२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीका १ सय ४० संस्थाबाट १२ हजार बढीले लिए गर्भपतन सेवा

गण्डकीका १ सय ४० संस्थाबाट १२ हजार बढीले लिए गर्भपतन सेवा

असुरक्षित गर्भपतन गराउने महिला जोखिममा


पोखरा—गण्डकी प्रदेशमा गत वर्ष १ सय ४० संस्थाबाट १२ हजार ४ सय ५० जनाले गर्भपतन गराएको पाइएको छ । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले सो तथ्यांक सार्वजनिक गरेको हो ।

तर, यो तथ्यांकमा असुरक्षित गर्भपतन गराउनेहरु समावेश छैनन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका कम्युनिटी नर्सिङ अधिकृत अनुराधा तिमिल्सिनाले आर्थिक वर्ष २०७९/०८० मा कास्कीका मात्रै ३ हजार ७ सय २३ जनाले गर्भपतन गराएको तथ्यांक प्रस्तुत गरिन् ।

उनले नेपालमा १ वर्षमा १ लाख ८६ हजार १ सय ४४ जनाले असुरक्षित गर्भपतन गर्ने गरेको विवरण कृपा संस्था उदृृत गर्दै बताएकी थिइन् । यसबाट पनि गर्भपतन गराउनेको संख्या बढ्ने सहजै अनुमान लगाउन सकिन्छ ।

कृपाको प्रतिवेदन अनुसार नेपालमा प्रति घन्टा २१, प्रतिदिन ५ सय २० र प्रतिमहिना १५ हजार ५ सय १२ जना महिला÷किशोरीले असुरक्षित गर्भपतन गराउँछन् । उक्त संस्थाको तथ्यांकअनुसार नेपालमा गर्भपतन गराउनेमध्ये ५८ प्रतिशतले असुरक्षित विधि अपनाउँछन् । कुल मातृ मृत्युमध्ये ५ प्रतिशत असुरक्षित गर्भपतनको कारणले हुने गरेको छ ।

नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले महिलाको मञ्जुरीमा १२ हप्तासम्म, जटिल समस्याका बेला २८ हप्तासम्मको गर्भ चिकित्सकको सल्लाहमा पतन गर्न पाउने अधिकार दिएको छ । असुरक्षित गर्भपतन रोक्न मन्त्रालयले मोनिटरिङ गरिरहेको नर्सिङ अधिकृत तिमिल्सिनाले बताइन् ।

पोखरामा स्वास्थ्य प्रवर्द्धज सेवासम्बन्धी संवाददाता र स्वास्थ्यकर्मीहरुका लागि पैरवी कार्यक्रम सञ्चालन गरेको थियो । आइतबार पाठेघर खस्ने समस्यासँगै प्रसव, फिस्टुलाका कारण, लक्षण, रोकथाम र उपचारको विषयमा संवाददाता तथा स्वास्थ्यकर्मीलाई जानकारी गराउने उद्देश्यले पोखरामा कार्यक्रम गरेको हो ।

कार्यक्रममा नसर्ने रोग र रोकथामबारे जानकारी दिइएकोे थियो । स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले स्वास्थ्यका विषयमा जनचेतना जगाउन भरपर्दाे माध्यम मिडिया भएको बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ