२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश६० वर्षभन्दा बढी बिरामीको सेवामा बिताएका डा. कुमार शमशेर रहेनन्

६० वर्षभन्दा बढी बिरामीको सेवामा बिताएका डा. कुमार शमशेर रहेनन्

डा. कुमार ८५ वर्षमा पनि ओपिडीमा बिरामी हेर्थे


पोखरा-पोखरामा आधुनिक उपचार पद्धति अपनाउँदै बिरामीको उपचार थालनी गर्ने पुराना डा. कुमार शमशेर राणाको पोखरामा निधन भएको छ । ६० वर्षभन्दा बढी बिरामी जाँच गरेका राणाको शुक्रबार ८५ वर्षको उमेरमा निधन भएको हो ।

राणालाई लामो समयदेखि सुगर, दम र उच्च रक्तचापको समस्या थियो । उनलाई जाँच गरिरहेका प्रा.डा. बुद्धिबहादुर थापाका अनुसार पछिल्लो समय निमोनिया भएको थियो । स्वास्थ्य अवस्था कमजोर बनेपछि राणालाई अस्पताल लगिएको थियो ।

राणाको स्वास्थ्य हेरचाह पछिल्ला वर्षहरुमा प्रा.डा. थापाले गर्ने गर्थे । ‘डाक्टर कुमार शमशेरबाट धेरै सिक्ने अवसर पाएँ,’ उनले भने, ‘उहाँ उपचार गर्न पाउनु गौरवको कुरा हो ।’ डा. थापा दोस्रो पुस्ताका अब्बल डाक्टर मानिन्छन् ।

राणा पोखराको पद्म नर्सिङ होमका संस्थापक थिए । सरकारी अस्पतालको भन्दा फरक सेवा दिने गरी नर्सिङ होम खोलेको उनी बताउने गर्थे । वि.सं. १९९४ सालमा पाल्पामा जन्मिएका राणाले भारतको लखनउबाट चिकित्सा शिक्षा लिएका थिए । उनले वि.सं. २०१९ सालमा भक्तपुरबाट सेवा सुरु गरेका थिए । वि.सं. २०२६ सालदेखि पोखरा आएका राणा पोखरामै बस्थे । उनले नै पोखरामा एलोपेथिक औषधीको माध्यमबाट गरिने उपचार पद्धति भित्र्याएको बताइन्छ ।

राणाले स्वास्थ्य सेवा दिने बेला एकपटक भेटेका बिरामीले उनैबाट स्वास्थ्य जाँच गराउन चाहन्थे । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लामो समय काम काम गरे । निधनको २ हप्ता अघिसम्म पनि राणाले पद्म नर्सिङको ओपिडी वार्ड बिरामी हेर्ने गरेका थिए । उनी स्वास्थ्यकर्मीले पैसामात्रै होइन्, सेवाको भावले हेर्नुपर्ने बताउँथे ।

पोखराका दोस्रो पुस्ताका कन्सल्टेन्ट फिजिसियन डा. वसन्त ताम्राकार राणालाई सरल, शालीन स्वभावका व्यक्ति भएको बताउँछन् । उनी भन्छन्, ‘अहिले त नयाँ नयाँ प्रविधिको कुरा पनि छ, तर सामान्य तरिकाले पनि धेरै बिरामीलाई निको पार्न सकिन्छ भन्ने उहाँले देखाउनुभयो । डाक्टर एसोसिएसनका अध्यक्ष पनि हुनुभयो । १९८६ मा नेपाल मेडिकल एसोसिएसनको भेला समेत गराउनुभएको थियो । डा. राणा आउने बेला त पोखरामा डाक्टर नै थिएनन् ।’

राणाका छोरा र श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ । उनका बुहारी, छोरी र नाति-नातिना छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ