२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारमध्यमवर्गीय परिवारकी युवतीः डाक्टर बन्ने सपना, डाक्टरी पढाइ हुँदैं कोभिड-१९ हिरोसम्म

मध्यमवर्गीय परिवारकी युवतीः डाक्टर बन्ने सपना, डाक्टरी पढाइ हुँदैं कोभिड-१९ हिरोसम्म


आजकाल हरेकतिर देख्छु मान्छेको सपना धेरै मान्छेहरु आफ्ना सन्तानलाई डाक्टर यानिकी चिकित्सक बनेको हेर्न चाहन्छन् । हरेक सचेत पढेलेखेको ब्यक्ति आफ्ना सन्तानमा भविष्यको चिकित्सकको स्वरुप देख्दछन् । उनीहरु अलिकति सम्पन्न छन् । सन्तानलाई चिकित्सक बनाउने सपना अलिक गहिरो गरी देख्छन् । ‘बच्चाले नाम निकाले उसका खुबीले र निकाल्न नसकेमा पैसाको जोडजाम गरेर भएपनि छोराछोरीलाई चिकित्सक नै बनाउने’ घमन्ड गर्छन् । कमजोर आर्थिक अवस्था भएका अभिभावकहरु भने मनको एउटा कुनामा ‘कठै, मेरा छोराछोरीलाई भोलि गएर डाक्टर बनाउन पाएको भए !’ भनेर चुकचुकाउँछन् ।

गाउँघर छिमेक वा आफन्तका कोही जेहेन्दार केटाकेटीले चिकित्सा विज्ञान विषयमा नाम निकाले ‘मेरो बच्चाले पनि यसरी नै नाम निकाले’ वा ‘मेरो त छोरै अगतिलो, के पाउँथ्यो डाक्टरी पढ्न’ वा ‘मेरो त सन्तानै सिल्पट, तेत्रो खर्च गरेँ, के को निकाल्थ्यो डाक्टरीमा नाम !’ भन्ने अभिभावकहरु यत्रतत्र पाइन्छन् । किनभने, छोराछोरीलाई चिकित्सक बनाएपछि आमाबाबुहरु आफ्नो नाकको उचाइ बढेको भन्ठान्छन् ।

आफ्ना छोरा या छोरी चिकित्सा शिक्षामा प्रवेश गर्न सकेन भने ‘कठै, जति दुःख गर्दा पनि डाक्टरको बाबुआमा हुन पाइएन्’ वा ‘पढ्ने भा’पो डाक्टरी लाइनमा लाग्थ्यो’ भनेर उदेक मान्दै सन्तानलाई सराप्छन् वा ‘आफ्नो सम्पत्ति नै छैन, केको सन्तानलाई डाक्टरी पढाउने सपना देख्नु’ भनेर भाग्यलाई धिक्कार्छन् ।

यसरी पढाइ सकेर चिकित्सक बनिसकेपछि त उनीहरुप्रति हाम्रो समाजमा एउटा भाष्य बनेको पाइन्छ ।

‘डाक्टरको मुख्य उद्धेश्य नै पैसा कमाउनु हो नि । के को सेवा गथ्र्यो र ।’
‘हेर त कस्तरी मोज गरेको !’
‘मोराले त खप्परमा लिएर आएको रहेछ नि ।’
हरेक चिकित्सकले मान्छेहरुको बीचमा हिँड्दा अक्सर यस्ता धारणाहरु सुन्ने गर्छ ।

मलाई मानिसहरुले एउटा चिकित्सकलाई अर्कै ग्रहबाट उडन तस्तरी चढेर आएको एलियन वा धर्तिमा भएको असामान्य काल्पनिक हिममानव ‘यति’ जस्तो गैर धर्तिवासीझैँ ठान्ने गरेको देख्दा अत्यन्तै दुःख लाग्छ । तर, यौटा चिकित्सक पनि अरु मान्छेजस्तै सामान्य मान्छे न हो ।

उसको पनि मन हुन्छ । उसका पनि सुख दुःखका कहाली लाग्दा कथा र ब्यथा हुन्छन् । उ पनि यो देशको नागरिक हो । यसै धर्तिको एक सदस्य हो ।

यसको सबैभन्दा धेरै भुक्तभोगी भनु वा साक्षीहरु मध्ये म पनि एक हो ।
म पनि एउटा चिकित्सक हुँ । भर्खर पढाइ सकेर आफ्नो पेशागत यात्रा सुरु गर्दै गरेकी ।

म मध्यपश्चिम तराईको राजमार्गमा पर्ने बुटवल सहर नजिकै जन्मे हुर्केँ । बाबा बैंकमा काम गर्नुहुन्छ । मेरो परिवार आर्थिक हिसाबले ठीकै अवस्थाको हो । म बाबाको जागिरको क्रममा उहाँसँगै भैरहवा, बुटवल हुँदै पोखरा पुगेँ । र, जता—जता बाबा जानुभयो त्यतै—त्यतै मामु अनि म, मेरो एक भाइ र एक बहिनीलाई लिएर जानुभयो । म बाबामामु भएको ठाउँका विद्यालय चहार्दै पढें ।

मामुले पनि बीएसम्म पढ्नु भएको हो । तर, बाबाको जागिर सहज होस् अनि हामी तीनै छोराछोरीहरु राम्रोसँग पढ्न सकौँ भनेर विशुद्ध गृहिणी बनेर जीबन बिताउनुभयो । विद्यालयमा बिदा भएको बेला, चाडपर्वको बेला र घर आएको बेला भने मैले मेरो हजुरबुबाको सानिध्य र निगरानीमा बाल्यकाल बिताए ।

सुपठित र सुसंस्कृत परिवार । अघिल्लै जमानामा पनि शिक्षाको महत्व बुझ्नु भएका मेरा हजुरबुबाले दिनुभएको उच्चकोटीको संस्कार र देशका कुना—कन्दरामा पुगेर विभिन्न मान्छेहरुसँग हेलमेल गर्नु भएका मेरा बाबा र जागिर नगरे पनि शिक्षाको महत्वलाई आत्मसात गरेकी मेरो मामु सबैले दिएको माया, प्रेम र उत्कृष्ट अभिभावकत्वले गर्दा म र मेरा भाई बैनीमा पढ्नुपर्छ भन्ने भावना र मेहनत गर्ने बानीको विकास भयो ।

मलाई घरमा हजुरबुबाले क, ख चिनाउनुभयो । बुबामामुले ब्यवहारिक शिक्षा दिनुभयो । मैले हाम्रा बाबाले हामीलाई पढेर असल मान्छे बनाउन अहोरात्र गर्नुभएको मेहनत र जागिर गर्दा बच्चाबच्चीको शिक्षामा असर पर्छ कि भन्ने डरले आफ्ना इच्छाहरुलाई बन्धक राखेर मामुले हामीलाई गर्नुभएको स्याहार सुसारलाई कहिल्यै भुलिनँ । र, उहाँहरुको सपना पूरा गर्ने र आफ्नो भविष्य सुन्दर बनाउने ध्येयले गर्दा अहोरात्र मेहेनत गरेर पढेँ ।

एउटा सामान्य बैंकरको कमाइ कति नै हुन्छ र । त्यहाँमाथि हाम्रो परिवारको आर्थिक अवस्था पनि त्यति धेरै उच्च होइन् । तथापि, हामीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उहाँको दृढ इच्छाशक्तिका कारण होला, मैले हामी पुगेका ठाउँमा उपलब्ध भएसम्मका राम्रा विद्यालयमा भर्ना पाएँ । त्यो विद्यालयले मजस्ता काँचो माटोलाई चित्ताकर्षक भाँडोको आकार दियो ।

असल शिक्षाका लागि आवश्यक सम्पूर्ण वातावरण मिलेकोले मैले पढाइमा राम्रै गरेँ । पोखराको एउटा विद्यालयबाट डिस्टिंक्सन ल्याएर एसएलसी उत्तीर्ण गरेँ । र प्लस टु भने काठमाडौंमा एक छात्रावास बसेर पढ्न थालेँ ।

यतिबेलासम्म म सानै भएपनि समझदार किशोरी भने भैसकेकी थिएँ । नजिकै परिवार भएको बिद्यालयमाभन्दा घरबाट टाढाको कलेजमा स्वतन्त्रता ज्यादा थियो । विद्यालयमा उपभोग गर्न नपाएका स्वतन्त्रताका स्वादहरुमा निष्फिक्री रमाउन पाउने मौका थियो त्यो ।

साथीसंगीहरुसँग घुम्ने, रमाउने समय थियो त्यो । कतिपयले स्वतन्त्रताको दुरुपयोग गर्दै गलत काममा संलग्न हुने खतरा पनि थियो । मेरै कतिपय साथीहरु पढाइलाई तिलान्जली दिएर माया—प्रेमको उल्झनमा लागेर कुरकुरे जवानीको प्यास मेटाउँदै पनि थिएँ ।
म पनि त अरुको जस्तै मन मुटु भएकी किशोरी न थिए । त्यसैले त्यो चमक—धमकले मलाई पनि बेला—बेला तान्ने गथ्र्यो ।

‘यो समयमा हितचित मिलेका साथीहरुसँग रमाइलो कुरामा नलागेर मैले मेरो यो जवान उमेर ब्यर्थै खेर फाल्दै त छैन ? मनमा बेला—बेला यस्ता प्रश्नहरु उठिरहन्थे । तर, मलाई मेरो हजरबुबाले दिएको संस्कारले आफ्नो अनुशासनमा दृढ भएर लागिरहन प्रेरित गरिरह्यो ।

‘आफ्नो छोरीलाई राम्रो पढाएर असल र सुसंस्कृत ब्यक्ति बनाउने’ बाबा र मामुले देखेको सपनालाई कुल्चिन सकिनँ । यसैकारण मैले उत्कृष्ट अंक ल्याएर १२ कक्षा पनि उत्तीर्ण गरेँ । यसपछि स्नातक पढ्नुप¥यो । यो समय आफ्नो जीवन यात्रा तय गर्ने बाटो रोज्ने महत्वपूर्ण समय थियो ।
मैले हासिल गरेको नतिजाले जुनसुकै विषय पढ्ने अनुमति दिन्थ्यो । म चिकित्सा, इन्जिनियरिङ वा चाहेका जुनसुकै विषय पढ्न सक्थे ।

बाल्यकाल भैरहवा र पोखराका अस्पताल छेउ बिताउन पाएकी थिए । हामी बस्ने बाबाको अफिस क्वार्टर अगाडिबाट सेतो एप्रोन लगाएका चिकित्सकहरु र चिकित्साशास्त्र पढ्दै गरेका विद्यार्थीहरु ओहोर—दोहोर गरेको दृश्य मोहक लाग्थ्यो । यसले गर्दा मेरो मनमा चिकित्सा पेसाप्रति नजानिदो आकर्षण पैदा भएको रहेछ ।

घरमा ‘मैले अब के पढ्ने’ भन्ने छलफल भैरहेका बखत मनमा पल्लवित भैरहेको त्यही आकर्षण शब्दका रुपमा फुत्त निस्कियो ।
‘म अब मेडिसिन पढ्ने ।’

बाबाले जागिरको क्रममा जाँदा धेरै चिकित्सकहरुलाई भेट्नुभयो । उनीहरुले आफ्नो पेशामा गर्नुपर्ने काम देख्नुभयो । उहाँले चिकित्सकीय पेशामा हुने दुःख नजिकबाट नियाल्नु भएको रहेछ । उहाँलाई चिकित्सक बन्नका लागि गर्नुपर्ने दुःख र मेहनतको आभाष भएको रहेछ । त्यसैले होला, चिकित्साको पढाइलाई दुःखिया पढाइ र चिकित्सकको कामलाई दुःखिया काम भन्ने लागेको रहेछ—उहाँलाई ।
बाबाले भन्नुभयो, ‘छोरी † अरु जे बिषय पढेपनि पढ । तर, डाक्टरी नपढ ।’
मेरो मनमा तिर हानेजस्तो भो । सायद म पिलपिलाए छु ।

हजुरबुबाले मेरो अनुहार नियालि रहनु भएको रहेछ । भन्नुभो, ‘बाबु, नातिनीले ‘डाक्टरी पढ्छु’ भनी, राम्रै त हो । उसको रहर अनुसार गर्न दे ।’
‘मेरी छोरी डाक्टरी नै पढ्छे । यो आँटिली छे । मेहनती छे । यसले भोलि ठूलो डाक्टर बनेर सुनौलो अक्षरमा नाम लेखाउँछे । अरुले नपढाए मै भने’नि छोरीलाई डाक्टरी पढाउँछु,’ मामुले निर्णय सुनाउनु भो ।

बाबा गल्नु’भो । उहाँको केही लागेन र सहमतिको मुन्टो हल्लाउनुभो ।

मैले अथक मेहनत गरे । चिकित्साको प्रवेश परीक्षा को तयारी गरें । परीक्षा दिएँ । उत्तीर्ण गरेँ । चिकित्साशास्त्रमा भर्ना हुने बाटो खुल्यो ।
तर, म जस्तो सामान्य कर्मचारीको छोरीलाई महंगो शुःल्क तिरेर भर्ना हुन र मासिक शुल्क अनि पढाइ खर्च ब्यहोर्न पक्कै सजिलो थिएन ।
बाबा मामुले आफ्नो छोरीको खुसी र सुनिश्चित भविश्यको लागि खाइ—नखाई जम्मा गरेको रकम खर्च गरेर भर्ना गरिदिनुभो । ऋण धन गरेर पढाइ अगाडि बढाउने व्यवस्था सिर्जना गरिदिनुभो ।

पढाइमा आर्थिक मात्र होइन्, सामाजिक र संवेगात्मक कठिनाइहरु हुन्थे ।

नयाँ जीवन बनाउने यस्तो कठीन मोडमा ढाडस दिनुको साटो नजिकैका केही आफन्तहरू भने हामीलाई गिज्जाइरहेका रहेका हुन्थे ।
‘लु हेर ! फलानाले कुन धनको तुजुकले छोरीलाई डाक्टरी पढाको होला ?’
‘ऋण गरेर पनि छोरी पढाउँछु भन्ने फलानो त मुर्ख रहेछ नि ।’
यस्तो बेलामा हजुरबुबाले ‘झिंगाको सरापले डिंगा मर्दैन्, नातिनीलाई राम्ररी पढाओ, अरुका खिसी ट्युरीतिर ध्यान नदेओ’ भनेर बाबा मामुलाई ढाडस दिनुहुन्थ्यो ।

बाबा मामुले पनि खुट्टा तान्नेहरुको कुरालाई एक कानले सुनेर अर्को कानले उडाउँदै गर्नुभयो ।
यो त घरको कुरा भयो । कलेजमा बस्दा पनि मनभित्र उकुस—मुकुस भैरहन्थ्यो ।

अन्य विधामा पढ्ने मेरै उमेरका बिद्यार्थी साथीहरु हाँस खेल र रमाइलो गरी रहँदा हामी असाइन्मेन्टमा घोत्लिरहेका हुन्थ्यौँ । अरु साथीहरु बजारमा नयाँ चलचित्र आउँदा बितिक्कै हलमा पुग्थे । हामी मुर्दाघरमा गयेर मानव शवको चिरफार गरिरहेका हुन्थ्यौँ ।

साथीहरु बेलुका रेस्टुरेन्टमा पिज्जा र बर्गरको स्वाद लिइरहँदा हामी भने दिउँसो चिरेको शवको गन्ध सम्झेर खाएको खाना बाँकी रहेका हुन्थ्यौँ । साथीहरु नेपाली, हिन्दी र अंग्रेजी गायकहरुका गीत र चलचित्रका नायक—नायिकाहरुका डाइलग कन्ठ गरिरहँदा हामी एकोहोरो विभिन्न रसायनिक प्रतिक्रिया र फर्मुलाहरु घोकिरहेका हुन्थ्यौँ ।
जिन्दगी साँच्चिकै निरस रहेको भान हुन्थ्यो कहिलेकाहीँ ।

यस्तो दुःख र सास्ती सम्झिँदा ‘बाबाले ‘चिकित्साशास्त्र नपढ’ भनेर ठिकै भन्न भएको रहेछ जस्तो लाग्थ्यो ।
यस्तो बेला आफ्नो मनलाई दृढ बनाउन हजुरबा, मामु र बाबाले पनि ठूलो सहयोग गर्नुभो ।

साथैका कतिपय साथीसंगीहरुले घरबार बसाएर काखमा बच्चा खेलाउँदै गर्दा र घरबार सम्हाल्दैं गर्दा बल्ल—बल्ल मेरो पनि पढाइ सकियो ।
म पनि एउटा चिकित्सक बने ।

लाग्यो ‘जिन्दगीमा धेरै खुसी, रहर र भर्भराऊँदो बालापन अनि जवानी गुमाएर पनि ठूलो प्रतिफल प्राप्त गरेँ ।’
यसपछि सौभाग्यवस आफ्नै सहरको अस्पतालमा करारमा मेडिकल अधिकृतको जागिर पाए ।

कतिपय मान्छेहरु म जस्ति सानी फुच्ची केटीलाई चिकित्सक भनेर पत्याउँदैनथे । र, ‘सिस्टर, डाक्टर सा’बलाई बोलाइदिनुस् न’ भन्थे ।
म मनमनै हाँस्थेँ ।

जागिरको पहिलो कमाइले हजुरबुबालाई एउटा इस्टकोट, बाबालाई एउटा घडी, मामुलाई एउटा पछ्यौरा र भाइलाई एउटा टिसर्ट उपहार दिए । अनि, छिमेकीहरुलाई एक—एक वटा लड्डु वितरण गरेँ ।

सबैजना खुसी भए ।

यहि बेला विश्वमै बिनासकारी कोभिड–१९ को महामारी आयो । हामी चिकित्सकहरु आफ्नो दायित्वबोध गर्दै दुनियाँको स्वास्थ्य रक्षाको लागि आफ्नै जीवन धरापमा पारेर मैदानमा खटियौँ ।

सामाजका कतिपयले त्यस्तो संकटको बेला रोगलाई भन्दा हामी स्वास्थ्यकर्मीहरुलाई घृणा गरे । मान्छेहरुले जति छिःछिः दुरःदुर गरे पनि हामीले आफ्नो कर्तब्य भुलेनौं ।

हामी चिकित्सकहरु ड्युटी सकेर आफ्नो घर आउन पाउन्नथ्यौँ । त्यसैले अस्पतालले नजिकैका घरहरुमा हामीलाई बस्ने ब्यबस्था मिलायो । हामी २ हप्ता रातदिन काम गथ्र्यौ र अर्को दुई हप्ता आइसोलेसनमा बस्थ्यौं ।

दुई हप्ता लगातार पीपीई, चस्मा र मास्क लगाउँदा शरीर पाछेर हैरान हुन्थ्यो । मेरो नाकमा निको नहुने गरी बसेका खतहरु त अझै बाँकी छन् ।

ड्युटीमा हुँदा मानिसहरुको चित्कार सुनेर मुटु छिया—छिया हुन्थ्यो । मानिसहरु बचाउन नसकेको पीडा हुन्थ्यो । आइसोलेसनमा हुँदा भने आफैँले कतिबेला यो धर्तिबाट बिदा लिनुपर्ने हो भन्ने त्रास हुन्थ्यो ।

यस्तो संकटपूर्ण घडिमा म फुच्चीले आफैले नपत्याउने गरी काम गरेँ । अस्पतालका शैय्याहरु भरिएपछि करिडोरमा बिरामी सुताएर उपचार गर्ने चिकित्सक मै हो भन्दा मैलाई पत्यार लाग्दो रहेनछ ।

जतिबेला म आइसोलेसनमै थिए । त्यो बेला म आफैँ कोभिड–१९ बाट संक्रमित हुन पुगेँ ।

यहि बेला दशैँको समय आयो । घरको यादले पलपल ग्रस्त बनायो । दशैँ सकेपछि म नेगेटिभ भए । फेरी ड्युटी सुरु भयो ।
एकदिन ड्युटीको थकाइले लखतरान भएर खानै नखाई कतिबेला सुतेछु, पत्तै भयेन । पछि रातको २ बजेतिर ब्युँझेर हेर्दा घरबाट मोबाइलमा झन्डै ५० वटा कल आएको देखेँ । मोबाइल साइलेन्टमा भएकोले थाहा नपाएको रहेछु ।
मैले फोन नउठाएपछि एउटा मेसेज आएको रहेछ ।

‘तिम्रो हजुरबा यस धर्तिमा रहनु भएन्,’ म्यासेजमा लेखिएको थियो ।
आइसोलेसनमा बसेको म त्यस्तो रातीमा कुद्दै घर पुगेछु, बेहोसीमै । घर पुग्दा हजुरबुबाको निष्प्राण देहलाई तुलसीको मठ नजिकै सुताइएको थियो ।

म हजुरबुबाको शरीरको छेउमा बसेर ‘हजुरबुबा † मैले यहीँ भएर पनि तपाईँलाई अन्तिम अवस्थामा भेट्न आउन सकिन’ भन्दै धेरैबेरसम्म रोएछु ।

त्यसपछि मलाई कोठामा लगेर आमाले आफ्नो अंगालोमा सुताउनु भएछ ।
भोलिपल्ट सुने । केही छिमेकीहरुले ‘यस्तो बेला अस्पतालमा काम गर्ने डाक्टरलाई पनि घरमा ल्याएर सुताउने ?’ भन्दै हप्की—दप्की गरेछन् ।

यो बेला ‘संसारकै सबैभन्दा दुःखिया मेरै पेशा हो कि’जस्तो लाग्यो ।

विस्तारै परिस्थिति बदलियो । कोभिड–१९ हाम्रो नियन्त्रणमा आयो । कोभिड नियन्त्रणमा खटेको पुरस्कार स्वरुप मलाई ‘कोभिड हिरो’ भनेर सम्मानित गरियो । लाग्यो, देश र जनताको लागि गरेको सेवाको एकदिन अवश्य कदर हुने रहेछ ।

हिजो छिःछिः र दुर—दुर गरेर घर आउन नदिने छिमेकीहरुले पनि ‘वाह, यस्तो सानो उमेरमै कस्तो राम्रो काम गरिछिन्’ भनेर प्रशंसा गरेको सुन्दा ‘मैले चिकित्सा विज्ञान पढेर ठीक गरेछु’ भन्ने अनुभूत हुन्छ ।

अचेल त मैले पाएका सम्मान र प्रमाणपत्रहरुको ठेलीहरु देख्दा मैले विगतमा गुमाएका कुराहरु पाएका दुःख, दर्दहरु भुल्ने गरेको छु ।

(स्वास्थ्यको लागि सक्षम प्रणाली नामक परियोजना नेपालगन्जमा कार्यरत डा. प्रतिमाको अनुभवमा आधारित यो लेख रामहरि अधिकारीले तयार पारेका हुन् । )
२०७८ असोज २ गते, शनिबार


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ