२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘संक्रामक तथा सरुवा रोग अस्पताल अबको ६ महिनामा राम्रो अस्पतालका रुपमा स्थापित हुनेछ’

‘संक्रामक तथा सरुवा रोग अस्पताल अबको ६ महिनामा राम्रो अस्पतालका रुपमा स्थापित हुनेछ’

कोभिड–१९ जित्ने उपाय आत्मबल बनाउनु नै हो


संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकी प्रदेश मातहतको अस्पताल हो । कोभिड–१९ महामारीका बेला तत्कालीन लायन्स सामुदायिक अस्पताललाई प्रदेश मातहत ल्याएर संक्रामक तथा सरुवा रोग अस्पताल बनाइएको थियो । अस्पतालमा अहिले ५० बेड छन् भने कोभिड–१९ का जटिल बिरामीको उपचार भइरहेको छ । अस्पताल पुग्ने बिरामीका आफन्त अस्पतालको सेवा राम्रो रहेको प्रतिक्रिया दिइरहेका छन् । यो महामारीमा अस्पतालले कसरी काम गरिरहेको छ, सेवा, अनुभव र योजनाबारे अस्पतालका निर्देशक डा. विकास गौचनसँग हेल्थ आवाजका लागि सुनील सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

अस्पतालमा अहिले कोभिड–१९ का बिरामीको चाप थामिनसक्नु छ । कोभिड–१९ को दोस्रो लहरमा अस्पतालमा भर्ना भएका सबै बिरामी जटिल, क्रिटिकल अवस्थाका नै हुनुहुन्छ । अहिलेसम्म अस्पतालमा ५८५ जना भर्ना भएको रेकर्ड छ । दुःखसाथ भन्नुपर्छ जसमध्ये ७ जना बचाउन सकेनौं भने ३५ जना क्रिटिकल केस भएका बिरामी अन्यत्र रिफर गर्नुपरेको थियो ।

हामीसँग पर्याप्त जनशक्ति नभएकाले काठमाडौं तथा पोखराका आईसीयु र भेन्टिलेटर भएका अन्य अस्पतालमा रिफर गरेका हौं । अहिलेसम्म ४९० को हाराहारीमा कोभिड–१९ संक्रमितको सफल उपचार गरेर घर पठाउन सफल भएका छौं । पोखरा–३३ का ७५÷७६ वर्षका वृद्ध कोभिड, ब्लडप्रेसर, सुगरलगायत समस्या भएर आउनुभएको थियो । क्रिटिकल अवस्थाका उहाँको १८ दिन उपचार ग¥यौं, निको भएपछि एकदम खुसी हुनुभयो । म्याग्दीको ८६ वर्षीया वृद्धा र पोखरा लेकसाइडका वृद्ध दम्पतीको सफल उपचारमा हामी अति नै खुसी भएका थियौं । उहाँहरु घर फर्किने बेला आँखाभरि आँशु बनाएर बिदाइ हुनुभयो । हामी पनि भावुक बन्यौं ।

तर, केही ३०÷३५ वर्षका बिरामी बचाउन नसक्दा हामीलाई असाध्यै पीडा र दुःख हुन्छ । जति उपचार सफल हुन्छ, हामी अति खुसी हुन्छौं । जति कम उमेर हुन्छ तर उपचार असफल हुन्छ अर्थात् ज्यान जाने अवस्था हुन्छ हामी अति नै दुःखी हुन्छौं ।

आईसीयु र भेन्टिलेटर सेवा औपचारिक रुपमा नभएपनि आईसीयु लेभलको सेवा बिरामीलाई दिइरहेका थियौं । अहिले पनि ५० बेडमध्ये ३५ बेडमा जटिल समस्या भएका बिरामी हुनुहुन्छ ।

पूरानो सोचाइमा भेन्टिलेटर, मोनिटर, आईसीयु राखिदिए सेवा पाइहाल्छ भन्ने थियो । त्यो सेवा पाउँछ भन्ने सकारात्मक पक्ष भयो । तर, त्यसप्रकारको सोच अपूर्ण भयो । पूर्ण र बृहत सोच भनेको दक्ष जनशक्ति मुख्य प्राथमिकतामा राख्नुपर्छ । भेन्टिलेटर, आईसीयुको अनुभवी विज्ञ व्यवस्थापन गर्नुपर्छ भन्ने हो । प्र्रयोगशालामा पनि सोही खालको सुविधा, औषधीको गुणस्तर सबै चाहियो । क्वालिटी प्यारामिटरमा मुख्य ध्यान दिनुपर्ने हुन्छ ।

म यहाँ आएदेखि नै प्राथमिकताका साथ आईसीयु सञ्चालनमा ल्याउने गरी काम गरिरहेको थिएँ । संयोग हुनुपर्छ आज नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आईसीयु, ५० बेडको अस्पताल भवन र प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन उद्घाटन गर्दै हुनुहुन्छ । आजबाट औपचारिक रुपमा आईसीयु सेवा शुभारम्भ हुन्छ । अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशाला भाडाको घरमा सञ्चालन भइरहेको छ । भवन बनेपछि त्यही सर्नेछ ।

अस्पतालमा अनुभवी मेडिकल अधिकृत, आईसीयु चलाउन सक्ने अनुभवी नर्स, बायोमेडिकल इन्जिनियरलगायत आवश्यक हुन्छ । गृहकार्य गर्दैछौं । अहिले पनि हामीले क्रिटिकल केस हेरिरहेका छौं ।

लगभग १ हप्ता बायोमेडिकल इन्जिनियरलगायत स्टाफ थप्न सक्छौं होला । तर, कतिपयमा आवेदन नै परेको छैन । ७० दरबन्दी स्वीकृत भएको छ । त्यति संख्या हुँदा हामी धेरै राम्रो सेवा दिन सक्छौं ।

आईसीयुमा अनुभव प्राप्त नर्स खोजिरहेका छौं । प्रदेश सरकारसँग समन्वय गरेर बायोमेडिकल टेक्निसियन कतैबाट ल्याएर चलाउनुपर्ला । व्यवस्थापन गर्ने तयारीमा छौं । भेन्टिलेटर ७ वटा सञ्चालन हुनेछन् । आईसीयु त धेरै नै हुन्छन् । भेन्टिलेटरको सेवा २४ सै घन्टा दक्ष जनशक्तिबाट हेरिरहनुपर्ने हुन्छ । अबको ६ महिनामा यो अस्पताल राम्रो आईसीयु चलेको अस्पतालको रुपमा स्थापित गराउने लक्ष्य छ ।

अस्पताललाई रोकथामका लागि विशेषज्ञताका आधारहरु प्रयोग गर्छाै । बिरामीलाई पनि सकेसम्म बिरामी कुरुवा राख्दैनौं । स्वास्थ्य मापदण्ड पालना गर्न सामान्य कुरासमेत सिकाउँछौं । जस्तै, स्टान्डर्ड मास्क डबल लगाउने, लक्षण देखिइहालेको अवस्थामा तत्काल जाँच गर्ने, जनस्वास्थ्य मापदण्डबारे राम्रो प्रशिक्षण दिन्छौं ।

अस्पतालमा उपचारकै क्रममा योङ बिरामी गुमाउँदा हामीलाई पनि पीडा हुन्छ । हामी पनि पीडा कम गर्न विशेष सेसन चलाउँछौं । बिरामीको आफन्तको संवेदनाले डाक्टर, नर्स स्टाफसमेत प्रभावित हुने अवस्था आउन सक्छ ।

एउटै हल हुँदा एउटा बेडको बिरामीको मृत्यु हुँदा अर्काे बेडको बिरामीमा केही साइकोलोजिकल्ली नकारात्मक प्रभाव पार्दाे रहेछ । अस्पतालभित्र यो अहिलेको लेसन हो । बिरामीका आफ्नै आँखा अगाडि अर्काे बिरामीको मृत्यु हुँदा स्ट्रेस रियाक्सन हुनसक्छ । स्ट्रेस कम गर्न १ महिना जतिमा रिल्याक्सेसन थेरापी सिकाउनुपर्ने हुन्छ ।

अस्पतालहरुमा साइको सोसल काउन्सिलर राख्नु आवश्यक हुन्छ । मन्त्रालयसँगै माग गरिरहेका छौं । चिनजानका साथीभाइ काउन्सिलरमार्फत मोबाइलबाट रिल्याक्सेसन थेरापी पनि सिकाउने गरेको छौं ।

डाक्टर, काउन्सिलरसँगको कुराकानीबाटै आराम मिलेको, स्ट्रेस कम हुन्छ । सामाजिक एडजस्टमा अप्ठ्यारो हुने हुनसक्छ । तर, कोभिड–१९ जित्ने उपाय आत्मबल बनाउनु नै हो । आत्मबल र सकारात्मक सोचाइले शरीरको रोग प्रतिरोध क्षमता बढ्छ । अहिलेसम्म बिरामीको आफन्तबाट नकारात्मक व्यवहार देख्नुपरेको छैन, हामीसँग धैरै विश्वस्त भएको पाएका छौं ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार, गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ