×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठप्रोफाइलपेट तथा ठूलो आन्द्राको क्यान्सर निवारणमा योगदान गर्न चाहने चिकित्सक

पेट तथा ठूलो आन्द्राको क्यान्सर निवारणमा योगदान गर्न चाहने चिकित्सक


भनिन्छ—ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो । समयमा खाना नखाने, बढी चिल्लो, पिरो र तारेकालगायत अस्वस्थ खानेकुरा खानाले प्रायः नेपालीमा ग्यास्ट्रिकको समस्या देखिइरहेको हुन्छन् । त्यही नेपालीको राष्ट्रिय रोगको निदानमा खटिरहेका छन्, पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेशकुमार कश्यप । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट ग्यास्ट्रोमा डिएम गरेका उनी भारत एम्सका फेलो हुन् ।

नेपालमा ग्यास्ट्रिक र पेटमा हुने क्यान्सरमा निवारणमा योगदान गर्ने रुचि भएका उनी वि.सं २०३५ सालमा धनुषामा जनकपुर महेन्द्रनगरमा जन्मिएका हुन् । बुबा उमाकान्त झा सरकारी जागिरे भएकाले उनको बाल्यकालको अधिकांश समय काठमाडौंमै बितेको हो ।

डा. अखिलेशले ललितपुरको जावलाखेल आदर्श विद्या मन्दिर विद्यालयमा पढेका हुन् । उनको बाल्यकाल अहिलेको जस्तो थिएन् । ‘त्यो बेला र अहिलेका बालबच्चामा धेरै फरक छ,’ उनी आफ्नो बाल्यकाल स्मरण गर्छन्, ‘हाम्रो पालामा मात्र पढाइमा ध्यान दिउ भन्ने हुन्थ्यो । अहिलेका बालबालिकालाई त्यस्तो छैन ।’

वि.सं. २०५१ सालमा उनले आदर्श विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण गरेका हुन् । ‘त्यो बेला पढाइमा विद्यार्थीहरुबीच एसएलसीभन्दा आइएस्सीमा धेरै नम्बर कसरी ल्याउने भन्ने हुन्थ्यो,’ उनी भन्छन्, ‘हाम्रो टार्गेट पनि त्यही नै हुन्थ्यो । तर, आज समाज निकै परिवर्तन भएको छ । अहिले पढाइभन्दा अन्य क्रियाकलापमा बालबालिकाको ध्यान पुगेको देख्छु ।’ डा. अखिलेशलाई पनि लाग्न थालेको छ— वास्तवमा यो जरुरी पनि रहेछ ।

स्कुल पढ्दैं उनका अभिभावकले मेडिकलको विषय पढ्न प्रेरित गरेका थिए । त्यही कारण डा. अखिलेशमा पनि मेडिकलमै रुचि विकास भयो । उनी आइएस्सी पढ्नका लागि काठमाडौं युनिभर्सिटी धुलिखेलमा भर्ना भएँ । त्यहीबाट उनले वि.सं. २०५३ सालमा आइएस्सी सके । डाक्टर पढ्ने सपना पालेका उनको करिअर पनि त्यहीअनुरुप विकास हुँदैं गयो ।

डाक्टर बन्ने पहिलो खुडकिलो पार गर्ने क्रमका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्ट्रान्स दिए । उनी धरानका एमबीबीएसको चौथो ब्याचका विद्यार्थी हुन् । सन् २००३ मा उनले धरानबाट एमबीबीएस उत्तीर्ण गरे । त्यही वर्ष उनी एमडी गर्न भारतको मणिपाल गए । त्यहाँबाट उनले इन्टरनल मेडिसिनमा एमडी सके ।

ग्यास्ट्रोमा रुची, फाउण्डेसन खोलेर समाजसेवा

डा. अखिलेश एमडी सकेपछि नेपाल फर्किए । नेपाल फर्केपछिको केही समय किष्ट शिक्षण अस्पतालमा काम गरे । तर, उनी अझ उच्च तहको विशेषज्ञता हासिल गर्न चाहन्थे । काम गर्दागर्दा उनको ग्यास्ट्रोमा रुचि बस्यो । ह्याम्स हस्पिटलमा ६—७ महिना डा. मधु घिमिरेसँग काम गर्ने मौका पाए । ‘उहाँको हरेक पक्षमा आकर्षित भएको जस्तो भयो,’ उनले सुनाए ।

किष्टमा पढाउँदा—पढाउँदै उनले सन् २०११ मा भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा फेलोसीप पाएँ । एक वर्ष एम्समा बिताएपछि नेपाल फर्के । यहाँ पुनः दुई वर्ष काम गरे । अझै पनि उनमा सुपरस्पेशसियालिटीको भोक बाँकी नै थियो । ‘त्यो समय डिएमको छुट्टै चार्म थियो,’ डा. अखिलेश सम्झन्छन्, ‘फेलोसीपले मात्र नपुग्ने हो कि भन्ने लागेर डिएम गर्ने योजनामा लागे ।’

सन् २०१३ मा उनी ग्यास्ट्रोमा डिएम गर्नका लागि न्याम्समा इन्ट्रान्स दिए । नाम निस्किएपछि उनी डिएम अध्ययन गर्न थाले । सन् २०१७ मा उनले न्याम्सबाट डिएमको अध्ययन पूरा गरे । सुपरस्पेशसियालिटी हासिल गरेपछि उनी मेडिकल प्रायक्टिसमा केन्द्रित भए । यो क्रममा उनले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा काम गर्न थाले । अहिले पनि उनी ग्रान्ड़ी अन्तर्राष्ट्रिय अस्पतालमै कार्यरत छन् । उनी त्यहाँ पेट तथा कलेजोमा समस्या भएका दैनिक १५ भन्दा बढी बिरामीहरुलाई हेर्छन् । ‘म ग्रुप प्रायाक्टिसमा विलिभ गर्छु । हामीले यसका लागि टिम नै बनाएका छौं,’ उनी भन्छन् ।

डा. अखिलेशले नेपालमा ग्यास्ट्रो र लिभरका क्षेत्रमा काम गर्ने र सचेतना जगाउनका लागि २ वर्षअघि ग्यास्ट्रो एण्ड लिभर फाउण्डेसन पनि स्थापना गरेका छन् । यसमा खासै फन्ड छैन्, तर उनी आफ्नै अभिरुचिका कारण फाउण्डेसनमार्फत सकेजति बिरामीलाई स्क्रीनिङ र उपचारमा सेवा दिइरहेका छन् । भन्छन्, ‘मैले आफ्नै कमाइबाट सिमित पैसा छुटाएर चलाइरहेको छु । बेला—बेलामा धनुषा, महोत्तरीमा निःशुल्क शिविर पनि गर्छु ।’ शिविरमा रगत परीक्षण पनि निःशुल्क गर्छन् । जसको पोजेटिभ आयो तिनीहरुलाई काठमाडौं ल्याएर कोलोनोस्कोपी पनि निःशुल्क गरिदिन्छन् । उपचारमा पनि सकेजति सहयोग गर्छन् ।

उनको यो विशुद्ध समाजसेवामा पनि कतिपयले अनुसन्धान गर्न खोजेको भनेर शंका गर्छन् । ‘तर, यसमा कुनै स्वार्थ लुकेको छैन्,’ उनी प्रष्ट पार्छन्, ‘मेरो सीपले दिएसम्म म सबै पीडितलाई उपचार गर्न चाहन्छु । तर, अझै सबैको गर्न सकेको छैन ।’ डा. अखिलेश सकारात्मक मनले गरेको कर्ममाथि नकारात्मक टिप्पणी नगरिदिउन भन्ने चाहन्छन् । अहिले कोभिडका कारणले फाउन्डेशनको काम त्यति अगाडि बढ्न नसकेको बताउँदैं उनी चाडै यसलाई गति दिने बताउँछन् ।

नेपालमा ग्यास्ट्रोलोजिष्टले गर्ने काम गरी नै रहेका छन् । तर, व्यक्तिगत तवरमा गरिएका यी प्रयासहरु पर्याप्त छैनन् । त्यही कारण उनी कोलोनोस्कोपी स्क्रीनिङलाई राज्यले नै निःशुल्क गरिदेओस भन्ने चाहन्छन् । ‘कोलोनोस्कोपी स्क्रिनिङ लागि सरकारले पहल गरिदिए हुन्थ्यो,’ उनी भन्छन्, ‘मैले दुई वर्षदेखि यस्तो स्क्रिनिङका लागि सक्दो आवाज उठाइरहेको छु ।’ नेपालमा निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङका निम्ति कोशिश गरि नै रहने उनको लक्ष्य छ । भन्छन्, ‘मैले के दिएर गएभन्दा स्क्रीनिङ ल्याए भन्ने होस् । ५० नै वर्ष लागे पनि यो स्क्रिनिङ नेपालमा निःशुल्क लागु भएको हेर्न चाहन्छु ।’ अहिले जसरी आम नागरिकले कोरोनाको भ्याक्सिन लगाउनुपर्छ भन्नेमा सचेत भएका छन्, त्यसैगरी कोलोनोस्कोपी स्क्रिनिङबारे पनि थाहाँ पाउन भन्ने उनी चाहन्छन् । ‘यो मात्र गराउन पाए मेरो लक्ष्य पूरा हुन्छ,’ डा. अखिलेश सुनिए ।

काममा तल्लीन जीवनशैली

डा. अखिलेशको जीवनशैली पनि तडक—भडक छैन । उनी विहान अलि ढिलो उठ्छन् । जसका कारण अस्पताल हिड्नदेखि खाना खानसम्म हरेक कुरामा हतार हुन्छ । कहिलेकाहीँ भ्याएसम्म उनी विहान वाक पनि गर्छन् । ‘नत्र सिधै ब्रेकफास्ट लिएर अस्पताल लागिन्छ,’ उनी भन्छन्, ‘साताको ३/४ दिन विहान बेलुका एक टाइम समय मिलाएर ४५ मिनेट जति हिड्ने गर्छु ।’ यसलाई भने उनले मेन्टेन गरिरहेका छन् ।

उनको खानपिन पनि सरल छ । यावत समस्या कारण खानपिनको एउटै समय भने छैन । तर, उनको कोशिस सही समयमा खाने हुन्छ । सामान्यतयाः बिहान फलफूल, ओट्स खाने गर्छन् । तर, ढिला हुने जस्तो छ भने खाना खाएर अस्पताल हिड्छन् । खानामा सामान्यः दाल, भात, तरकारी खाने गर्छन् । उनी प्रायजसो मासुका परिकार खाइरहेका हुन्छन् । बिहानभन्दा बेलुका डिनर राम्ररी नै गर्छन् । ग्रीन सलाद साताको २—४ दिन त खाने गर्छन् । ‘म आफ्नो तौललाई मेन्टेन पनि गरिराछु,’ उनी भन्छन् ।

फुर्सदको समय उनी परिवारसँग नै रमाइरहेका हुन्छन् । छोरीहरुलाई लिएर विदाको दिन घुम्न निस्कन्छन् । कोभिडका कारण यो वर्ष कतै ननिस्के पनि वर्षको एक—दुई पटक उनी लामो यात्रामा निस्किरहेका हुन्छन् ।

राति साढे १० बजेसम्म सुतिसक्ने उनी रातमा पनि बिरामीका फोनकल लिइरहेका हुन्छन् । ‘सकेसम्म फोनबाट नै परामर्श दिन्छु,’ उनी थप्छन्, ‘महिनामा ४/५ पटक राति इमर्जेन्सी कल आएपछि उपचारको लागि अस्पताल पनि पुगी नै रहेको हुन्छु ।’ उनकी श्रीमती त्रिवि शिक्षण अस्पतालमा रेडियोलोजिष्ट हुन् । उनी पनि स्तन क्यान्सर सम्बन्धि जनचेतना अभिवृद्धिलगायमा काम गरिरहेकी छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #किष्ट शिक्षण अस्पताल, #कोलोनोस्कोपी, #ग्यास्ट्रिक, #ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, #डा. अखिलेशकुमार कश्यप, #लिभर, #विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)