२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशधौलागिरी अस्पतालमा सिटीस्क्यान मेसिन भित्रियो, अस्पताललाई २०० शैय्यामा स्तरोन्नती गर्ने लक्ष्य

धौलागिरी अस्पतालमा सिटीस्क्यान मेसिन भित्रियो, अस्पताललाई २०० शैय्यामा स्तरोन्नती गर्ने लक्ष्य


पोखरा—गण्डकी प्रदेशको बागलुङमा रहेको साविकको धौलागिरी अञ्चल अस्पतालमा सिटीस्क्यान मेसिन भित्रिएको छ । अस्पतालले ग्लोबल टेन्डरमार्फत खरिद गरेको मेसिन अस्पतालमा आइपुगे पनि इन्स्ट्रलेसनका लागि २ हप्ता लाग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविरंजन प्रधानले बताए ।

अस्पतालमा सिटीस्क्यान सेवा सुचारु भएपछि सिटीस्क्यान सेवाका लागि पोखरा, काठमाडौंलगायत सहरममा रिफर गर्नुपर्ने बाध्यता अन्त्य हुने डा. प्रधान बताउँछन् । अस्पताल आउने मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका बिरामीले धौलागिरी अस्पतालमै सेवा पाउने भएका छन् ।

गण्डकीको उपप्रादेशिक अस्पताल बनाउने योजनामा रहेको अस्पतालमा सिटी स्क्यान सेवापछि विशिष्टीकृत सेवा दिन सकिने अस्पतालले जनाएको छ । अस्पतालमा बालरोग, हाडजोर्नी, स्त्रीरोग, छाला, नाक, कान, घाँटी, रेडियोलोजी, ल्याप्रोस्कोपी शल्यक्रियालगायत विशिष्टीकृत सेवा दिन १८ विशेषज्ञ चिकित्सक रहेका छन् ।

अस्पतालले दैनिक ५ सय हाराहारीमा ओपिडी बिरामीलाई सेवा दिने गरेको छ । सिटी स्क्यान सुचारु भएपछि सिटी स्क्यान गर्नुपर्ने बिरामी रिफर गर्नु नपर्ने हुँदा थप सेवा दिन सकिने डा. प्रधान बताउँछन् । रिफर भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्ने कतिपय बिरामीले सिटी स्क्यान मेसिन बिग्रिएको भन्दै निजी अस्पताल धाउनुपर्ने बाध्यता आउने गरेको थियो ।

सिटी स्क्यान मेसिन सञ्चालनका लागि प्रदेश सरकारबाट २ जना रेडियोग्राफर र ३ जना कार्यालय सहयोगीका लागि बजेट व्यवस्थापन भएकाले हालै विज्ञापन गरिएको उनले जानकारी दिए ।

अस्पतालमा रेडियोलोजिस्ट डा. छात्रवृत्ति करारमा भएपनि पनि सरुवा भएको सुनेको र उनी गएपछि कसरी व्यवस्थापन गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालय संघमा लिखित र प्रदेश स्वास्थ्य मन्त्रालयमा मौखिक जानकारी दिइएको डा. प्रधानले बताए ।

अस्पतालले ५० बेड स्वीकृत भएपनि आन्तरिक स्रोत व्यवस्थापन गरी १२० बेडको सेवा दिइरहेको डा. प्रधानले जानकारी दिए । अस्पताललाई २ सय बेडमा स्तरोन्नती गर्न अध्ययन सुरु भएको उनको भनाइ छ । ‘स्वेल तथा इन्भाइरोनमेन्ट टेस्ट पास भइसकेको छ । अस्पतालको इन्फ्रास्टक्चर र जनशक्ति व्यवस्थपान मुख्य समस्या रहेको छ,’ उनले भने ।

अस्पतालले हाल ४ बेड आईसीयु र ४ बेड एसआईसीयुबाट सेवा दिइरहेको छ भने अस्पतालको आफ्नै फार्मेसीबाट औषधी खरिद गर्ने सेवा पनि दिएको छ । त्यसो त साझाको फार्मेसी पनि रहेको छ ।

अस्पतालमा ५ मेसिनबाट डायलाइसिस सेवा दिइरहेको अस्पतालले मासिक ४० जनालाई सेवा दिँदै आएको डा. प्रधानले बताए । उनका अनुसार १६ जना पालो पर्खाइमा छन् । अस्पतालले थप १० डायलाइसिस मेसिन माग गरेकोमा प्रदेश सरकार सकारात्मक रहेको डा. प्रधानले बताए । ‘१० वटा नभए ५ वटा मात्रै भएपनि राम्रै हुन्थ्यो । जनशक्ति व्यवस्थापन प्रदेश सरकारले गरिदेओस् भन्ने हो नभए जति सकिन्छ । त्यति स्थानीय स्रोत परिचालन गरेरै भए पनि सेवा दिने तयारीमा छौं,’ उनलले भने ।

अस्पतालमा १४ जना स्वास्थ्यकर्मीमार्फत ल्याब सेवा पनि सञ्चालन गरिएको मेडिकल सुपरिटेन्डन्ट डा. प्रधानले जानकारी दिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ