२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशरुपा अस्पताल २५ शैय्यामा स्तरोन्नती हुँदैं, एक महिनामा स्वास्थ्य बीमा सुरु गर्ने सम्झौता

रुपा अस्पताल २५ शैय्यामा स्तरोन्नती हुँदैं, एक महिनामा स्वास्थ्य बीमा सुरु गर्ने सम्झौता


पोखरा—कास्कीको रुपा गाउँपालिकाको अस्पताललाई २५ शैय्यामा स्तरोन्नती गर्ने काम भइरहेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले १५ शैययाको रुपा अस्पताललाई २५ शैय्यामा स्तरोन्नति गर्ने गरी काम भइरहेको जानकारी दिए ।

‘अस्पताललाई २५ शैय्यामा स्तरोन्नती गर्ने काम भइरहेको र संघीय स्वास्थ्य मन्त्रालयबाट कार्यान्वयनको चरणमा रहेको छ,’ अध्यक्ष ओझाले भने । एमबीबीएस डाक्टर २ जना र १८ जना स्वास्थ्यकर्मीले अहिले सेवा दिइरहेको अस्पतालको अधिकांश व्यवस्थापन गाउँपालिकाले गरेको छ ।

रुपा अपस्ताल र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा सेवा सुरु गर्ने सम्झौता भएको छ । रुपा गाउँपालिकामा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला र रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । अस्पतालबाट १ महिनामा सेवा सुरु गर्ने गरी काम भएको अध्यक्ष ओझाले जानकारी दिए ।

गाउँपालिकाले करिब २ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ भने १ हजार २ सय ३० परिवार स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका छन् । गाउँपालिकाले पालिकावासी सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा जोड्ने योजना बनाएको छ ।

कास्कीमा पालिकास्तरीय अस्पतालसँग बोर्डले पहिलो पटक सम्झौता गरेको अध्यक्ष ओझा बताउँछन् । ‘पालिकाले निर्माण गरेको सो अस्पतालमा एक्स–रे, भिडियो एक्स–रे, ल्याबलगायत सेवा निःशुल्क पाउने व्यवस्था मिलाएको भएपनि औषधि किन्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘अब बिमा कार्यक्रमबाट विपन्न परिवारले सहज सेवा लिन पाउनेछन् ।’

अस्पतालमा दैनिक ९० जना हाराहारीमा ओपीडीमा बिरामी आउने गरेका छन् भने अस्पतालले पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । अस्पतालले रिफर गरेका बिरामीलाई ५ सय रुपैयाँमा सेवा दिने गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ