२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमध्यविन्दुमा निःशुल्क डायलाइसिस सेवा सुरू

मध्यविन्दुमा निःशुल्क डायलाइसिस सेवा सुरू


पोखरा—मध्यविन्दु जिल्ला अस्पतालमा मिर्गौला बिरामीहरुलाई निःशुल्क रुपमा डायलाइसिस सेवा सुुरु भएको छ । सेवाको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले शुभारम्भ गरिन् ।

डायलाइसिस सेवा सञ्चालन गर्न प्रदेश सरकारले ४ वटा डायलाइसिस मेसिन उपलब्ध गराएको थियो । अस्पतालको सेवा क्षेत्रमा १३० हाराहारीमा डायलाइसिस गर्नुपर्ने बिरामी भएको अनुमान अस्पतालको छ । हालसम्म ५० जना बिरामीले अस्पतालमा नाम दर्ता गराएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार अहिले ४ वटामध्ये ३ वटा मेसिनमात्र नियमित सञ्चालन गरिएको छ भने १ मेसिन जगेडामा राखिएको छ । जनशक्ति अभावले पूर्ण सेवा दिन नसकिएको उनको भनाइ छ । ‘हामीले यहाँबाट तालिमका लागि पनि पठाएका छौं,’ उनले भने, ‘फागुनपछि २ सिफ्टमा सञ्चालन गर्न सकिएला, अहिले एक सिफ्ट मात्र सञ्चालन गरेका छौं ।’

अस्पतालका अनुसार सुरुको अवस्थामा ९ जनालाई डायलाइसिस सेवा दिइएको छ । मध्यविन्दु जिल्ला अस्पताल बनेसँगै ५० शैय्यामा सेवा दिन सुरु भएको छ । अस्पताल ५० शैय्याको भनिएपनि दक्ष जनशक्ति अभाव रहेको सूचना अधिकारी सुवेदी बताउँछन् ।

‘हामीसँग भएको जनशक्तिलाई तालिमको अवसर रहे पनि पठाउन सकिएको छैन, हामीसँग पहिले नै जनशक्ति अभाव छ,’ उनले भने । स्थानीय तहबाट जनशक्ति दिनेगरी आश्वासन पाएको उनको भनाइ छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ