×
२०७७ माघ २, शुक्रबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रोफाइलप्रा. डा. चन्दा कार्की : केएमसीको ब्राण्ड मेकर्सदेखि नोबेलको नेतृत्वसम्म

प्रा. डा. चन्दा कार्की : केएमसीको ब्राण्ड मेकर्सदेखि नोबेलको नेतृत्वसम्म


३५ वर्षदेखि अनवरत रुपमा बिरामीको सेवामा संलग्न प्रा. डा. चन्दा कार्की एक चिकित्सक मात्रै होइनन्, नेपाली स्वास्थ्य क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् । बरिष्ठ गाइनोकोलोजिष्टका रुपमा उनको सीपको जादू त देखिएकै छ, त्यसबाहेक उनले कुशल प्रशासक र एजुकेटरका रुपमा पनि बेग्लै छवि बनाएकी छन् । मेडिकल शिक्षाको सफल प्रोजेक्ट मानिएको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को झण्डै डेढ दशक शैक्षिक र प्रशासनिक नेतृत्वको बागडोर उनले कुशलतापूर्वक सम्हालिन् । तराईको एक गाउँको सामान्य परिवारबाट संघर्ष गर्दै हुर्किएकी डा. कार्कीमा संस्थालाई कामयाव बनाउने खुबी त्यहाँ झल्किन्छ ।

यो अवधिमा उनले गाउँका दूरदराजदेखि सहरका लाखौं बिरामीको उपचारमा आफ्नो सीप खर्चिइन् । बिरामीको उनीमाथिको विश्वास कतिसम्म भने केएमसीको प्रशासनिक जिम्मेवारी निभाउने क्रममा व्यस्त रहँदा पनि घण्टौं कुरेर पनि उनीबाटै सेवा लिएर फर्किन्थे । लाखौं नेपाली महिलालाई स्वास्थ्य सेवा दिएकी उनले हजारौं शल्यक्रिया गरिन् । भन्छिन्, ‘मैले जन्माएका बच्चा नै ग्राजुयट भइसकेका छन् ।’ ६२ वर्षको उमेरमा पनि उनको सक्रियता उस्तै छ, अहिले पनि उनी औसत दैनिक ३५ जना बिरामी हेर्छिन् । रातविरात नभनी बिरामीको सेवामा तल्लीन रहन्छिन् ।

नेपाली मेडिकल शिक्षाका क्षेत्रमा अझै केही योगदान गर्ने हुटहुटी पनि उनमा बाँकी नै छ । ‘चिकित्सकको जीवनमा तीन वटा चरण हुन्छन् । पहिलो सिक्ने, सिक्ने, सिक्ने । दोस्रो, जानेको ज्ञानले बिरामीको उपचार गर्ने,’ उनी प्रष्ट पार्छिन्, ‘तेस्रो, पेशागत विकासमा योगदान गर्ने । अन्तिम १०—१२ वर्ष पेशागत विकासका लागि योगदान गरेर मात्रैं चिकित्सकको लाइफ साइकल कम्पिलिट हुन्छ ।’ डा. कार्की अहिले त्यही पेशालाई योगदान गर्ने चरणमा आफू आइपुग्न लागेको बताउँछिन् । त्यसका लागि उनी उचित ठाउँ र अवसर पर्खिइरहेकी छन् ।

प्रा.डा. कार्कीको जन्म सन् १९५८ मा महोत्तरीको औरही नैनीगौरी गाउँमा भएको हो । उनका बुवा शिवमानसिंह भण्डारी र आमा चन्द्रादेवी भण्डारी खेती किसानीमा संलग्न थिए । उनका आठ भाइबहिनीमध्ये सुुरुमा चार दिदीबहिनीमा उनी कान्छी हुन् । त्यसपछि उनका चार वटा भाइ छन् । उनको बाल्यकाल गाउँमै सामान्य तरिकाले रमाइलोसँग बितेको थियो ।

घरमा विहान—बेलुका दाल, भात र तरकारी खान दुःख थिएन । अहिलेजस्तो बालबालिकालाई एक दुई क्लास पढाउने भन्ने कुरा पनि त्यो समयमा अभ्यासमा थिएन् । प्रा.डा. कार्की सम्झन्छन्, ‘ठूलो परिवारमा आबाबुवाको काखमा उफ्रिदैं खेल्दैं हुर्किए । म एकै पटक चार कक्षामा भर्ना भएकी थिएँ ।’ उनका हजुरबुवाले खोलेको स्कुल प्रसादसिंह माध्यमिक विद्यालयबाट उनको शैक्षिक यात्राको श्रीगणेश भएको हो ।

कक्षा ७ सम्म प्रसादसिंहमा पढेपछि उनकी आमा बिरामी भइन् । उपचारका लागि काठमाडौं ल्याइयो । आमालाई स्याहार गर्नका लागि डा. चन्दा पनि सँगै काठमाडौं आइन् । उनका मामाहरुको बसाइँ काठमाडौंमै थियो । मामा मोहनविक्रम थापाले पढाइमा तीक्ष्ण भान्जीको सम्भावना खुट्याइहाले । आमाको स्याहारका लागि घर बसेर उनको पढाइ बिग्रने चिन्ता भएपछि डा. चन्दालाई काठमाडौं डिल्लीबजारको पद्यमकन्या स्कुलमा भर्ना गरिदिए । ‘मधेशको केटी यसले पढ्न सक्दैन् भनेर कुनै स्कुलले भर्ना लिन नै मानेनन्,’ उनी सुनाउँछिन्, ‘मामाले भान्जीले राम्रो गरेन भने आफै फर्काएर लैजाने शर्तमा भर्ना गर्नुभयो ।’ त्यो बेला त्यहाँका तुलसीबहादुर सिंह हेडसर थिए, जो एकदमैं राम्रो अंग्रेजी पढाउँथे ।

डा. कार्कीले मामालाई कहिल्यै निराश बनाइनन् । उनी पद्यकन्या स्कुलमा जहिल्यै फष्ट भइन । त्यहीबाट उनले वि.सं. २०२९ सालमा एसएलसीमा गोल्डमेडल हात पारिन्, उनलाई तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी विष्टले कमला पुरस्कारसहित स्वर्णपदकले सम्मान गरेका थिए । शिक्षामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुरस्कार दिएको स्मरण पनि ताजै छ । उच्च शिक्षाका लागि मामाले नै उनलाई अस्कलमा लगेर साइन्समा भर्ना गरिदिए । ‘मामाले शिक्षाको महत्व बुझ्नुभएको थियो,’ डा. कार्की भन्छिन्, ‘उहाँले नै मलाई अस्कलमा आईएस्सीमा भर्ना गरिदिनुभयो ।’ उनले त्यहीबाट सन् १९७३ मा आइएस्सी उत्तीर्ण गरिन् ।

त्यतिबेला विभिन्न देशहरुले नेपाली विद्यार्थीका लागि एमबीबीएस पढ्न छात्रवृत्ति कोटा पठाउँथे । एमबीबीएस छात्रवृत्तिमा उनको नाम रुस, जापान र भारतका लागि छानियो । डा. कार्की भारतको सम्बलपुरको लागि छानिएकी थिइन् । सिक्किम काण्ड तथा प्रमाणपत्र तहको पहिलो वर्ष भएका कारण एक वर्ष अवरोध भएपछि उनी पढ्न जान पाइनन् । अर्को वर्ष सन् १९७८ मा भारतको कलकत्ताको आरजीकर मेडिकल कलेजमा एमबीबीएस पढ्न गइन् । त्यहाँबाट डा. कार्कीले सन् १९८३ मा एमबीबीएसको अध्ययन पूरा गरिन् । एक वर्ष इन्टर्नसीप र त्यसपछिको एक वर्ष उनले त्यही गाइनेमा हाउस जब गरिन् । ‘त्यहाँको विभागीय प्रमुख प्रा.डा. अनिमा विश्वासले मलाई छोरीजस्तै माया गर्नुहुन्थ्यो,’ उनी स्मरण गर्छिन् ।

सन् १९८५ मा उनी नेपाल फर्किइन् । नेपालमा उनको विवाह तय भइसकेको थियो । त्यही वर्ष उनको विवाह बाल रोग विशेषज्ञ डा. टेकेन्द्र कार्कीसँग भयो । विवाह लगतै उनले सातौं तहमा मेडिकल अफिसरका रुपमा नेपाल सरकारी सेवामा जागिर सुरु गरिन् ।

डा. कार्कीले सन् १९८७ मा डिप्लोमा इन गाइने अब्स्ट्याट्रिक्स (डिजिओ) बंगलादेशको ढाकाबाट गरिन् । त्यो कार्यक्रममा उनले ढाका युनिभर्सिटी नै टप गरिन् । गाइने अब्स्टयाक्ट्रिसमा एमडी भने उनले त्रिवि चिकित्सा विज्ञान अध्ययन संस्थान (आईओएम)बाट गरेकी हुन् । उनी गाइने अब्स्टयाक्ट्रिसमा नेपालबाटै एमडी गर्ने पहिलो ब्याचकी विद्यार्थी हुन् ।

त्यतिखेर नेपालमा धेरै चिकित्सकहरुले एमडी गर्न पाएका थिएनन्, सबै डिजिओमात्रै गरेर काम गरिरहेका थिए । नेपाल स्त्रीरोग तथा प्रसुती रोग विशेषज्ञ समाज (नेसोग) पहलमा थाइल्याण्डको रोयल कलेजमा डिजिओ गरेर १० वर्ष काम गरेका चिकित्सकलाई इन्ट्रान्स दिएर फेलोसीप गराउने सहमति भयो । त्यही सहमतिअनुसार २० जना जति चिकित्सकले त्यहाँबाट फेलोसीप गरे । डा. कार्कीले एमडी पूरा गरिसकेको भएपनि त्यो फेलोसीप गरिन् । डा. कार्कीले त्यसबाहेक अमेरिकाबाट एफआईसिएस डिग्री हासिल गरेकी छन् । यसबाहेक बेलायतको रोयल कलेज अफ लन्डनले पनि सन् २०१९ मा एफआरसिओजी डिग्री दिएको छ ।

प्रसुतिगृहबाट नेपाल सरकारको जागिर सुरु गरेकी डा. चन्दाले पाटन अस्पताल, शिक्षण अस्पतालदेखि उपत्यकाका सबैजसो अस्पतालहरुमा काम गरिन् । ८ वर्ष त उनी नेपालका विभिन्न जिल्लामा गएर बिरामीको उपचारमा सक्रिय रहिन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलेपछि पहिलो गाइनोकोलोजिष्टका रुपमा काम गरेकी उनले त्यहाँको विभाग सेटअपमा भूमिका निभाइन् ।

सरकारी जागिरका १५ वर्षमा उनले मेडिकल अफिसरमै काम गरिन् । तर, उनी विशेषज्ञ डाक्टर थिइन् । ‘गाउँ गाउँमा गएर काम गर्दा सन्तुष्टि त हुन्थ्यो, कतिको ज्यान बचाइयो,’ उनी कारण खोल्छिन्, ‘विजुली थिएन, त्यही पनि हामीले यहाँबाट सबै कुरा बोकेर लिएर कही जान नसक्ने बिरामीलाई शल्यक्रिया गरेर बचायौं । तर, घरव्यवहार थपिएपछि सरकारी जागिर चाहेर पनि निरन्तरता दिन नसक्ने अवस्था आयो ।’ किनभने उनका श्रीमान डा. टेकेन्द्र्र पनि सरकारी सेवामै थिए । दुवैजनाले सरकारी जागिर खाएपछि छोराछोरीको शिक्षादीक्षाका लागि पर्याप्त पैसा नपुग्ने अवस्था आएपछि डा. कार्की सरकारी जागिर छाड्ने निष्कर्षमा पुगेकी थिइन् । उनका श्रीमान भने सरकारी जागिरमै रहे ।

केएसीको हुँदै नोबेलसम्मको यात्रा

सन् २००० मा सरकारी जागिर छोडेपछि डा. कार्की काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)मा लेक्चररका जागिर गर्न थालिन् । उनी उप—प्राध्यापक, सह—प्राध्यापक हुँदै प्राध्यापक मात्र भइनन्, २१ वर्ष केएसीमा बिताउँदा विभागीय प्रमुख, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्य हुँदै दुई कार्यकाल प्रिन्सिपल नै भइन् ।

यो अवधिमा उनको केएमसी ब्राण्ड निर्माणमा समेत उल्लेखनीय भूमिका रह्यो । एउटा राम्रो संस्था बनाउनका लागि के आवश्यक पर्छ त ? डा. कार्की इमान्दारिता, लगन, गर्छु भन्ने सोच हुनुपर्ने धारणा राख्छिन् । ‘एकथरि विहान गएर जागिर खान्छ, साँझ फर्किन्छन् । अर्कोथरिले सोच्छन् म के नयाँ गर्न सक्छु, घरमा बसेर योजना बनाउँछन्, भोलि आएर त्यसलाई कार्यन्वयन गर्छन,’ उनी भन्छिन्, ‘अतिरिक्त काम गर्छन् । लगन, सोच, योजना र इमान्दारिताका साथ समर्पित भएर काम गरेपछि मात्रै संस्था राम्रो बन्न सक्छ ।’

केएमसी निर्माणमा प्रा.डा. लोकविक्रम थापा, डा. डम्बरबहादुर कार्की, डा. रामप्रसाद पोखरेल, डा मनिन्द्ररञ्जन बराल, प्रा.डा. हेमांग दीक्षित, स्व. डा. वीरमान शमशेर जबरा, डा. विशारथमान श्रेष्ठको ठूलो योगदान उनले आफ्नै आँखाले देखेकी छन् । ‘उहाँहरुले आफ्नो घरबार समेत बैकमा राखेर हामीलाई ल्याएर राम्रो टिम बनाउनुभयो । उहाँहरुले रातदिन धेरै सोचेर बनाएको संस्था हो,’ उनी भन्छिन् । सबैको प्रयासबाट केएमसी २१ वर्षमा मेडिकल शिक्षाको एउटा ‘ब्राण्ड’ बन्न सकेकोमा उनी खुसी छन् ।

गत कात्तिकमा काठमाडौं मेडिकल कलेजको स्वामित्व परिवर्तन भएपछि डा. कार्कीले मंसिरदेखि लागु हुने गरी राजीनामा दिइन् । डा. कार्कीले २१ वर्षको अवधिमा काठमाडौं मेडिकल कलेजले आफूलाई ‘नाम दाम’ सबै दिएको बताइन् । उनका दुवै छोरी त्यहीबाट डाक्टरी अध्ययन गरेर अहिले विशेषज्ञ चिकित्सक छन् ।

युवा चिकित्सक र नयाँ व्यवस्थापनलाई काम गर्न सहज होस् भनेर आफू राजीनामा दिएर बाहिरिएको उनले बताइन् । ‘काठमाडौं मेडिकल कलेज राम्रो उन्नति र प्रगति भयो भने खुसी लाग्छ,’ उनले भावुक हुँदै भनिन्, ‘कुनै कारणवस नराम्रो भयो भने चित्त दुख्नु स्वभाविक हो ।’ उनी प्रिन्सिपल रहँदाकै बखत केएमसीका विद्यार्थीले दुई पटक केयुको भिसी गोल्डमेडल ल्याए । जुन केयुअन्तर्गतका मेडिकल कलेजमा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीले पाउने मेडल हो । आफूले नै पढाएको विद्यार्थीले उक्त प्रतिष्ठित मेडल ल्याएपछि उनी निकै खुसी भइन् ।

कुनै पनि शैक्षिक संस्था विद्यार्थीका लागि हुने भएकाले पहिलो प्राथमिकता विद्यार्थी हुनुपर्नेमा उनको जोड छ । ‘मेडिकल कलेजमा पहिलो कलेज हो र त्यसपछि अस्पताल हो,’ उनी आफ्नो अनुभव सुनाउँछिन्, ‘विद्यार्थीलाई चाहिने भनेर बनाएको अस्पताल त ल्याब हो । अरु अस्पताल र नर्सिङ होमजस्तो हुँदैन् ।’ त्यसकारण मेडिकल कलेज किनबेचमा विद्यार्थीको भविष्यलाई लिएर पनि केही नीतिगत प्रावधानहरु समेटिनुपर्ने तर्क उनको छ । अहिले मेडिकल कलेजको स्वामित्व परिवर्तनको नीति विद्यार्थी मैत्री नभएको अनुभव उनले गरेकी छन् ।

केएमसी छोडेपछि उनलाई केही मेडिकल कलेजहरुले प्रशासनिक नेतृत्वका लागि अफर गरेका थिए । अझै ५—१० वर्ष सक्रिय काम गर्न सक्ने दृढ इच्छाशक्ति भएकी डा. कार्कीलाई सिनामंगलस्थित नोबेल कलेज र हस्पिटलले पनि अफर ग¥यो । कलेजको प्रिन्सिपल तथा प्रमुख कार्यकारी अधिकृतका लागि आएको अफर उनलाई मन प¥यो । ‘नोबेलको पुरानो बानेश्वर ओरालोमा २ सय शैय्याको नयाँ अस्पताल बनिरहेको छ,’ उनले भनिन्, ‘१०—११ वटा शैक्षिक कार्यक्रम पनि चलिरहेका छन् । त्यसैले यो संस्थाको नेतृत्वका लागि राजी भएँ ।’ संस्था ‘काम गर्नेहरुले नै बनाउने हो’ भनेर उनी पुसको सुरुवातदेखि नोबेललाई नयाँ उचाइ दिने योजनाका साथ काम गरिरहेकी छन् ।

डा. कार्की ग्राउण्डबाट संघर्ष गर्दै मेडिकल एजुकेशनमा राम्रो योगदान गर्ने व्यक्तिमा पर्छन् । अहिले सरकारले नै धेरैतिर मेडिकल कलेज सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । उनी अवसर पाएमा ती सञ्चालनमा आउँदैं गरेका संस्थामार्फत केही योगदान मुलुकलाई दिन चाहन्छिन् । तर, सोच भएर मात्र नेपालमा केही हुँदैन्, त्यस्ता व्यक्तिहरुलाई संस्था बनाउने जिम्मेवारी दिइदैन्, जो बनाउन सक्छन् । ‘त्यो क्षेत्रमा काम गर्न पाए सायद म खुसी हुन्थे,’ उनी भन्छिन्, ‘यहाँ योग्यताभन्दा नातावाद, कृपावाद पैसावाद र पार्टीवाद हावी छ । यो परिवर्तन हुन समय लाग्ला ।’

बिरामीको समग्रता हेर्ने चिकित्सक

डा. कार्की एउटा चिकित्सकले बिरामीको समग्रता हेर्नुपर्नेमा जोड दिन्छन् । बिरामीको खास समस्या के हो, उसको ब्याकग्राउण्डदेखि सबै पक्षको अध्ययन गरेर उपचार गर्नुपर्ने उनको मत छ । चिकित्सकका लागि बिरामीसँग सम्बन्ध महत्वपूर्ण हुने अनुभव उनले सुनाइन् । ‘रोगमात्रै नभएर टोटालिटीमा हेरिदियो भने बिरामीसँग डाक्टरको विशेष सम्बन्ध बन्छ,’ डा. कार्की अनुभव साट्छिन् ।

थुप्रै जीवन र मृत्युलाई नजिकबाट नियालेकी डा. कार्की भगवानमा पनि उतिकै विश्वास गर्छिन् । भन्छिन्, ‘म भगवानलाई निकै विश्वास गर्छु । तर, कर्म भने नगरी हुँदैन् ।’ भगवानप्रतिको आस्था र ठूला मान्छेको आर्शिवाद लाग्ने उनको बुझाइ छ । सयौं बिरामीलाई नयाँ जीवन दिएकी यी चिकित्सकलाई सबैभन्दा बढी खुसी दिने कुरा बिरामी निको हुनु नै हो । ‘बिरामी निको हुँदा सबैभन्दा बढी खुसी लाग्छ,’ उनी भन्छिन् ।

लामो समय महिला स्वास्थ्य समस्याको निराकरणमा खटिएकी उनी नेपालमा जबसम्म महिला आफ्नो खुट्टामा उभिन सक्दैनन्, तबसम्म उनीहरुका स्वास्थ्यमा निराकरण नहुने देख्छिन् । ‘रक्तअल्पता, एनिमिया, छाती, पेटका रोग, प्रजनन रोगजस्ता अनेकन स्वास्थ्य समस्या छन् । स्वास्नी मान्छेका लागि गर्नुपर्ने धेरै छ,’ उनले सुनाइन्, ‘शिक्षा र रोजगारी स्वास्नी मान्छेले नपाएसम्म यस्ता स्वास्थ्य समस्या पूर्णतया निवारण हुँदैनन् ।’

सधैं सक्रिय

लामो समय काममै बिताएकी डा. कार्की अझै टायर्ड छैनन् । उनको सक्रियता उस्तै छ । विहान ६ बजे उठिसक्छन् । केएसीमा हुँदा उनी विहानै शल्यक्रिया गरिसक्थिन् । दिउँसो प्रशासनिक कामहरु हुन्थे भने दिउँसो २ बजेपछि बिरामी हेर्थिन् । अहिले नोबेलमा आएपछि अलि धपेडी कम भएको छ । अहिले पनि विहानै बिरामी हेर्छिन् । ९—४ अफिसियल काम गर्छिन् । ४ बजेपछि शल्यक्रिया गर्नुपर्ने बिरामीको शल्यक्रिया हुन्छ ।

कहिलेकाही राति बिरामी आएमा पनि झन्झन्ट नमानीकन अस्पताल पुग्छिन् र उपचार डटछिन् । यहीबीचमा डा. कार्की घरायसी व्यवहारका कामहरु पनि सम्पन्न गरिसक्छिन् । ‘स्वास्थ्य राम्रो नै छ । राति १—२ बजेसम्म काम गर्न पनि मलाई समस्या छैन्,’ उनले भनिन् । यही बीच डा. कार्की पढाइका लागि पनि समय निकाल्छिन् ।

खानपिन पनि सामान्य प्रकारको छ । विहानै १ गिलास दुध वा चिया खान्छिन् । टिफिनमा फलफूल बोकेर घरबाट अस्पताल आउँछिन् । ११ बजे टिफिन खान्छिन् । साँझपख उनको खानामा च्याख्ला, रोटी वा तरकारीले प्राथमिकता पाउँछ । उनलाई पहिरनमा धेरै मन पर्ने सारी हो । अहिले अलि छिटो—छरितो र कम खर्चिलो लुगा भएकाले कुर्ता सुरुवात लगाउँछन् ।

फुर्सदको समयमा परिवारसँग बिताउँछन् । त्यसबाहेक सुत्न र म्युजिक सुन्न पनि मन पराउँछिन् । उनलाई बढी त काम नै मन पर्छ, काममै रमाउँछिन् । सरकारी जागिरे उनका श्रीमान डा. टेकेन्द्र रिटायर्ड भइसकेका छन् । रिटायर्ड भएपछि पब्लिक हेल्थ पढेर ५—६ वर्ष कार्कीले डब्लुएचओमा पनि काम गरे । अहिले नोबेल अस्पतालमै बिरामी हेर्छन् । उनका दुई छोरीमध्ये जेठी छोरी अहिले परिवारसहित अष्ट्रेलियामा विशेषज्ञ चिकित्सकका रुपमा कार्यरत छन् भने कान्छी छोरीले पनि गाइनोमै विशेषज्ञता हासिल गरेकी छन् । उनी काठमाडौं मेडिकल कलेजमा काम गर्छिन् ।

डा. कार्कीको रिटायर्ड लाइफ गाउँमै गएर बिताउने योजना छ । ‘गाउँका मान्छेको हेल्थ र एजुकेशन हेर्ने र उनीहरुको रोजगारीमा योगदान गर्ने सोच छ,’ कुराको बिट मार्नुअघि यी भेट्रान चिकित्सक बोलिन् ।


क्याटेगोरी : प्रोफाइल


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार