२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशदमौली अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन्टमा डा. परिवर्तन

दमौली अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन्टमा डा. परिवर्तन


पोखरा—तनहुँको दमौलीस्थित दमौली अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन्टका रुपमा डा. परिवर्तन बराल आएका छन् । यसअघि उनी म्याग्दी अस्पतालमा कार्यरत थिए ।

अस्पतालमा मेसुको जिम्मेवारी सम्हालेलगत्ते विभिन्न पक्षसँग छलफल गरेको बताएका डा. बराल अस्पतालको सरसफाइदेखि सुधारको काम सुरु हुने बताउँछन् । ‘पहिलो कुरा त यहाँको अवस्था बुझ्न केही समय लाग्छ । सरसफाइबाट काम थाल्छु । अस्पतालको स्तरोन्नतीलगायत विभिन्न पक्षमा देखिने र अनुभव हुने गरी काम गर्ने सोचेको छु । सबै पक्षको सहयोग पाउनेमा विश्वस्त छु,’ सर्जन डा. बरालले भने ।

उनले दमौली अस्पतालमा डाक्टर टिकाउनेबारे पनि योजना बनाउने बताए । ‘ल्याबका सकिने खालका आवश्यक सामग्री व्यवस्थापन, तलब भुक्तानी लगायतमा पहिलो ध्यान दिनुपर्नेछ,’ उनले थपे । सिट नै नहुने र करारमा राखेपनि लामो समय बस्न नखोज्ने समस्या विभागीय कुराकानीमा थाहा भएको उनले बताए । पुराना भइरहेका समस्या समाधान गर्ने र नयाँ सुविधा थप गर्न अध्ययन, छलफल गरी अघि बढ्ने योजना सुनाए ।

करिब १५ महिनादेखि मेसुविहीन भएको अस्पतालमा डा. बराल आएसँगै सुधारको अपेक्षा गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताए । ‘मेसु नहुँदा औषधि खरिद टेन्डर, स्तरोन्नतीको पहललगायतमा समस्या भएको थियो, अब समाधान हुन्छ । अस्पतालको लेखापाल पनि छैन, जिपीको लेखापालले नै हेर्ने गर्नुहुन्छ, मेसु नहुँदा कोअर्डिनेट पनि भएन् । त्यसले गर्दा धेरैतर्फ काम गर्न सकिएन । तलब खुवाउनसमेत कठिन भयो । हामीले दमौली अस्पताललाई सके १०० शैय्या र नसके ५० शैय्या भएपनि स्वीकृत अस्पताल बनाउने योजना बनाएका छौं,’ उनले भने । अहिले १५ शैय्याको स्वीकृती पाएको उक्त अस्पताल ५० शैय्या संचालनमा छ भने ११ शैया डायलाइसिस छ ।

अहिले अस्पतालमा डा. परिवर्तनमात्रै स्थायी डाक्टर हुन । ७ जना स्थायी र १५/१६ जना प्रदेशअन्तर्गत करारका कर्मचारी छन् । ‘अरु सबै ज्यालादारी करारमा छन्, न्यून तलबमा काम गराउनुपर्ने अवस्था छ । यस्ता सबै पक्षमा अघि बढ्न मेसु अनिवार्य हुँदो रहेछ,’ अध्यक्ष थापाले थपे, ‘समितिले चाहेर पनि गर्न नसकिने हुँदो रहेछ ।’ भदौ असोजमा टेन्डर गर्न सकिने भएपनि फागुनमा टेन्डर खोलिदिँदा औषधि खरिदमै समस्या भएको उनले बताए । कार्यविधि नमिल्दासमेत जटिलता भएको उनी बताउँछन् ।

‘अस्पतालमा दैनिक ३/४ सय बिरामी आउँछन्, हामीले राम्रो सेवा दिने वातावरण बनाउनुपर्छ, बिरामी खुसीसाथ उपचार गराएर जानपाउनुपर्छ, यो नै मेसुबाट अपेक्षा गरिएको कुरा हो,’ अध्यक्ष थापाले भने । मेसु आइसकेपछि बिरामीलाई दिने सेवा सुविधा विस्तार, बजेट व्यवस्थापनमा सहज हुने उनको भनाइ थियो ।

वि.सं. २०३४ सालमा स्वास्थ्य चौकी रहेको उक्त अस्पताल वि.सं. २०५२ सालमा प्राथमिक स्वास्थ्य केन्द्र र वि.सं. २०५९ सालमा १५ शैय्याको दमौली अस्पताल भएको थियो । रेडक्रस सोसाइटीको समन्वयमा रगत सेवा पनि अस्पतालमा उपलब्ध छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ