२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशरेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव

रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव

समयमै रेफर नगरेका कारण सुत्केरीको मृत्यु भएको आफन्तको आरोप


पोखरा—लमजुङ अस्पतालमा बिरामीका आफन्त आक्रोशित भएपछि तनावग्रस्त भएको छ । बुधबार अस्पतालमा सुत्केरी हुन आएकी महिलाको मृत्यु भएपछि दिनभर अस्पताल परिसर तनाबग्रस्त भएको छ ।

बिरामीका आफन्त प्रदर्शनमा उत्रिएका थिए । लमजुङ अस्पतालमा तनाव भएपनि महिलाको मृत्यु भने चितवन मेडिकल कलेजमा भएको थियो । मृत शिशु भने लमजुङ अस्पतालमा शल्यक्रिया गरी निकालिएको थियो ।

मर्स्याङदी गाउँपालिका—९ पामचोककी २६ वर्षीया शोभा विक सुत्केरी हुन लमजुङ अस्पताल आएकी थिइन् । अस्पताल आएकी शोभाको पाठेघर फुटेर रगत बगेपछि जोखिम बढेको थियो । अस्पताल प्रमुख डा. विशाल तिवारी मंगलबार दिउँसो शल्यक्रियामार्फत मृत शिशु निकालिएको बताउँछन् ।

‘हामीले नर्मल तरिकाले डेलिभरी गराउने तयारी गरिरहेका थियौं । एक्कासी इन्टरनल रक्चर (पाठेघर फुटेको) भएपछि फुटेको ठाउँमा टाँका लगाइयो । त्यतिबेला ३ लिटरजस्तो ब्लड गइसकेको थियो । बच्चा पाठेघर बाहिर पेटमा पुगेको थियो,’ डा. तिवारीले भने ।

पाठेघर फुटेर रक्तस्राव भएपछि रोक्न शल्यक्रिया गरिएको र शिशुको ढुकढुकी नरहेको अवस्थामा निकालिएको उनको भनाइ छ । रक्तस्राव रोक्न शल्यक्रिया गरेपछि ४ पिन्ट रगत चढाइएको उनले जानकारी दिए ।

शिशुको मृत्यु भएको र आमाको अवस्थासमेत जटिल भएपछि चितवन मेडिकल कलेज रेफर गरिएको थियो । रिफर गरिएकोमा चितवनमा नै बुधबार बिहान सवा ३ बजेतिर महिलाको ज्यान गएको थियो । लमजुङ अस्पतालले ढिला रेफर गरेका कारण आमा र शिशुको ज्यान गएको आरोप लगाउँदै मृतकका आफन्तले प्रदर्शन गरेका थिए । अस्पतालको सुरक्षा जोखिम बढेपछि प्रहरी परिचालन गरिएको थियो ।

बुधबार वार्ता पहल भएपनि निष्कर्षमा पुग्न सकेको छैन । बुधबार दिनभर तनाव भएपछि बेलुका अस्पताल, जिल्ला प्रशासन र मृतकका आफन्तबीच वार्ता भएको थियो । बिहीबारको अवस्था के हुन्छ भन्ने अन्योल नै रहेको छ । घटनाबारे छानबिनका लागि प्रदेश सरकारले छानविन समिति बनाएको प्रमुख डा. तिवारीले बताए । छानविन समितिले बिहीबार अस्पताल पुगेर काम थाल्ने बताइएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ