२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमणिपाल घटनामा पक्राउ परेका डाक्टर रिहा, मृतकका आफन्त ७ दिन हिरासतमा

मणिपाल घटनामा पक्राउ परेका डाक्टर रिहा, मृतकका आफन्त ७ दिन हिरासतमा

मंगलबार स्थगित वार्ता बुधबार पुनः हुने


पोखरा—चितवन, हेटौंडा, लमजुङ हुँदै चिकित्सक कुटपिटको शृंखला नै चल्यो। लमजुङको सुन्दरबजार ७ की ५७ वर्षीया सुकमालाई श्वासप्रश्वास र ढाड दुख्ने समस्याको उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएकोमा मृत्यु भएपछि मृतकका आफन्तले डा. अनिल शाहमाथि हातपात गरे । चिकित्सकमाथि आक्रमणको घटना मणिपालको पछिल्लो हो । उपचारमा संलग्न चिकित्सकले बिना सूचना आईसीयुमा राखिएको र मृत्यु भएपछि मृत्युको खबरमात्र सुनाएको भन्दै आक्रोशित भएको मृतकका आफन्तको भनाइ छ ।

हातपात गरेको आरोपमा पोखरा ५ का विनय गुरुङ र मृतकका आफन्तलाई थप उत्तेजित पारेको भन्दै पोखराकै फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेशकुमार विकलाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरी नियन्त्रणमा रहेका डा. विक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मीनबहादुर गुरुङको रोहबरमा डा. गिरीधारी शर्माको जिम्मामा रिहा भएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले बताए ।

अवस्था सामान्य बनाउन कास्की प्रशासनको पहल सफल हुन सकेन् । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार पहिलो चरणमा चिकित्सकसँग र दोस्रो चरणमा मृतकका आफन्तसँग छलफल भएको थियो । चिकित्सकले हातपात गर्नेलाई कारवाही र शान्ति सुरक्षाका माग गरेका छन् भने मृतकका आफन्तले प्रहरी नियन्त्रणमा रहेकालाई रिहा गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

वार्ता निष्कर्षमा नपुगेको अवस्थामा थप दबाब दिन नेपाल चिकित्सक संघ गण्डकीले ओपीडी सेवा ठप्प पार्ने भन्दै विज्ञप्ति निकालेको छ । पोखराका निजी तथा सरकारी अस्पतालका चिकित्सकले शान्तिपूर्ण आन्दोलन भन्दै ओपीडी सेवा नदिने जनाएका छन् ।

डाक्टर कुट्ने हिरासतमा

मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि हातपात गरेको आरोपमा पक्राउ परेका विनय गुरुङलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । ड्युटीमा रहेका डाक्टरमाथि हातपात गर्ने बेंशीसहर ७ का वडाध्यक्ष ऋषिराम बस्नेतलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत लमजुङले प्रहरीलाई अनुमति दिएको छ ।

मणिपाल अस्पतालमा भौतिक क्षति

मणिपाल शिक्षण अस्पतालमा मृतक तथा चिकित्सकबीच होहल्ला, भनाभन र हानाहान हुन थालेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । साँझ ७ बजेतिर सिसा तोडफोड तथा अस्पताल प्रवेशद्वारतर्फको संरचनामा क्षति पुगेको छ ।

सुरुमा एक जना डाक्टर कुटिएर सुरु भएको विवाद मध्यान्हसम्म पुग्दा थप भड्कियो । चिकित्सक संयमित हुनुको सट्टा प्रहरीको घेरामा रहेर मृतक पक्षलाई थप उत्तेजित पार्दा अस्पतालले भौतिक क्षति व्यहोर्नुपर्ने अवस्था आएको प्रत्यक्षदर्शीको भनाइ छ ।

दोहोरो हानाहानका क्रममा वडा प्रहरी कार्यालय बगरमा कार्यरत प्रबह काले परियारको निधारमा चोट लागेकाले ३ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ । प्रबह बालकृष्ण रानाभाट, प्रह कृष्णबहादुर विकको हातमा र प्रज अनिता राजवंशीको टाउकोमा चोट लागेको छ । अस्पताल परिसरमै आफूले डाक्टरहरुलाई साफ धुलाइ दिएको बताउने एक प्रहरी विवादमा तानिएका छन् ।

बुधबार पुनः वार्ता

कास्की प्रशासन, चिकित्सक, मृतक आफन्त, अस्पताल प्रशासन लगायतको वार्ता बुधबार हुने भएको छ । मंगलबारको वार्ता आआफ्नै अडानमा टसमस भएपछि स्थगित भएको थियो । चिकित्सकले सेवा ठप्प पारेर दबाब दिएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ