२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशउचित पारिश्रमिकको माग गर्दै निजी अस्पतालमा काम गर्ने नर्सहरु आन्दोलनमा

उचित पारिश्रमिकको माग गर्दै निजी अस्पतालमा काम गर्ने नर्सहरु आन्दोलनमा


पोखरा—उचित पारिश्रमिक र सेवासुविधाको माग गर्दै कास्कीका निजी अस्पतालमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार नर्सहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् ।

धर्नामा विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका करिब ४० जना नर्स तथा स्वास्थ्यकर्मीको सहभागिता थियो । उनीहरुले ‘नर्स हुनुमा गर्व गर्नु कि पश्चाताप ?’, ‘नर्सहरुलाई न्याय देऊ’, ‘सेभ नर्स, सेभ लाइभ’, ‘उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गर’, ‘विदेश रहर कि बाध्यता ?’ ‘काम धेरै तलब थोरै,’ ‘न्याय खै,’ लगायत प्लेकार्ड बोकेर धर्नामा बसेका थिए ।

दबाब कार्यक्रममा ६० देखि ८० जनाको सहभागिता हुने अपेक्षा गरिएको भएपनि काम गरिरहेको संस्थाबाट अनावश्यक दबाब झेल्नुपर्ने जोखिमका कारण धेरै सहभागी हुन नसकेको दबाब कार्यक्रममा सहभागी नर्स मनीषा रानामगरले बताइन् । ‘हाम्रो मुख्य गन्तव्य विदेश भएजस्तो देखिएको छ । हामीले स्वदेशमै उचित पारिश्रमिकलगायत सेवासुविधा पाउनुप¥यो भन्ने हाम्रो मुख्य माग हो,’ उनले भनिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५ बुँदे मागपत्र बुझाइसकेपछि स्वतःस्फूर्त समर्थनसहित धर्ना गरिएको कार्यक्रम संयोजक सरस्वती पुरीले बताइन् । ‘सबैजसो निजी अस्पतालहरुमा श्रमशोषण छ,’ उनले भनिन्, उनले भनिन्, ‘सधैँ शोषणमा रहेर काम गर्नुभन्दा बरु आवाज उठाउनैपर्छ भनेर आन्दोलनमा लागेका हौं ।’

आन्दोलित नर्सिङ स्टाफहरुमा निजी स्वास्थ्य संस्थाबाट बाहिरिनुपर्ने हो कि भन्ने चिन्ता नभएको भने होइन् । लाखौं खर्च गरेर पढिसकेपछि कार्यालय सहयोगीभन्दा कम तलब सुविधामा काम गर्नु उपयुक्त नहुने भएकाले आँट गरेर आन्दोलनमा लागेको पुरी बताउँछिन् । कुल संख्याको आधाभन्दा बढी नर्स विदेश पलायन हुँदा नेपालमा नर्सको अभाव हुने उनको भनाइ थियो । ‘अहिले किन आन्दोलन गरे, विद्रोह गरे भन्नेहरुले पनि भोलि ठिक रहेछ भन्ने सोच्लान् नि,’ उनले थपिन् ।

नर्सहरुले तलब सुविधा वृद्धि, कार्यक्षेत्रमा सुरक्षा, जीवन बिमा हुनुपर्नेलगायत माग राखेका छन् । माग पूरा नहुँदासम्म आन्दोलन कडा रुपमा अघि बढाउने आन्दोलनरत नर्सहरुको भनाइ छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ