२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ग्रीन पास्चर अस्पतालबीच सिटी स्क्यान सेवाबारे समझदारी

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ग्रीन पास्चर अस्पतालबीच सिटी स्क्यान सेवाबारे समझदारी


पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ग्रीन पास्चर (हरियो खर्क) अस्पतालबीच सिटी स्क्यान सेवा दिनेबारे सम्झौता भएको छ । सिटी स्क्यान मेसिन बिग्रिएर सेवा दिन नसक्ने अवस्थामा एकअर्कालाई सघाउने गरी सम्झौता भएको अस्पतालले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सिटी स्क्यान मेसिन बिग्रिएको अवस्थामा बिरामी हरियो खर्क अस्पतालमा रिफरल सेवा लिन जानुपर्नेछ । तर, सिटी स्क्यान शुल्क भने पश्चिमाञ्चल क्षेत्रीय अस्प्तालमा नै बुझाउनुपर्ने अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा गराएका बिरामीहरुले पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बिमा काउन्टरमा नै बिलिङ गर्नुपर्नेछ ।
हरियो खर्क अस्पताल पुगेर सेवा लिनुपर्नै अवस्थामा पनि थप शुल्क नलाग्ने अस्पतालले प्रष्ट पारेको छ । हरियो खर्क अस्पताल जाँदा सवारी सुविधा भने हरियो खर्क अस्पतालले नै उपलब्ध गराउनेछ । २१ जेठमा समझदारी भई सेवा सुचारु भएको छ ।

करिब १० वर्ष सेवा अवरुद्ध भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा फिलिप्सको सिटी स्क्यान मेसिन गत साउनमा भित्रिएको थियो । नेदरल्यान्डबाट ५ वर्ष वारेन्टीसहित भित्रिएको सिटी स्क्यान मेसिन कम्पनीबाटै प्राविधिक आउनुपर्ने र समय धेरै लाग्ने भएपनि सेवामा सास्ती भएको छ ।

क्षेत्रीय अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएकोमा मर्मत गरिएको थियो । फेरि बिग्रिएपछि समस्या समाधानको विकल्पका रुपमा सम्झौता गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठले बताए । उनले भने, ‘सिटी स्क्यान मेसिन बीचमा बिग्रिएर मर्मत भएको थियो । तर, फेरि बिग्रिएको छ । समस्या समाधानका लागि २१ जेठमा भएको सम्झौताअनुसार काम भइरहेको छ ।’

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लामो समय सिटी स्क्यान सेवा थिएन । बीचमा नयाँ मेसिन ७ करोड लागतमा सेवा सुचारु गरेको भएपनि पुनः मुसाले तार काटेको भन्दै सेवा अवरुद्ध भएको अस्पतालले सूचना जारी गरेको थियो ।

सरकारी अस्पतालमा मेसिन धेरै बिग्रनुको कारण निजी अस्पतालमा कार्यरत कर्मचारी त्यहाँ काम गर्ने र नियतवश बिगार्ने गरेको आरोप लाग्ने गरेको छ । यस सम्बन्धमा अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्री भने बिरामीको चाप र धेरै कर्मचारीले मेसिन चलाउँदा समस्या आएको बताए ।

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीलाई सिटी स्क्यान सेवा लिन मणिपाल र गण्डकी मेडिकल कलेज (जिएमसी) जानुपर्ने बाध्यता केही समय हटेको थियो । अस्पतालमा सिटी स्क्यान बिग्रिएको अवस्थामा अब भने हरियो खर्कबाट सेवा दिने व्यवस्था अस्पतालले मिलाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ