नर्सिङ स्टाफमध्ये अस्पतालमा २ जनामात्रै कार्यरत छन् । ४ दरबन्दी रिक्त छन् । प्रशासनिक कर्मचारीतर्फ १ जना नायब सुब्बा र १ जना खरिदारको पद रहेकोमा पद रिक्त छन् । लेखाको दरबन्दी नै नहुँदा आन्तरिक राजस्वका कर्मचारीले जिम्मेवारी सम्हालिरहेका छन् ।

एनेस्थेसिस्ट १, ल्याब टेक्निसियन १ र अहेब १ जनाको पनि दरबन्दी रिक्त नै छ । आन्तरिक स्रोतका ४७ कर्मचारी र ग्रामीण फाउन्डेसन नामक संस्थामार्फत् ६ जनाले तलबभत्ता खाने गरेका छन् ।

अस्पतालमा अहिले छात्रवृत्तिका १० जना, समितिले नियुक्ति दिएका ३ जना र प्रदेशमार्फत प्राप्त अस्थायी १ जना गरी १४ जना डाक्टर कार्यरत छन् । अस्थायी करारमा १ जना दिएको मेडिकल अधिकृत पदमा सर्जन डाक्टर नियुक्त भएपछि सर्जरी सेवा सुरु भएको छ ।

तत्कालीन मेसु डा. थापाले नै सर्जरी सेवा दिइरहेको भएपनि डाक्टर थापा नै बिरामी परेपछि करिब ५ महिना सेवा अवरुद्ध भएको थियो । अस्पतालले हर्निया, पाल्यस, एपेन्डिक्स, शल्यक्रियाबाट सुत्केरी गराउनेलगायत सेवा सञ्चालनमा ल्याएको थियो ।

अस्पतालमा दैनिक २ सय हाराहारीमा ओपिडी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमसमेत सञ्चालन गरेको छ । अस्पताल आउने बिरामीमध्ये करिब ६० प्रतिशत बिरामी बिमित रहेको अस्पतालका सूचना अधिकारी सुवेदी बताए । उनका अनुसार सवा करोड रुपैयाँ बिमाबापत्का शोधभर्ना हुन बाँकी हुँदा खर्च व्यवस्थापनमा समेत समस्या छ । अस्पतालमा दैनिक १० देखि ३० जना भर्ना हुने बिरामी आउने गरेका छन् । उनीहरुलाई खाजा खानाको व्यवस्थासमेत अस्पतालले गर्ने गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ